फिल्म रिलिजलाई लिएर ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’मा लफडा
काठमाडौँ - नेपाल चलचित्र संघले गरेको निर्णयलाई लिएर दुई फिल्मबीच विवाद सुरु भएको छ । ‘लप्पन छप्पन २’ले घोषणा गरेको मितिमा ‘म यस्तो गीत गाउँछु २’ ले प्रदर्शन हुने घोषणा गरेपछि दुई फिल्म आमने सामने भएका हुन् । दुई निर्माताबीच चलचित्र संघमा भएको छलफलमा संघले ‘म यस्तो गीत गाउँछु २’को पक्ष लिएको थियो ।
संघका महासचिव अशोक शर्माले प्रचार प्रसारमा लाखौँ खर्च गरिसकेपछि महामारीका कारण सर्न बाध्य भएका कारण ‘म यस्तो गीत गाउँछु २’लाई प्राथमिकता दिनुपर्ने तर्क गरेका थिए । यसमा ‘लप्पन छप्पन २’का निर्माता सहमत नहुँदा नहुँदै पनि संघले ‘म यस्तो गीत गाउँछु २’को पक्षमा निर्णय गरेको थियो । तर निर्णयमा असहमति जनाउँदै ‘लप्पन छप्पन २’ निर्माताले चलचित्र संघमा निर्धारित मितिमा नै आफूलाई फिल्म चलाउन दिन निवेदन दिएका छन् ।
निर्माता निर्मल कुमार मिश्रले चलचित्र संघलाई अनुरोध गरेको पत्रमा आफूहरूले लकडाउन अघि नै प्रदर्शन मिति घोषणा गरेको र संघमा पनि यसको जानकारी दिइसकेको हुनाले पूर्व निर्धारित मितिमा नै चलचित्र प्रदर्शन गर्ने अनुमति दिन आग्रह गरेका छन् । आफूहरूले तोकेको मिति आफूलाई जानकारी नै नदिई ‘म यस्तो गीत गाउँछु २’लाई दिएकोमा पनि निर्माताले आपत्ति जनाएका छन् ।
‘लप्पन छप्पन २’ दोस्रो लकडाउन सकिएर अवस्था सामान्य भएसँगै फागुन १३ लाई प्रदर्शन मिति घोषणा गरेको थियो । पछि यही मितिमा ‘प्रेमगीत ३’ पनि सार्वजनिक हुने घोषणा गरेको थियो । तर कोभिडको तेस्रो लहर आएसँगै ‘प्रेमगीत ३’ले प्रदर्शन हुने घोषणा फिर्ता लिएको थियो ।
यो मितिमा शिवरात्रीसहित थप दुई सरकारी बिदा छ । निर्माताहरू यही बिदाको लोभमा यो मितिमा आउन तँछाड मछाड गरेका हुन् । पहिला आउन चाहाने निर्माता आउन सक्ने नियम भए पनि महामारीपछि चलचित्र संघले एउटा मितिमा एउटा मात्र फिल्म प्रदर्शन गर्न सकिने नियम ल्याएका छन् । यही नियमका कारण ‘लप्पन छप्पन २’ले निवेदन दिनु परेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया