सिनेमा

आँचलको नयाँ फिल्म ‘वर एन्ड वधु’, वरको खोजीमा आँचल

इकागज |
माघ १७, २०७८ सोमबार १२:४५ बजे

काठमाडौँ - विवाहपछि नयाँ फिल्ममा नदेखिएकी आँचल शर्मा मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । ‘वर एन्ड वधु’ शीर्षकमा बन्ने यो फिल्मको सुटिङ फागुनदेखि सुरु हुने निर्माण टिमले जनाएको छ । भर्खरै ‘गोर्खा वारियर २’को सुटिङ सकाएका मिलन चाम्सले फागुनको तेस्रो साताबाट फिल्म फ्लोरमा जाने जानकारी गराए ।

निर्देशक मिलन चाम्स एकपछि अर्को चलचित्रको निर्देशनमा व्यस्त छन् । उनी, चलचित्र ‘गोर्खा  वारियर २’को छायांकन गरिरहेका छन् । यस्तै, उनी एक फुटबलरको बायोपिक चलचित्र निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।‘यो चलचित्रको कथावस्तु रोचक छ । कोरोनाको तेश्रो लहर कम भयो भने हामी फागुनबाट छायांकन सुरु गर्छौ ।’


चलचित्रमा नायिका आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । वरको भने खोजी भइरहेको निर्माण टिमले जनाएको छ । चलचित्रमा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने मिलनले बताए ।

नायिका आँचल शर्माले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली चलचित्र हो । उनले, लकडाउनपछि साउथको चलचित्र ‘हिटम्यान’मा काम गरेकी थिइन् । 
फिल्म एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ ।

मिलन चाम्सले यसअघि अनमोल केसीलाई लिएर ‘ब्याचलर बन्टी’ बनाउने घोषणा गरेका थिए जुन घोषणामै सीमित रहेको थियो । ‘गोर्खा वारियर’ बनाउने घोषणा गरेर टिजरसमेत सार्वजनिक गरेका चाम्सले यो फिल्मको पनि पहिलो भाग नबनाई दोस्रो भाग बनाएका थिए । 


Author

थप समाचार
x