अभिनयमा रुचि थिएन, कर्ममा लेखेपछि कार्मको के लाग्यो र !
नाटक हेरेर फर्केको रात उनले निधो गरे- 'म नि नाटक गर्ने हो !'
सन् २००३ को कुनै समय थियो । कार्म पुनाको एउटा स्कुलमा प्लस टु गरिरहेका थिए । नेपालबाट प्रकाशित हुने नेपाली टाइम्स पुनाको होस्टलसम्म पनि आउँथ्यो । नेपालको मोटामोटी खबर बुझ्ने उनको माध्यम त्यही पत्रिका थियो । एक दिन उनले त्यहाँ नेपालको गुरुकुलमा हुन गइरहेको नाटकको विज्ञापन देखे ।
त्यो नाटक अरु कसैको थिएन, बलिउडमा पनि मेथड एक्टिङको जग बसाउने नसिरुद्धिन शाहको थियो । त्यो विज्ञापन हेरेपछि पहिलोपल्ट कर्मालाई आफूमा नाटकको नशा रहेको ज्ञान भयो ।
‘ओहो ! म नेपालमा भएको भए त्यो नाटक हेर्न पाउँथेँ,’ उनलाई थकथकी लाग्यो । यसको असर पुनाबाट प्लस टु सकेपछि कार्म थप अध्ययनका लागि भारततिर बरालिएनन् । सिधै नेपाल फर्किए ।
नेपालमा रंगमञ्चबाट सिनेमामा आउने पुस्ताका प्रतिनिधि नाम हुन्, कार्म । शाक्य उनको थर हो तर उनी नामको पछि थर लगाएको रुचाउँदैनन् । यसमा उनको आफ्नै कारण छ । भन्छन्, ‘पहिचानका लागि नामसम्म चाहिन्छ । थर किन चाहियो ? नेपालको थरमा विभेदको इतिहास छ । कमसेकम म यो कुरामा निरपेक्ष रहन चाहन्छु ।’
‘कार्म तिब्बतीयन नाम हो । यसको मतलब तारा भन्ने हुन्छ । यता कर्मा बनाइदिनु भएको छ । यसको अर्थ पनि राम्रै छ । त्यही भएर मैले कतै स्पष्टिकरण दिँदै हिडेको छैन,’ उनले नामको किस्सा बताउँदै भने ।
कार्मको परिवार बहुभाषी छ । जस्तो कि हजुरआमा तिब्बतीयन हुनुहुन्छ भने बुबाका दाजुभाइ कसैले राई बिहे गरेका छन् त कसैले बाहुन । उता मावलीपट्टी भने जातको सिकसिको मान्ने । स्कुलमा पनि कार्म विभेद हेर्दै हुर्किए । कार्म मात्र लेख्ने उनको निर्णय यही चेतनाको प्रतिविम्ब हो ।
‘जातको आधारमा कसैमाथि विभेद हुनुहुन्न । मैले नाम मात्र राखेर यो सन्देश दिन चाहेको हुँ,’ उनले थर नलेख्नुको पर्दा खोल्दै भने, ‘यसको मतलब मैले मेरो जातलाई अनादर गर्न खोजेको चैं हैन । मलाई मेरो थरमा पनि उत्तिकै गर्व छ ।’
यता कार्मको नाममा पनि कम लफडा छैन । उनको नाम कार्म हो तर विरलै यो नाममा उनले सम्बोधन पाएका छन् । धेरैले उनलाई कर्मा भनेर चिन्छन्, बोलाउँछन् । तर, उनले बोलाइन चाहेको नाम कार्म हो ।
‘कार्म तिब्बतीयन नाम हो । यसको मतलब तारा भन्ने हुन्छ । यता कर्मा बनाइदिनु भएको छ । यसको अर्थ पनि राम्रै छ । त्यही भएर मैले कतै स्पष्टिकरण दिँदै हिडेको छैन,’ उनले नामको किस्सा बताउँदै भने ।
