सिनेमा

आर्यनका म्युजिक भिडियोमा पनि दर्शकको खडेरी

इकागज |
माघ १८, २०७८ मंगलबार १६:२८ बजे

काठमाडौँ - कुनै बेला एक नम्बर रहेका आर्यन सिग्देल यो स्थानबाट झरेर कहाँ हो कहाँ पुगेका छन् । चल्तीका हिरोको कुरा गर्दा आर्यनको नाम नै आउन छाडिसक्यो । उनले अभिनय गरेका फिल्म एक पछि अर्को गरी बक्स अफिसमा चित् खान थालेपछि पहिले कुनै समय उनको डेटका लागि महिनौँ कुर्ने निर्माता पन्छिन थालेका छन् ।  
महामारीले फिल्मको सुटिङ सुस्त रहेका बेला थुप्रै अभिनेता अभिनेत्री म्युजिक भिडियो खेलेर गुजारा गरिरहेका छन् । म्युजिक भिडियोमा खासै नखोजिने राजेश हमाल र भुवन केसीसमेत म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । झन् आर्यन त अझै पनि चकलेटी नै छन् ।

रोमान्टिक गीतका लागि अझ पनि आर्यन सुहाउँदा छनोट हुन् । धेरै म्युजिक भिडियो निर्देशकले आर्यनलाई यही सोचेर म्युजिक भिडियोमा लिने गरेका छन् । तर फिल्म छान्न आर्यनले गर्ने गरेको गल्ती यता पनि दोहोरिएर हो वा आर्यनप्रति दर्शकको रुचि घटेरै हो, म्युजिक भिडियोमा पनि उनले दर्शक पाउन सकेका छैनन् । 


दोस्रो लकडाउन पछि आर्यनले बडा तामझामका साथ ‘जब’ बोलको म्युजिक भिडियो रिलिज गरेका थिए । तर गीतलाई दर्शकले हेर्ने कष्टै गरेनन् ।  ५ महिनामा भइसक्दा पनि यो गीतले एक लाख भ्युज कटाउन सकेको छैन । जबकि यो भिडियोका हुनसम्म प्रचार भएको थियो । २ लाख आर्यनका फेसबुकमै छन् । 

हालसालै पनि आर्यनका दुई म्युजिक भिडियो सार्वजनिक भएका छन् । तर दुवैमा दर्शक छैनन् । ‘स्वतन्त्र मन’ बोलको यो गीतमा त अझ उदित नारायणको स्वर थियो । वर्षा राउतसमेत रहेको यो गीत कुलेखानीमा निकै खर्च गरेर खिचिएको छ । तर यो गीतले १५ दिनमा जम्मा १ लाख १५ हजार दर्शक पाएको छ । 

यसैगरी अघिल्लो हप्ता मात्र ‘करोडौँ’मा बोलको म्युजिक भिडियो रिलिज भएको छ । फेसबुकमा जताततै स्पोन्सर्ड देखिने यो गीत खिच्न पनि राम्रै खर्च गरिएको छ । तर हप्ता दिन हुन लाग्दा गीतले ४० हजारको आँकडा पनि छुन सकेको छैन । 

त्यसो त म्युजिक भिडियो चल्नलाई कलाकारभन्दा पनि गीतै राम्रो हुनुपर्छ भन्ने मान्यता छ । अडियो राम्रो भएका गीत चलेका कलाकार नहुँदा पनि लाखौँले हेरेका छन् । त्यसैले म्युजिक भिडियो नचल्दैमा आर्यनलाई मात्र दोष दिन त मिल्दैन तर चौतर्फी क्रेज घटेको हल्ला चलिरहँदा आर्यनले दर्शक नपाउने म्युजिक भिडियो गर्दा झन् यो हल्लालाई बल पुगेको छ ।  आर्यनले म्युजिक भिडियो नै गर्ने भए अडियो बलियो छानेर गरे, यो आरोपबाट मुक्ति मिल्थ्यो कि ?


Author

थप समाचार
x