सिनेमा

‘लाखे’ मा प्रशान्तको प्रवेश

इकागज |
माघ २०, २०७८ बिहीबार १५:११ बजे

काठमाडौँ - हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म ‘लाखे’मा अभिनेता प्राशान्त ताम्राकार भित्रिएका छन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् । 

यस अगाडि यो भूमिकाका लागि सुनिल थापा तय थिए । तर थापाले बलिउड फिल्ममा अभिनय गर्नुपर्ने कारण देखाइ ‘लाखे’लाई समय दिन नभ्याउने बताएपछि थापाकै सहमतिमा ताम्राकार लिएको निर्देशक सम्राट बस्नेतले बताए ।


अभिनेता ताम्राकारले आफू ‘लाखे’ मा जोडिन पाउँदा खुसी लागेको बताएका छन । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’ फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए ।

‘लाखे’ अहिले छायांकन भइरहेको फिल्म हो । फिल्मको छायांकन काठमाडौँ उपत्यकाको बिभिन्न स्थानमा भइरहेको छ । फिल्ममा अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेका छन् । ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको युनिट पनि ठूलै भएकोले दुई युनिट बनाएर छायांकन भइरहेको छ । 


Author

थप समाचार
x