सिनेमा र रंगमञ्चका दुवै माध्यममा बरोबर जमेका कार्मको प्रारम्भिक रुचिमा दुवै कुरा थिएनन् । न उनलाई थिएटरमा औधि रुचि थियो, न सिनेमामा । कार्मको मन बसेको थियो, आर्मीमा ।
नीलो टोपी लगाएर शान्ति सेनामा जाने उनको ठूलो इच्छा थियो । तर, त्यो इच्छा कार्मले पनि चाल नपाई नाटकमा रुपान्तरित भयो । यसैले त जब उनले नसिरुद्धिन शाहले काठमाडौंमा नाटक गर्न लागेको खबर पाए, उनलाई ईर्ष्या लाग्यो ।
काठमाडौं फर्किएपछि कार्म बुबा महेन्द्र शाक्यको साथ लागेर गुरुकुलको डाँडो उक्लिए । उसबेला गुरुकुलमा सत्यमोहन जोशीको लेखन रहेको नाटक ‘बाघभैरव’ मञ्चन भइरहेको थियो । कार्मको बाबुछोराबाहेक अर्को एक जना दर्शक थिए । तर, नाटक हेरेर फर्केको रात कार्मले निधो गरे, ‘म नि नाटक गर्ने हो ।’
कार्मको पुख्र्यौली पेसा व्यापार हो । बाबु बाजे सबैजना व्यापारी । तर कार्मले रोजे, पैसा नआउने पेसा नाटक । खुसीको कुरा, कार्मको यो निर्णय परिवारले सहर्ष स्वीकार गर्यो ।
‘मेरो बुबा उदारवादी सोचको हुनुहुन्छ । बाबु बाजेले जे गर्यो त्यही गर्नुपर्छ भन्ने सोच उहाँको थिएन,’ कार्मले भने, ‘बुबाले नै मलाई गुरुकुलसम्म पुर्याउनु भयो ।’
कार्मका अनुसार बुबा र गुरुकुलका गुरु सुनील पोखरेलको चिनजान थियो । यही लहरो समातेर कार्म गुरुकुल पुगे । अनि तुरुन्तै त्यहाँको दोस्रो ब्याचका विद्यार्थी बने । यहाँ पनि कार्मलाई समयले साथ दियो । गुरुकुलले अघिल्लो सालबाट मात्र नाटक पढाउने आवासीय कार्यक्रम थालेको थियो ।
जीवन लुइँटेल, विनय श्रेष्ठ आदिलाई जितेर कार्म मुख्य भूमिकाका लागि छानिएका थिए । यतिबेला कार्म २० वर्षमा हिँडिरहेका थिए । यसपछि कार्म फिल्म र रंगमञ्चका भरपर्दा अनुहार बने । आज पनि उनलाई नाटक र फिल्ममा सरोबरी देखिन्छ ।
पहिलो ब्याच सकिएर गुरुकुलले दोस्रो ब्याच सुरु गर्न लागेको थियो । ८ जनाको कोटा थियो । भाग्यमानी ८ जनाको नाम निस्किसकेको थियो । यही समयमा कार्म गुरुकुल ठोक्किएका थिए । तर, जब पढाइ सुरु हुने बेला भयो, एक जना आएनन् । अनि त्यही ठाउँमा कार्मले नाटक पढ्ने मौका पाए । अहिले नाटक तथा सिनेमामा चर्चित अनुहार प्रवीण खतिवडा, समुना केसी, सरस्वती चौधरी, पशुपति राई, ओमप्रकाश कर्ण, रामहरि ढकाल कार्मका ब्याची थिए ।
कार्म नाटक पढ्ने आफ्नो निर्णयलाई जीवनकै बेस्ट डिसिजन मान्छन् । उनको तर्क छ, ‘यदि म नाटकमा नभएको भए अमेरिका वा अस्ट्रेलियामा हुन्थेँ । नाटकमा गएँ, त्यसैले परिवार र देशमा समय बिताउने मौका पाएँ । म खुसी छु ।’
‘सानो संसार’ले रोक्यो अमेरिका यात्रा
सन् २००७ मा गुरुकुलको पढाइ सकियो । कार्म नाटकमै थप अध्ययनका लागि अमेरिका जाने योजनामा थिए । यही बेला ‘कागबेनी’ बनाइरहेको क्वेस्ट इन्टरटेनमेन्टले दोस्रो फिल्म बनाउन लागेको खबर गुरुकुलसम्म आइपुग्यो । गुरुकुलका धेरै जना अडिसनका लागि गइरहेका थिए ।
कार्मले पनि आफ्नो नाम लेखाए । अडिसन पनि दिए । नभन्दै एक दिन निर्माण कम्पनीबाट उनी अडिसनबाट फिल्मका लागि छानिएको खबर आयो । ‘के हुँदो रैछ त सिनेमाको दुनियाँ’ भन्ने जिज्ञासाले उनी वर्कसपमा गए ।
आलोक नेम्बाङ यो फिल्मका निर्देशक थिए । म्युजिक भिडियो निर्देशनमा आलोकको नाम शिखरमा थियो तर सिनेमा भने पहिलो । तर, पहिलो दिन जब कार्म वर्कसपमा गए, उनका नौनाडी गले ।
‘पहिलो दिन नै चरित्र चित्रणको कुरा थियो । म त सानोतिनो रोलमा छानिएँ होला भन्ठानेको थिएँ । हाफटाइम भइसक्यो, खालि मेरो क्यारेक्टरको मात्र कुरा हुन्छ । यसपछि चैं म नर्भस भएँ । म त हिरोकै लागि छानिएको रहेछु,’ कार्मले भने । जीवन लुइँटेल, विनय श्रेष्ठ आदिलाई जितेर कार्म मुख्य भूमिकाका लागि छानिएका थिए । यतिबेला कार्म २० वर्षमा हिँडिरहेका थिए ।
यसपछि कार्म फिल्म र रंगमञ्चका भरपर्दा अनुहार बने । आज पनि उनलाई नाटक र फिल्ममा सरोबरी देखिन्छ ।
राइडर कार्म
अभिनयबाट फुर्सद भएको समय कार्मले आजभोलि व्यापारमा खर्चन्छन् । तर यसबाट भने समय उबारेर कार्म यात्रामा निस्कन्छन् । बाइकमै काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको ४५ दिने लामो यात्रा गरेका कार्मको अबको योजना छ, बाइकमा युरोप टुर हान्ने ।
कार्म सानो उमेरदेखि नै यात्रा सौखिन थिए । दार्जिलिङमा स्कुले जीवन बिताएका कार्म छुट्टीको समयमा कहिले कलकत्ता जाने त कहिले दिल्ली । स्कुले जीवनमै उनी घुम्दै मेघालयसम्म पुगेका छन् । यसैले जब घुम्ने कुरा आयो कि उनको आँत खुसी हुन्छ ।
आफ्नो यो रुचिबारे कार्म भन्छन्, ‘बुबाले सानैदेखि घुम्नुपर्छ भन्ने पार्दिनु भएको थियो । पढेरभन्दा घुमेर ज्ञान प्राप्त हुन्छ भन्ने लागेपछि वर्षको एकाध पटक घुम्न निस्किहाल्छु ।’ ‘सानो संसार’ खेलेयता व्यस्त भएर घुम्न नपाएका कार्मले गत वर्षको यही जाडाकोे समयमा भने ४५ दिन भारतको यात्रा गरे ।
करिब तीन वर्षअघि कार्म बर्दियाको राइडर्स मिटमा सहभागी थिए । यही मिटिङले काठमाडौंदेखि कन्याकुमारी (केटुके)सम्म जाने प्रस्ताव पारित गर्यो । यही प्रस्तावलाई पारित गर्दै गत साल कार्म र उनका तीन साथीसहित भारत यात्रामा निस्किए ।
काठमाडौंबाट बिहार पुगेर रात बिताए । भोलिपल्ट कलकत्ता विशाखापट्टनम्, चेन्नई, पोन्डिचेरी हुँदै कन्याकुमारी । फर्कंदा अर्कै रुटबाट फर्कने कार्मको योजना थियो तर बीचैमा मोदी सरकारले ल्याएको नागरिकता बिललाई लिएर जनता सडकमा ओर्लिन थालेपछि भारतका राइडर साथीले नेपाल फर्कन सुझाव दिए । कार्म र साथीहरूको १२ हजार लामो किलोमिटरको यो यात्रा ४५ दिनमा काठमाडौं आएर सकियो ।
त्यसयता पनि कार्म मध्यपहाडी राजमार्गका कुना चहारेर आइसके । सिन्धुली, सोलु, हलेसी, ताप्लेजुङ हुँदै कार्मको ७ जनाको समूह बेल्टार हुँदै काठमाडौं फर्किएको थियो । योबाहेक कार्म र उनको समूह ‘म्यांगो राइड’का लागि भन्दै बर्दिवास पुग्छ त कहिले धनकुटाको हिले ।
‘ढाड तन्काएर यति लामो यात्रामा जान के मज्जा छ ?’ कार्म सजिलै भन्छन्, ‘शब्दमा वर्णन गर्न गाह्रो छ ।’ कार्मका अनुसार उनीहरूको यात्रा ब्रदरहुडको हो । मानव मानवबीच भाइचारा बढाउने र मानवीयताको सन्देश एक आपसमा बाँड्ने उद्देश्य बोकेको ।
यो मूल्य बोक्ने राइडर संसारको जुनसुकै कुनामा भेटिन्छन् । त्यसैले त जब उनीहरू कुनै ठाउँ पुग्छन्, उनीहरूको स्वागतका लागि उताका राइडर फूलमाला लिएर बसिरहेका हुन्छन् । खानापिनादेखि बासको बन्दोबस्त पनि मिलेसम्म उनीहरूले नै गरिदिन्छन् । संकटमा उद्धार गर्छन् ।
अब भने कार्मको चाहना छ, रोयल फिल्डको ढाडमा चढेर युरोप टुर गर्ने । ‘बीचको समय फिल्म र घरायसी कारणले थोरै डिस्टर्ब थिएँ । मेन्टल्ली पनि स्टेबल छु,’ उनले भने, ‘अबको हाम्रो टार्गेट युरोप टुर हान्ने छ । थाहा छैन त्यो कहिले जुर्छ ।’
वेटरदेखि मालिकसम्म
कार्मको पुस्तैनी पेसा व्यापार हो । पाटनको स्थायी बासिन्दा कार्मका हजुरबा तेजमान शाक्य एक समय तिब्बतमा व्यापार गर्थे । तर, पछि तिब्बतसँग नेपालको सम्बन्ध कच्याककुचुक भएपछि हजुरबा तिब्बतबाट नेपाल फर्किए । तिब्बतमा बसेकाले अंग्रेजी ठ्याप्पै नआउने ।
तर, उनले अंग्रेजी जान्ने मान्छे राखेर व्यापार गर्न थाले । उनले यसरी गर्न थालेको एउटा व्यापार थियो, ‘होन्डा मोटरसाइकल’को । जापानीज ब्रान्डको यो मोटरसाइकल नेपालमा पहिलो पल्ट तेजमान शाक्यले नै भित्र्याएका थिए । पछि मात्र हो, ज्योति ग्रुपले यसको बेचबिखन गर्न लागेको ।
हजुरबाको यही व्यापारिक गुण जिनमा बोकेका कार्म हस्पिटालिटी व्यवसायामा संलग्न छन् । पाटन र लाजिम्पाट गरी दुई ठाउँमा उनीहरूको हिरण्ड ब्रान्डको होटल छ । त्योबाहेक मोःमो किङ ब्रान्डको मोमो पसल पनि छ ।
‘सानो संसार’पछि कार्म रातारात स्टार बने । ‘एक दिन एक रात’ फ्लप भयो । तर, नेवारी भाषाको ‘पटाचारा’ र ‘फस्ट लभ’ सुपरहिट भए । त्यसपछि बनेको ‘लुट’ नेपाली सिनेमाको ‘गेमचेन्जर’ साबित भयो ।
कार्म फुर्सदको समयमा यिनै दुई ठाउँमा भेटिन्छन् । तर, यहाँ रहँदा कार्म डिस क्लिनरदेखि वेटरसम्मको पनि काम गरिरहेको भेटिन्छन् । अनि कहिलेकाहीँ उनलाई एयरपोर्टमा गेस्ट कुरिरहेको पनि भेट्न सकिन्छ । जब उनको होटल आउने पाहुना कार्मलाई चिन्छन् र आफूलाई रिसिभ गर्न आएको चाल पाउँछन्, उनको भद्रता देखेर चकित पर्छन् ।
‘मेरो बुबा हकी, बास्केटबलको ठूलो खेलाडी हो । समाजसेवामा पनि उहाँको ठूलो नाम छ । तर, पनि उहाँलाई तपाईंले सानोभन्दा सानो काम गरिरहेको देख्न सक्नुहुन्छ,’ कार्म भन्छन्, ‘बुबाले नै मलाई काम सानो, ठूलो हुँदैन भनेर सिकाउनु भएको छ । त्यसैले म पर्यो भने जे पनि गर्छु र मलाई आफ्नो काम गर्न रत्तिभर पनि संकोच हुन्न ।’
आफैं फिल्म बनाउँछु
‘सानो संसार’पछि कार्म रातारात स्टार बने । ‘एक दिन एक रात’ फ्लप भयो । तर, नेवारी भाषाको ‘पटाचारा’ र ‘फस्ट लभ’ सुपरहिट भए । त्यसपछि बनेको ‘लुट’ नेपाली सिनेमाको ‘गेमचेन्जर’ साबित भयो । ‘लुट’ प्रदर्शन भएको ९ वर्ष पूरा भएको उपलक्ष्यमा यसका पोस्टर डिजाइनर स्वप्निल आचार्यले एउटा खुलासा गरे ।
ट्विटरमा लेखेको पोस्टमा उनले लेखेका छन्, ‘चर्चित अनुहार कार्म रहेको त्यति बेला यो पोस्टरमा मलाई ‘कार्मलाई हाइलाइट गर्नु भन्ने डाइरेक्टिभ थियो । त्यति बेलासम्म सौगात मल्ललाई खासै कसैले चिन्दैन थिए । त्यसैले उनी पोस्टरमा पछाडि छन् । ५१ दिनसम्म आइपुग्दा इक्वेसन उल्टियो । सबै पछाडि परे, सौगात अगाडि आए ।’
कार्म आफ्नो फिल्मी करिअरमा आएको यो उतारचढावबाट परिचित छन् । यो बीचमा उनले खेलेका धेरै फिल्म फ्लप भए । धेरै चलचित्र छाडे पनि । यही समयमा कार्म फ्रस्टेटेड पनि भए । यही समयमा सम्पत्तिलाई लिएर काका बाबुबीच किचलो पनि थियो ।
यतिबेला भने कार्म यी सबै तनावबाट मुक्त छन् । यसपछि उनलाई घत परेका केही चलचित्र पनि रिलिज हुँदैछन् । उनको अभिनय रहेको ‘महानगर’ भर्खरै कलकत्ता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको छ भने प्रशान्त रसाइलीको निर्देशन रहेको लैनसिंह बाङ्देलको उपन्यासमा आधारित ‘लंगडाको साथी’ पनि बनेर तयार भएको छ । कार्म आफैं पनि फिल्म बनाउने मुडमा छन् ।
‘यहाँ राम्रो कथा न स्क्रिप्ट केही पनि झट्टै भेटिन्न । पायो भने म पनि फिल्म निर्माण गर्ने योजनामा छु । हेरौं कहिले सम्भव हुन्छ,’ कार्मले आशावादी हुँदै सुनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया