गीत र हिरोइनविनाको ‘लप्पन छप्पन २’
काठमाठौँ - महामारीले पटक पटक सर्न बाध्य भएको फिल्म ‘लप्पन छप्पन २’ अन्ततः फागुन २० मा रिलिज हुँदैछ । शिव श्रेष्ठदेखि अर्पण थापासम्मको अभिनय रहेको फिल्ममा दर्जन हाराहारी चलेका अनुहार देखिन्छन् ।
यो फिल्मको पहिलो शृंखलामा पनि यसका निर्देशक मुकुन्द भट्टले सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा आदिलाई एक साथ अभिनय गराएका थिए । यो फिल्ममा पनि सौगातसँगै अनुपविक्रम शाही पनि थपिएका छन् । त्योबाहेक फिल्ममा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको पनि अभिनय रहेको छ ।
धेरै कलाकार हुँदा बजेटमा मात्र धेरै हुने होइन कलाकारको भूमिका पनि असमान हुन्छ । यही कुरालाई लिएर कलाकारबीच शीत युद्ध हुने सम्भावना पनि रहन्छ तर निर्देशक मुकुन्द भट्ट भने आफूलाई एउटा दुइटा कलाकार लिएर फिल्म बनाउन जाँगर नै नचल्ने बताउँछन् ।
‘ म त एउटा दुइटा चरित्र लिएर फिल्म बनाउने कल्पना नै गर्दिन । मलाई त जति धेरै स्थापित कलाकार लिन सक्यो उति काम गर्न मज्जा लाग्छ,’ फिल्मको प्रचारको क्रममा भेटिएका मुकुन्दले भने ।
तर मुकुन्द फिल्म चलाउने लोभमा स्टार कलाकार लिएको अस्वीकार गर्छन् । उनले भने, ‘धेरै स्टार भयो भने फिल्म चलाउन सजिलो हुन्छ भन्ने लागेर यति धेरै कलाकार लियो होला भन्ने पनि धेरैले सोच्नुहोला,’ उनले भने, ‘ तर मैले चरित्र हेरेर नै कलाकार छान्छु । यसमा मेरो रुचि स्टारमा हुन्छ, बस यत्ति फरक हो ।’
निर्देशक भट्टले पहिलो शृंखला दर्शकले रुचाएका कारण नै दोस्रो शृंखला बनेको दाबी गरे । उनले पहिलोभन्दा दोस्रो भाग दस गुणा राम्रो भएका बताएका छन् । उनले यो फिल्ममा शक्तिशाली व्यापारीले कसरी देशका नेता र सत्ता चलाउँछन् भन्ने विषयलाई उठाएको बताए ।
‘नेपालमा व्यापारीले सत्ता नै तलमाथि गरेका छैनन् होला तर व्यापारीले नेतालाई कसरी चलाउँछन्, बारम्बार हामीले सुनेका छौँ । ठ्याक्कै नेपालको कथा नभए पनि फिल्मले व्यापारी र नेताको साँठगाँठको चित्र प्रस्तुत गर्छ जुन सान्दर्भिक छ,’ निर्देशक भट्टले भने । १ घन्टा १५ मिनेट छेऊछाऊको फिल्ममा हिरोइन पनि छैनन् र गीत पनि छैनन् । निर्देशक भट्टले महिला कलाकारको उपस्थिति भए पनि उनीहरू हिरोइन नभई चरित्रको रुपमा आउने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया