फिल्म ‘चिसो एस्ट्रे’ ट्रेलर टक : भूपिको कवितालाई भिज्युवल ट्रिट
काठमाडौँ - नेपाली फिल्मलाई लाग्ने गरेको धेरै आरोपमध्ये एउटा हो, नेपाली फिल्मले नेपाली साहित्यबाट धेरै कुरा लिन सक्छ तर लिने प्रयास गर्दैन । सिनेमा साहित्यको एउटा अभिन्न अंग भएको कुरालाई गम्भीरतापूर्वक लिन सकेको छैन । कथाको खोजीमा धेरै फिल्ममेकर उता उताका उद्योगका फिल्मको कथासार खोजिरहँदा निर्देशक दिन्स पाल्पालीले भने भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कवितालाई नै फिल्मको रुपमा रुपान्तरण गरेका छन् ।
भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए ।
निर्देशक दिन्स पाल्पालीले भूपिको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् र बुधबार सार्वजनिक ट्रेलर यही भाव अभिव्यक्त गर्ने दृश्यहरू तीन मिनेट भित्र उनेका छन् । उनले ट्रेलर सार्वजनिक कार्यक्रममा शंकर लामिछानेले भूपिको कविताले पार्ने प्रभावको बारेमा लेखेको कुरा स्मरण गर्दै आफूले पनि भूपिबाट प्रभावित पुस्ताको प्रतिनिधि भएको बताएका थिए ।
‘शंकर लामिछानेले धेरै पहिले नै भूपिका कविताले वर्तमान समयलाई मात्र होइन आउँदो समयको पुस्तालाई पनि प्रभावित गर्ने कुरा लेख्नु भएको छ । म उहाँले औंल्याएको त्यही पुस्ता हुँ,’ दिन्सको धारणा थियो ।
ट्रेलर मदन बनेको मुख्य पात्र दिव्यदेवको प्रवेश भूपिको कविता अंशसँगै भएको छ । जसमा मदनले कविताको अंशलाई जोड्दै कथा सुरु गरेका छन्, ‘आँखामा आगो, ओठभरि ज्वाला बोकी एक दिन मैले पनि कलंकीमा इन्ट्री हानेँ ।’
यसपछि पालैसँग आउँछन् भूपि गल्लीमा यस्तै आगो बोकेर हिँडिरहेका रोनी र ज्याकी उर्फ निकुन श्रेष्ठ र नबिन लम्साल । उनीहरूले पालैसँग मदनलाई सहरका विशेषता बताउँछन् । रोनी मदनलाई सम्झाउँछ, ‘सिटीमा ट्राई एभरिथिङ बट डन्ट मी मास्टर ।’ उता ज्याकीको सुझाव छ, ‘केटिएम सिटीमा अलिकति कपाल ठाडो, मन सारो हुनैपर्छ ।’ तर यी दुवैको सुझाव विपरित शालीनता उर्फ सृष्टि श्रेष्ठ भने आफू संसारका धेरै ठाउँ घुमे पनि काठमाडौँको जस्तो आत्मा अन्त कतै नपाउने भन्दै काठमाडौंलाई ‘सिङ्गिङ बल’ जस्तै विस्तारै आत्मसात गर्ने सुझाव दिन्छे । योमध्ये मदनले कसले भनेको कुरा मान्छ, सायद फिल्मको कथा यही हो ।
नेपालमा हिमाल र पोखरीवरि खिचिएका फिल्मको बाहुल्य छ । दर्शकले रुचाउने नाममा वर्षौंदेखि यस्तै फिल्म बनिरहेका छन् । यस विपरित ट्रेलरले दर्शकलाई काठमाडौँका आदिम गल्लीमा पनि पात्र घुसैझैँ दर्शकलाई पनि घुसाउने प्रसाय गरेको छ । यसका लागि फिल्मका छायाँकार उज्जल बस्ताकोटीको मेहनत प्रशंसनीय छ । कलाकारको अभिनय त भइ नै हाल्यो । थिएरटको पृष्ठभूमिबाट आएका दिव्यदेव, सुशील पाण्डे त भइहाले फिल्म कलेज स्नातक नबिन लम्साल र निकुन श्रेष्ठले पनि चरित्रलाई बाँचेका छन् ।
यो ट्रेलरमा कलाकारको अभिनयसँगै घतपर्ने पक्ष छ, यसको संगीत । पहिले सुने सुनाइएका पाश्र्व संगीतको बीचमा आउने ट्रेलरको बीचमा यो ट्रेलरमा अटाएको संगीतले केही ठाउँ काँडा उमार्छन् । नोबेल फ्रिक्सले ट्रेलर गज्जब संगीत तयार गरेका छन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म निर्माता महेशबाबु तिमल्सिनाले ७ वर्षदेखि फिल्ममा काम भएको बताउँदै आफूले हेर्न खोजे जस्तो सिनेमा बनाउने प्रयत्नमा ‘चिसो एस्ट्रे’ बनेको बताएका थिए । कम्तिमा ट्रेलर हेर्दा यो मेहनत देखिन्छ । अब हेर्नुछ, फिल्ममा यो मेहनत कसरी रुपान्तरित भएको छ । कंगारु क्रिएसन र लाेकल सिनेमाले क्रिएटिभ ह्यान्डस् नेपालसँग मिलेर निर्माण गरेको फिल्म आउँदो चैत ४ बाट प्रदर्शन हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया