रिलिजसँगै नाफामा ‘लक्ष्मीपूजा’
काठमाडाैं : पहिलो पल्ट स्याटालाइटमा मात्र रिलिज गर्ने भनेर बनाएको फिल्म ‘लक्ष्मीपूजा’ रिलिज नहुँदै नाफामा रहेको निर्माता शोभित बस्नेतले बताएका छन् । निर्माता बस्नेतले २० लाखमा बनाएको फिल्म बुढासुब्बा म्युजिकलाई ३२ लाखमा बेचेको जानकारी दिए ।
३० हाराहारी फिल्म निर्देशन गरेका शोभितले सबैभन्दा कम समयमा फिल्म निकाल्ने मामलामा पनि आफूले रेकर्ड कायम गरेको दाबी गरे । बस्नेतका अनुसार उनले १ महिनामा फिल्मको सम्पूर्ण काम सकाएका हुन् । उनले असोज ७ गते सुटिङ थालेर कात्तिक १ गतेसम्ममा फिल्म तयार भएको बताए ।
‘ बुढासुब्बाले दसैंका लागि फिल्म चाहियो, बनाउनु प-यो भनेर प्रस्ताव राखे । आर्थिक कुरा मिलेपछि काम सुरु गरेको समयभन्दा अगाडि नै सकियो,’ निर्माता बस्नेतले भने । उनले यसका लागि दुई सिफ्टमा काम गरेको पनि जानकारी गराए ।
‘फिल्ममा सलोन र रियासा दाहालको एक सिफ्ट हुन्थ्यो भने त्यही समयमा जयकिशन बस्नेतको अर्को सिफ्ट हुन्थ्यो । अनि खिचेको कुरा हरेक रात सम्पादन हुन्थ्यो । दुईतिर काम गरेकोले यति छोटो समयमा सम्भव भएको हो,’ उनले बताए ।
२ घन्टा ५ मिनेट समयावधिको फिल्म पहिलोपल्ट एकसाथ डिसहोम, नेट टिभी म्याक्स डिजिटल टिभी, भाय टिभी, मेरो टिभी, स्काइ टिभीमा रिलिज भएको हो । सबै च्यानलमा २ सय २५ रुपैंयातिरेर दर्शकले फिल्म हेर्न सक्ने निर्माताले बस्नेतले बताए । भोलि हल खुलेमा हलमा पनि रिलिज गर्ने आफूहरूको योजना रहेको बस्नेत बताउँछन् ।
पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह र बाल कलाकार आयुषी ढकालको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा छन् ।
निर्माता शोभितका अनुसार फिल्ममा जाहान्वी दोहोरो भूमिकामा छिन् । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ । यसअघि फिल्मको टिजरसँगै ‘फुर फुर पुतली’ र ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया