नेपालले अस्करका लागि सिनेमा नपठाउने
काठमाडौं : अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९३ औं संस्करणका लागि नेपालबाट कुनै पनि फिल्म सहभागी नहुने भएका छन् । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले यो सालका लागि कुनै पनि फिल्म नपठाउने निर्णय गरेको जनाएको छ ।
समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ बिहीबारका दिन समितिलाई प्राप्त दुई फिल्म अवलोकन गर्दा अस्करले तोकिदिएको मापदण्डहरू पूरा नभएको ठहर गरी सर्वसम्मतिद्वारा यो वर्ष नेपालबाट कुनै पनि चलचित्र सहभागिताका लागि नपठाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई असोजको २९ गते भित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ र सर्जियो बासो निर्देशित ‘सरिता’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको छ । नयाँ मिति अनुसार अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको थियो ।
परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान एक थियो । अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो ।
तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने व्यवस्था थियो । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्ने थियो । । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्ने छुट थियो ।
नेपालले सन् १९९९ देखि अस्करमा सिनेमा पठाउँदै आएको थियो । सन् २००६ सम्म वर्ष बिराएर फिल्म पठाउँदै आएको नेपालले त्यसपछिका केही वर्ष फिल्म पठाउन सकेको थिएन । सन् २०१३ मा ‘सुनगाभा’ पठाएसँगै नेपालले निरन्तर फिल्म सिफारिश गर्दै आएको थियो ।
नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना र चिरञ्जीवी गुरागाइँ सदस्य रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया