सिनेमा

युक्रेन–रुस झडप डकुमेन्ट्रीमा कैद गर्दै हलिउड अभिनेता

इकागज |
फागुन १३, २०७८ शुक्रबार १३:३८ बजे

लसएन्जल्स - अभिनेता सिन पेनले रुसले युक्रेनमाथि गरेको आक्रमण डकुमेन्ट्रीमा प्रस्तुत गर्ने भएका छन् । यही सिलसिलामा सिन पेन अहिले युक्रेनमा छन् । सिनले भाइस स्टुडियोसँग मिलेर डकुमेन्ट्री बनाइरहेका छन् । 

युक्रेनका राष्ट्रपतिले फेसबुकबाट पेनलाई धन्यवाद दिएसँगै उनी युक्रेन पुगेको खबर सार्वजनिक भएको हो । ‘पेन किएभमा रहेर अहिले भइरहेका सम्पूर्ण घटना छायांकन गरेर बसिरहेका छन् । यसले रुसले गरेको आक्रमणको सत्यतथ्य बाहिर आउन मद्दत गरेको छ ।


सिन पेन ती धेरै युक्रेनका समर्थकमध्ये एक हुन् जसले अहिले युक्रेनमाथि भइरहेको अन्याय देखेका छन् । हामी उनको साहस र इमान्दारीप्रति अनुगृहित छौँ,’ राष्ट्रपतिको घोषणामा भनिएको छ । 

घोषणामा पेन सन् २०२१को नोभेम्बरमा डकुमेन्ट्री बनाउने सिलसिलामा युक्रेन आएको पनि उल्लेख गरिएको छ । उनले राष्ट्रपति कार्यालयमा भएको पत्रकार सम्मेलनमा पनि युक्रेनको समर्थनमा आवाज उठाउन सबैलाई आग्रह गरेका थिए । 

सिन पेनले यसअघि पनि संकटग्रस्त क्षेत्रमा गएर डकुमेन्ट्री बनाएका छन् । सन् २०१० मा उनले हाइटीमा गएर भूकम्प पीडितलाई सहयोग गरेका थिए । पछि उनले गरेको काम ‘सिटिजन पेन’शीर्षकमा डिस्कभरीमा प्रसारण भएको थियो । यसैगरि, सन् २००५ मा अमेरिकाको न्यु ओर्लेन्समा भएको आँधीमा पनि उनले आँधी पीडितलाई सहयोग गरेका थिए । 


Author

थप समाचार
x