मुगुमा मास्टरी गर्ने राजेशलाई बुसानहरू पानी–पँधेरो
केही वर्षयता संयोग यस्तो पर्ने गरेको छ कि जब-जब बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको ‘लाइनअप’ सार्वजनिक हुन्छ, कोही न कोही नेपाली फिल्मनिर्माता त्यहाँ अटाएकैं हुन्छ । यो सूचिमा चार वर्षदेखि अटाउँदै आएका छन्, राजेशप्रसाद खत्री । बालबालिकाका सामान्य कथामा फिल्म बनाउँदै यो उपलब्धि चुमिरहेका राजेशको फिल्म यात्रा भने उनले बनाउने फिल्मभन्दा ठिक उल्टो छ, ‘अप्ठेरो र दुरुह’ ।
उनी बस्ने ठाउँमा न बिजुली छ न कम्प्युटर । न त उनी बस्ने ठाउँमा इन्टरनेटको नै सुविधा छ । तर, पनि उनले बनाएका फिल्म विश्वका फिल्म फेस्टिभल चाहार्छन् । कुनै समय काठमाडौं आउन पाए जुनी सफल हुन्थ्यो भन्ने राजेशका लागि आजभोलि भने फिल्म फेस्टिभल हुने धेरै देश पानी पँधेरो झैं हुने गरेका छन् ।
पहिलो फिल्म ‘जालगेडी’बाट जर्मनीको बर्लिनाले अवार्ड, ताइवानको एसिया प्यासिफिक अवार्ड, इटलीको कोर्तामोन्टानो अवार्ड जितेका उनले दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागिताका हिसाबले गत साल नै ह्याट्रिक पूरा गरिसकेका छन् ।
पहिलो साल उनको ‘जालगेडी’ बुसानमै प्रिमियर भएको थियो । दोस्रो साल उनी एसियाका २४ जना फिल्म निर्मातालाई पढाउने एसियन फिल्म एकेडेमीमा छनोट भएका थिए भने गत साल उनको पहिलो फिचर फिल्म ‘श्यामश्वेत तस्बिर’ बुसानकै एसियन प्रोजेक्ट मार्केटमा छनोट भएको थियो । यो साल पनि उनको नयाँ सर्ट फिल्म ‘जुलुङ्गो’ बुसानमा ‘वाइड एंगल सर्ट फिल्म’ विधामा प्रतिस्पर्धामा छ ।
श्यामश्वेत टिभी
सहरतिर ३२ इन्चको स्मार्ट टिभीको जगजगी भइसक्दा राजेशको जिल्ला मुगुमा बल्ल १४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टिभी छिर्दै थियो । तर बच्चाबच्चीले टिभी हेर्ने कुरा मुगुमा पनि निको काम मानिन्थेन । आफ्नो घरछेउ जिल्ला विकास समितिको सभापतिको क्वाटर थियो । यहीँ उनले २०५८ सालमा टिभीको पहिलोपल्ट दर्शन पाए ।
‘टिभीमा कृषि कार्यक्रम मात्र हेर्न पाइन्थ्यो । अरु कार्यक्रम हेर्नै नदिने । काठले बनेको घरको एउटा कोठामा टिभी थियो । यही कोठा दुलो पारेर हेरियो,’ राजेशले सानोको चकचक सम्झिए । तर, यो मज्जा धेरै दिन टिक्न पाएन । एक दिन क्वाटरमा बस्ने पियनले राजेशको चोरी समात्यो । राजेशलाई लाग्यो, अब टिभी हेर्ने दिन सकिए । तर, पियन गुनी निस्कियो । उसले टिभी हेर्न दिने भयो तर सर्तसहित । सर्त थियो जुठा भाँडा मोल्नुपर्ने । ‘घर दुलो पारेकामा सजायको डरभन्दा पनि टिभी हेर्न नपाइएला भन्ने पीर धेरै थियो । त्यसैले भाँडा मोल्ने प्रस्ताव सहर्ष स्वीकारियो,’ राजेशले आँखामा विगत नचाउँदै भने ।
टिभी आएको केही समयमै गमगढीमा सिडी प्लेयर आयो । यसपछि भने राजेशको गन्तव्य फेरियो । गोजीमा भएको पैसाअनुसार सिडीमा नेपाली फिल्म हेर्न पाइन्थ्यो । ५ रुपैयाँमा आधा घन्टा, १० रुपैयाँमा १ घन्टा र १५ रुपैयाँमा पूरा फिल्म । ५ रुपैयाँ तिरेर उनले बग्रेल्ती नेपाली फिल्म हेरे जसको उनलाई खासै सम्झना पनि छैन ।
तर, एसएलसी पास गरेपछि हेरेको एउटा फिल्म भने उनले जिन्दगीभर बिर्सन्नन् । त्यो फिल्म थियो, शिव रेग्मीको ‘आफन्त’ । एसएलसी पास गरेपछि राजेश पढ्नलाई काठमाडौं जाने तयारीमा थिए । अस्कलमा आइएस्सी पढ्ने टुंगो थियो । टुंगो थिएन त काठमाडौं जाने वाहनको ।
गमगढीबाट सहर पस्ने दुई विकल्प थिए, ११ नम्बरमा मच्चिएर सुर्खेत आउने र त्यहाँबाट गाडी वा प्लेन चढेर काठमाडौं आउने । अर्को विकल्प, हेलिकप्टरमा सुर्खेत/नेपालगञ्जसम्म पुगेर गोजीको सुविधाअनुसार प्लेन वा गाडीमा काठमाडौं झर्ने । काठमाडौं पढ्न जान लागेको छोराका लागि भनेर राजेशको बुबाले हेलिकप्टरकै एउटा सिटको बन्दोबस्त राखेका थिए । तर, त्यो हेलिकप्टर कहिले आउँछ टुंगो हुन्थेन । एसएलसी पास गरेको फुक्काफाल राजेशको समय मिनी सिनेमा हलमा बित्थ्यो ।
एक दिन राजेश यसैगरी ‘आफन्त’ फिल्म हेरिरहेका थिए, हेलिकप्टरको आवाज सुनियो । राजेश बीचैमा फिल्म छाडेर दौडिए । फिल्म हेरिरहेको ठाउँबाट घर पुगेर झोला च्यापेर हेलिप्याड भएको ठाउँ पुग्नु थियो । घर पुग्न दौडँदा पनि १५ मिनेट लाग्थ्यो । अनि त्यहाँबाट हेलिकप्टर भएठाउँ पुग्न पनि उति नै समय ।
त्यो दिन राजेशले बाको मुखबाट नराम्ररी गाली खाए । बाले मुखमा पैसा मिल्काउँदै तथानाम गाली गरे । उनलाई लाग्यो, यो फिल्म भन्ने कुरा हेर्नै नहुने रैछ । उनले काठमाडौं आएर पढ्न थालेको डेढ वर्षसम्म हलतिर आँखा पनि लगाएनन् । तर, डेढ वर्षपछि उनले आफूलाई हल जानबाट रोकिरहन सकेनन् । रञ्जना हलमा गएर फिल्म हेरे । संयोगवश यो फिल्म पनि शिव रेग्मीकै थियो, नाम थियो, ‘ए मेरो हजुर’। यसपछि त उनले काठमाडौंका कुनै हल नछाडी फिल्म हेरे ।
यही समयमा राजेशको जीवनमा अर्को उथलपुथल पनि चलिरहेको थियो । त्यो थियो, पढ्न मन नलाग्ने । अस्कलको होस्टलमा बस्थे तर पढ्नुपर्ने पीरले कोठा छिर्नै मन नलाग्ने । उनले यही समयमा कति रात टुँडिखेलमा घुमेर छर्लंग पारे त कति रात रत्नपार्कमा । रत्नपार्कमा सेक्स वर्कर हुन्छन् भन्ने सुनेका थिए, राजेशले । निधो गर्न केही रात राजेशले यतै पनि बिताए । ‘खै किन हो, पढ्न मनै लागेन । होस्टलमा सबै जना पढिरहेका हुन्थे । आफूमात्र नपढ्ने भएपछि कोठा बस्नै मन नलाग्ने,’ राजेश रत्नपार्क, टुँडिखेल, शोभा भगवतीसम्म भौँतारिएको सम्झन्छन् ।
‘जालगेडी’को काम नसकिँदै बुसानमा फिल्म प्रिमियर हुने समाचार आयो । त्यो रात मीनले उनलाई बोकेर घुमाएको राजेश कहिल्यै बिर्सन्नन् । ‘खबर आएपछि काकाले मलाई बोक्नुभयो । मलाई त बुसान के हो र यहाँ प्रिमियर हुँदा के हुन्छ भन्ने पनि थाहा थिएन । काका खुसी भएको देखेर मात्र राम्रै कुरा भएछ भन्ने लागेको थियो ।’
नपढेपछि पास हुने कुरै थिएन । आइएससीको पहिलो साल राजेश चार विषयमा गुल्टिए । उनलाई लाग्यो, आइएससी मेरो बुताले पास गर्न सक्ने विषय होइन । भित्रभित्रै उनलाई लेखापाल बन्ने सपना थियो । उनले आइकम गर्ने निधो गरे तर काठमाडौंबाट होइन, दाङबाट । बुबालाई थाहा पत्तो नदिई एक दिन राजेश दाङको नाइटबस चढे । बाबु-छोराबीचको रहलपहल सम्बन्ध पनि राजेशको यो निर्णयले सकायो ।
पहिला त बालाई छोरा नपढेको रिस थियो । त्यसमाथि दाङ बसेको कुराले बाको पारो तातेको थियो । त्यतिबेला दाङको इमेज पनि राम्रो थिएन । साथीभाइबीच ‘न्याय नपाए गोर्खा जानू, केटी नपाए दाङ जानू’ भन्ने भनाइ चर्चित थियो । बालाई यो कुरा थाहा थियो । घरबाट सुको नआएपछि फ्रेस हाउसमा काम गरेर राजेशले मुस्किलले आइकम सकाए ।
राजेश कर्णालीका सबै देवी-देउता भाकेपछि जन्मिएका थिए । छोराको खोजीमा राजेशका आमा-बाबाले ११ सन्तान जन्माएका थिए, जसमध्ये बचेका ७ मध्ये राजेश एक्लो छोरा थिए । बाको विशेष प्रेम थियो, राजेशप्रति । तर, काठमाडौं पढ्न छाडेर दाङ गएको कुराले बाको चित्त नराम्ररी कुँडिएको थियो ।
त्यसैले राजेश दाङबाट घर गएको मौका छोपी बाले राजेशको बिहे गरिदिए । बुबाले राजेश ५ कक्षामा पढ्दा नै घरबाट १० मिनेट उकालोमा घर भएकी केटी राजेशका लागि रुचाएका थिए । केटीको घरबाट पनि स्वीकृति थियो । असहमत थिए त राजेश मात्र । तर, सोचे बाबुलाई धेरै दुखाउनुभन्दा बिहे गरेकै बेस । राजेशले २० वर्षको उमेरमा विवाह गरे । तर देख्नका लागि राजेश यसपछि पनि सुध्रिएनन् । दिनौंसम्म घरै नगई बाहिर बसेर समय बिताउन थाले । चार वर्षपछि उनको बिहे टुट्यो । माइत गएकी उनकी श्रीमती फर्केर आइनन् ।
‘तर यसले बाबु–छोराको सम्बन्ध झन् तीतो भयो । बाउ-छोरा नै डिप्रेसनमा पुग्यौँ’ राजेशले कठिन दिन स्मरण गर्दै भने, ‘घरछेउ एउटा पुल थियो । त्यहाँ गएर धेरै चोटि हाम्फाल्ने सोच्थें ।’
तर, यो अवस्था धेरै समयसम्म रहेन । एउटा फ्रेन्च एनजीओमा उनले काम पाए तलब थियो, २८ हजार रुपैयाँ । नियुक्तिपत्र लिएर घर आउँदा त्यही पुल पार गरेर आउनुपर्थ्यो तर त्यो दिन उनले मर्नेबारे सोचेनन् । पुलमा आएपछि धक फुकाएर नाचे । घर गएर बालाई नियुक्तिपत्र देखाए । बाको रिस मत्थर भयो ।
गमगढीबाट दुई दिनको दूरीमा एनजीओको अफिस थियो । राजेशको काम थियो ट्रान्सलेटरको । फ्रेन्चले अंग्रेजीमा बोल्थे, जुन राजेशले गाउँलेलाई अनुवाद गरेर सुनाउँथे । राजेशको जीवन लयमा थियो । तर, चाँडै नै उनको लय भंग हुनेवाला थियो ।
एक्सिडेन्टल रंगकर्मी
यसैबीच राजेशलाई अफिसले काठमाडौं ट्रेनिङका लागि पठायो । काठमाडौं जान भनेर राजेश ताल्चा एयरपोर्टमा विमान कुरिरहेका थिए । चार दिन भइसकेको थियो, विमान आएको थिएन । दिनभर तास खेलेर बिताउँथे । यही क्रममा उनले एक जना साथी भेटे, जसले उनलाई आफू काठमाडौंको गुरुकुलमा नाटक हुन लागेको र आफू अभ्यासका लागि त्यता जान लागेको बतायो । नाटक कसले गर्न लागेको भन्दा मीन भामले ।
मीन भामले गर्न लागेको भन्ने बित्तिकै राजेशलाई लाग्यो, ‘अरे, त्यहाँ त म पो हुनपर्ने ।’ काठमाडौं झरेर झम्सिखेल जानपर्ने, राजेश सिधै गुरुकुल पुगे । ‘कर्नाली दख्खिन बग्दो छ’को रिहर्सल भइरहेको थियो । राजेश रिहर्सलमा सरिक भए । उता अफिसमा भने फोन गरेर ढाँटे, ‘बाटोमा आउँदा गाडी दुर्घटनामा पर्यो । उपचारका लागि भारत जानुपर्ने भो । १५ दिन लाग्छ ।’
