सिनेमा

हलिउड चलचित्रमा अटाएको महामारी

अजय अलौकिक |
माघ १०, २०७७ शनिबार १०:३ बजे

गत साल फैलिएको कोरोनाभाइरस (कोभिड-१९) महामारीले विश्वलाई अझै आक्रान्त पारिरहेको छ । भाइरसको खोपको प्रतीक्षारत विश्वलाई हाल यही भाइरसकै प्रजातिको विकासले झनै अप्ठेरोमा पारेको छ । यो आजको यथार्थ हो । वास्तविकता हो । तर वास्तविकताभन्दा धेरै परको काल्पनिक कथा-साहित्य र चलचित्र दुनियामा पनि भोलिको दिनमा के कस्तो हुनेछ भन्‍ने अनुमान या त्यो कल्पनालाई उतार्ने गरिन्‍छ । अनि यस्ता कतिपय कल्पनाहरू सत्य पनि हुन जान्‍छन् भने कतिपय असम्भव झैं लाग्छ । तापनि यस्ता रचनाले पाठक तथा दर्शकलाई एउटा फरक संसारमा पुर्‍याउँछ ।

भनिन्‍छ नि जहाँ पुग्दैन रवि त्यहाँसम्म नि पुग्छन् कवि । हो, मानिसको कल्पना शक्ति अथाह छ, अपार छ । ओस्कार विजेता स्टेभन सौडबर्गद्वारा निर्देशित तथा उत्कृष्ट कलाकारहरूद्वारा अभिनित चलचित्र ‘कन्टेजन’ ले संयोगले गत वर्षको मानिस मानिसबीचको सम्पर्कबाट सर्ने कोरोना भाइरस महामारीको कथा पस्केको थियो । सन् २०११ मा प्रदर्शित यो चलचित्र त्यो बेला बक्स अफिस हिट भएको थियो नै तर गत वर्ष एचबिओ, एमाजोन, नेटफ्लिक्सलगायत ईन्टरनेटमा धेरै खोजिएको फिल्ममध्ये एक बन्‍न पुगेको थियो ।


आजभन्दा दश वर्षअघि यो चलचित्र हेर्दा भोलि गएर संसार यति भयावह होला र भन्‍ने प्रश्न उब्जिएको थियो साथै एक प्रकारले हरर फिल्म हेरेझैं भएको थियो । तर कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएको चीनको ऊहान, ईटाली र संयुक्त राज्य अमेरिका, भारत र ब्रजिललाई हेर्दा आज त्यो सामान्य देखिन्‍छ । यसरी कतिपय चलचित्रमा गरिएको भविष्यको कल्पना सही पनि भएका छन् ।

यसै गरी भविष्यलाई उतारिएका या टाईम मेसिनसम्बन्धित् चलचित्रहरू थुप्रै नै बनेका छन् । एलियन सिरिज, टर्मिनेटर सिरिज, स्टार ट्रेक सिरिज, ब्लेड रनर, ब्याक टू दि फ्यूचर २, अवतार यस्ता केही नामहरू हुन् । 
यसबाहेक चालु वर्ष अर्थात् सन् २०२१ लाई पनि ठूलो पर्दाभित्र दर्शाएका केही चलचित्रहरू छन् । ‘कन्टेजन’ मा हात मिलाउँदा, खोक्दा एकबाट अर्कोमा भाइरस प्रसार हुने देखाइएको थियो भने सन् २०१८ मा प्रदर्शित सन् २०२०-२०२१ को समयलाई उतारेको चलचित्र ‘अ क्वाइट प्लेस’मा कुनै आवाज गर्न नहुने देखाइएको छ । हाल मानिस मानिस बीच भौतिक दुरी बनाउनु पर्ने अवस्थामा कुनै किसिमको आवाज र स्वर पनि निकाल्न नपाइने हो भने हामी मानिसको हालत के कस्तो हुने होला ।

सन् २०१८ को बक्स अफिस हिट जोन क्राजिन्स्कीद्वारा निर्देशित तथा अभिनित चलचित्र ‘अ क्वाइट प्लेस’ हरर जन्रको फिल्म हो । यसमा कुनै पनि प्रकारको आवाजमाथि एलियनले आक्रमण गर्ने देखाइएको छ । प्रसिद्ध अभिनेत्री एमली ब्ल्न्टद्वारा अभिनित यस चलचित्रमा पात्रहरू थोरै छन् । रियल लाईफ पार्टनर जोन क्राजिन्स्की र एमली ब्ल्न्टले रिलमा पनि सोही भूमिका निभाएका छन् ।

चलचित्रमा उनीहरूको सानो छोराले बोकेको खेलौना हवाइजहाजबाट आवाज निस्किएलगत्तै एलियनले एक निमेषमा झम्टिएको देखाइन्‍छ । पछि सोही ठाउँमा बनाइएको टूमस्टोन वा स्मृति पेटिकामा सन् २०१६-२०२० लेखिएको छ जसबाट यो चलचित्रले सन् २०२० र २०२१ (को काल्पनिक अवस्था)लाई प्रस्तुत गरेको छ । ८९ दिनदेखि ४ सय बढि दिनसम्मको घटनामा उनीहरूको सानो परिवारको आवाजविहीन जीवन सङ्घर्ष शून्यताबीच नयाँ सन्तानको जन्म र जिजीविषा देखाइएको छ । यो चलचित्रमा पृथ्वीमा हलचल गर्ने समस्त प्राणी जगत नै खतरामा परेको छ साथै एलियनविरूद्धको प्रतिकार र त्यसमाथि जीतको सम्भावना पनि झल्काइएको छ ।

सन् २०२१ लाई पर्दामा उतार्ने हलिउड सिनेमा

यसैगरी, सन् २०१३ मा प्रदर्शित ‘प्यासिफिक रिम’मा पनि सन् २०२० मा एलियनसँग लड्नका लागि भिमकाय रोबोटको निर्माण गरेको देखाइएको छ । के यस्तो अवस्था आउला त? उपन्यास, कमिक्स र हलिउड चलचित्रमा एलियनको चर्चा धेरै नै पाइन्‍छन् । तर आममानिस यो एलियनबारे अनभिज्ञ नै छन् । सायद डोनाल्ड ट्रम्पको ठाउँमा हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा विजयी भएको भए यसबारे खुलासा गर्ने थिइन् । कतै समाचारमा, उनले राष्ट्रपति निर्वाचित भए नासा (अमेरिकी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन) र एलियन तथा अन्तरिक्षसम्बन्धको रहस्य खोल्ने वाचा समेत गरेकी थिइन् । तर आजसम्म पनि आममानिस यस्तै काल्पनिक कथा र चलचित्रमा रमाइरहेका, अल्झिरहेका छन् ।

यस्तै अन्तरिक्ष, आकाश गङ्गा सम्बन्धित अर्को एउटा चलचित्र छ, जहाँ सन् २०२१ लाई उतारिएको छ । एउटा क्षुद्रग्रहले पृथ्वीलाई ध्वस्त पार्न लागेको अन्तिम समयको अवस्था बयान गरिएको यो चलचित्रको नाम ‘सिकिङ अ फ्रेण्ड फर दि एण्ड अफ दि वर्ल्ड’ हो । सन् २०१२ मा प्रदर्शित यो रोमान्टिक फिल्म लोरिन स्काफारियाद्वारा निर्देशित पहिलो चलचित्र हो । ‘डिसपिकेबल मी’ सिरिजमा ‘ग्रु’को क्यारेक्टरलाई स्वराङ्कन गरेका स्टीभ करैल र प्रसिद्ध अभिनेत्री केर नाइट्लीद्वारा अभिनित यो चलचित्रले बक्स अफिसमा भने कुनै धमाका गर्न सकेन ।

यही आलेखको सिलसिलामा यो फिल्म पनि हेरियो, फिल्म राम्रै लाग्यो । आशावादी सोचसँगै रोमान्टिक कथावस्तुमा आधारित रहेछ । (समीक्षकको रूपमा पाँचमा तीन लौजा ।) त्यही हो, हाल पृथ्वीमा यो क्षुद्रग्रह खस्ने कुरा नौलो रहेन । तर पृथ्वी बराबर या तुलनामा केही सानो ठूलो खस्ने या जोतिने हो भने अवश्य पनि मानव जातिका लागि त्यो अन्तिम दिन नै हुने छ । माटिल्दा नामक क्षुद्रग्रह पृथ्वीमा ठोकिने भनिएको अघिको लगभग महिना दिनको कथा यसले बोकेको छ । फिल्ममा कफ सिरप औषधिको म्याद २-१२-२१ देखाइएको छ भने तीन महिनाअघि प्राप्त पत्रमा मिति २०२०-८-०१ देखाइएको छ । यसरी यो फिल्ममा सन् २०२१ मा पृथ्वी ध्वस्त हुनगइरहेको कथा प्रस्तुत गरिएको छ ।

यहाँ फिल्मको सार या समीक्षा होइन सन् २०२१ लाई पर्दामा उतारेका केही चलचित्रको चर्चा मात्र गर्न चाहेको हो । यसरी सन् २०२१ लाई हलिउडमा मात्रै होइन विभिन्‍न देश र भाषाका साथै एनिमेटेड चलचित्रहरूमा पनि चित्रण गरेका छन् । साथै यहाँ चर्चा गरिएका बाहेक पनि सन् २०२१ वरिपरिका कथावस्तुका अरू हलिउड र अङ्ग्रेजी चलचित्रहरू छन् । गुगल्ड गरेमा आँखैसामु यस किसिमका जानकारी तुरून्त पाउनसकिन्‍छ ।

यसबाहेक यहाँ सन् २०२१ लाई उतारेको अर्को एउटा चलचित्रको चर्चा नगर्ने हो भने यो लेख अपूरो हुने छ, सायद । यो चलचित्रको नाम हो, ‘जोनी निमोनिक’ । म्याट्रिक्स सिरिजका सुप्रसिद्ध अभिनेता किआनु रिभ्सद्वारा अभिनित भएका कारण यो चलचित्रलाई जोड्न खोजिएको भने होइन । स्पिडबाट आफ्नो पहिचान बनाएका उनै किआनुको लिटल बुद्धको केही सुटिङ नब्बेको दशकको पूर्वाद्धमा काठमाण्डुमा पनि गरिएको थियो । उनै किआनु अभिनित सन् १९९५ मा प्रदर्शित यो जोनी निमोनिक चलचित्रमा आजको प्रविधि देखाइएको छ ।

डेटा ट्रान्सफर गर्नु पर्ने तर चोरीको डर भएकोले यो चलचित्रमा मानिसको मस्तिष्कलाई प्रयोग गरिएको छ । अमेरिकाबाट सन् २०२१ जनवरी १५ तारिख चीनको बेइजिङमा डेटा लिनका लागि ट्रान्सपोर्टरको रूपमा मानिस अर्थात् नायक पुगेको देखाइन्‍छ । बिग डेटा अनि साइबर फ्रड, साइबर ल, साइबर सेनाको चर्चा परिचर्चाको यो युग अनि ह्याक्को प्रचुर सम्भावनासँगै आफ्नो डेटाको गोपनीयता र संरक्षणको खाँचो देखिएको यो समयमा यो फिल्मले भने त्यसै बेला यस्ता चोरीचकारीबाट बच्न मानिसको मस्तिष्कमा साइबरनेटिक मस्तिष्क इम्प्लान्ट गरी डेटा ट्रान्सफर गर्ने सम्बन्धमा कथा बुनेको छ ।

यसरी कथाकार, परिकल्पनाकारले आफ्नो रचनामा भविष्यको कल्पना गर्नु कुनै नौलो कुरा होइन । तापनि यस्तो कल्पना गर्नु अवश्य पनि एउटा साहसिक कुरा हो । जसरी चलचित्र ‘जोनी निमोनिक’ले २५ वर्ष अघि नै प्रविधिको विस्तारको चर्चा गरेको छ ।

हाल साधारण सानो कार्डमा समेत टेराबाइट स्टोरेज गर्न सकिने र पाँचौँ पुस्ताको नेटवर्क फाइभ जीको विकास भइसकेको छ तापनि मानिसको शरीरमा डेटा स्टोरेज गर्ने कुरा अझै टाढै छ । तापनि धेरै अघिको चलचित्र होस् या केही वर्षअघिको मात्रै किन नहोस् भोलि गएर संसार यस्तो हुने छ या यस्तो घटना घट्ने छ भनेर देखाइएका चलचित्रहरू हेर्नु रञ्जनीय नै हुने छ । यही अनुरूप यहाँ सन् २०२१ लाई पर्दामा उतारेका केही चलचित्रको चर्चा गरिएको हो ।


Author

थप समाचार
x