सिनेमा

दुई दिन ‘म यस्तो गीत गाउँछु २’को सुखद प्रदर्शन

इकागज |
फागुन १५, २०७८ आइतबार १५:३५ बजे

काठमाडौँ - गत शुक्रबार हलमा रिलिज भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रबार र शनिबार सुखद प्रदर्शन गरेको छ । देशभरका सयभन्दा बढी हलमा रिलिज भएको फिल्मले दुई दिन सन्तोषजनक व्यापार गरेको वितरकले दाबी गरेका छन् । शनिबार, देशैभरका सिंगल तथा मल्टिप्लेक्स हलहरुमा चलचित्रले आक्रामक सुरुवात गरेको वितरक करण क्रेजी र नरेन्द्र महर्जनले जानकारी दिए ।

शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको चलचित्रले शनिबार काठमाडौँका मल्टिप्लेक्समा हाउसफुलको व्यापार गरेको थियो । फिल्मले काठमाडौँका अष्टनारायण, क्युएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर, लगायतका हलमा राम्रो व्यापार गरेको थियो । यस्तै, काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ ।


तीन विदेशी फिल्मका साथ रिलिज भएको फिल्मले  दुई दिन विदेशी फिल्मले भन्दा राम्रो व्यापार गरेको थियो । निर्देशक सुदर्शन थापाले आफूहरूले राम्रो फिल्म बनाएकाले दर्शक आएको दाबी गरे । उनले आइतबारदेखि पनि फिल्मले शनिबारकै लय पछ्याउने अपेक्षा व्यक्त गरे । 

नायिका पूजा शर्माले दर्शकको माया देखेर आफू भावूक भएको बताइन् । उनले भनिन्–‘हामीलाई दर्शकले सधैँ माया गरिरहनु भएको छ । यो पालि पनि गर्नुभयो । हलमा दर्शक फर्काउन हामी सफल भएका छौं ।’ फिल्ममा नाबालिग बलात्कार आरोपी पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्मको संगीतलाई फिल्मको मेरुदण्ड मानिएको छ ।  
 


Author

थप समाचार
x