सिनेमा

भदौ १० मा खगेन्द्रको ‘पानीफोटो’

इकागज |
फागुन १५, २०७८ आइतबार १०:११ बजे

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको फिल्म ‘पानीफोटो’ ले प्रदर्शन मिति तय गरेको छ । महामारीका कारण तयार भएर पनि प्रदर्शन रोकिएको फिल्म अब भदौ १० मा सार्वजनिक हुनेछ । टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद , धनपति, जय भोले र डमरुको डण्डीबियोमा अभिनेता रुपमा देखिएको खगेन्द्रले यो पालि भने निर्देशकको पनि कमान सम्हालेका छन् । 

स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन् ।


यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै रुपान्तरण हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल , अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, राधा श्रेष्ठ ,अजस्र ढुङ्गाना, कमल देवकोटा , अनोज पाण्डे , अनिल पाण्डे , नवराज गिरी , श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । 

फिल्मको छायांकन काठमाडाँैसँगै बर्दिया , रोल्पा र स्याङ्गजामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ ।

यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 


Author

थप समाचार
x