अफिसले १५ दिनको बिदा स्वीकृत गर्यो । तर, दुई दिनपछि ताल्चा विमानस्थलमा छाडेको साथी गुरुकुल आएपछि भने तनाव भयो । समूहमा एक जना बढी भए । लिस्टमा नाम नभएका राजेश नै थिए । तर, पहिलो दुई दिनमै राजेशमा नाटकको यति रस पस्यो कि उनलाई यो छाड्नै मन लागेन । छलफल हुँदा गर्जिएर भने, ‘जसले मलाई यहाँबाट निकाल्छ, त्यसलाई म गिँडिदिन्छु ।’ कसैले उनलाई निकाल्ने हिम्मत गरेनन् । तर, यो नाटकले उनको जागिर चट् भयो ।
‘नाटक एक दिन, हप्ता दिन हुँदै तीन महिना मञ्चन भयो । अफिसमा धेरै दिन ढाँटिरहन पनि मन लागेन । जागिर कि नाटक, एक रोज्नुपर्ने अवस्था आयो । मैले नाटक रोजेँ’ उनी गम्भीर सुनिए ।
तर, तीन महिना चलेपछि कर्नाली थिएटर छिन्नभिन्न भयो । राजेश एक्लैले बचाउन भरमग्दुर प्रयास गरे । तर, सकेनन् । यता जागीर पनि गयो, उता नाटक गर्ने सपना पनि गयो । जागिर गएपछि बाउछोराको खाटा बस्न लागेको घाउ फेरि बल्झियो । बाउछोराबीच झगडा चर्कन थाल्यो । बालाई उनले रक्सी खाएको बेलामा मात्र जित्न सक्थे ।
राजेशको बास भट्टीमा हुन थाल्यो । यतिन्जेलसम्ममा उनले दोस्रो विवाह गरिसकेका थिए । जेठो छोरा जन्मिसकेको थियो । एक दिन घर जान्छन् त छोराका दुवै आँखा पिपले भरिएका । तर, औषधी किन्नलाई गोजीमा राजेशसँग ५ रुपैयाँ पनि थिएन । यसबेला राजेशले धेरै पल्ट मर्नेबारे सोचे ।
तर, भट्टी नै राजेशको जीवनको टर्निङ प्वाइन्ट बन्यो । राजेशले रक्सी खाने भट्टीमा थप दुई साथी भेट भए । राजेश मात्यो कि नाटकको कुरा गर्ने रहेछन् । दुवै साथीले यो ख्याल गरिरहेका । दुवैले एक दिन भने, ‘ल, तिमी नाटक नाटक भन्छौ । नाटक गरुँ ।’ राजेशको रक्सीको नशा उत्रियो ।
‘एउटा गायक थियो अनि अर्को राम्रो कमेडियन । उनीहरूको प्रस्ताव मेरा लागि सञ्जिवनी बुटी थियो । तुरुन्तै हामीले नयाँ नाट्य समूहको नामकरण गर्यौं,’ राजेशले सुनाए । कर्नाली नाट्य समूह नाममा नाटकघर २०६६ जेठ २६ गते विधिवत् दर्ता भयो । दुई वर्षमा नाटकघर मुगुभरि प्रख्यात भयो । यही समयमा सुनील पोखरेल नाटक हेर्न मुगु पुगे । भीड देखेर खुसी भए र फेरि एउटा नाटक गर्ने प्रस्ताव राखे । ‘सुइना कर्नाली’ नाममा सुनील पोखरेलको मुख्य निर्देशन र राजेश खत्रीको सह–निर्देशनमा नाटक काठमाडौंमा मञ्चन हुने तय भयो । ४५ दिन रिहर्सल गरेर काठमाडौंमा नाटक मञ्चन गर्ने कार्यतालिका थियो ।
राजेशको बुसानको पहिलो यात्रा पनि स्मरणीय छ । ‘जालगेडी’ एसियन सर्ट फिल्म कम्पिटिसन विधामा छनोट भएको थियो । मीन फेस्टिभल सुरु हुनुअघि नै बुसान पुगिसकेका थिए । राजेशको यो पहिलो विदेश यात्रा भएकाले जसोतसो बुसान पुगे । होटलमा चेकइन गरेर चाबी लिए । कार्ड जस्तो चाबी थियो । राजेशले जिन्दगीमा यस्तो चाबी देखेका थिएनन् । ढोका कसरी खोल्ने मेसै पाएनन् । केही उपाय नलागेपछि सुटकेस काउन्टरमै छाडेर घुम्न निस्किए । कोठा नखुलेपछि रात गुजार्ने उपाय थिएन । उनले रातभर भौँतारिएरै छर्लंग बनाए ।
तर, ४५ दिने रिहर्सलका लागि काठमाडौं हिँड्ने अघिल्लो दिन राति दुई बजे राजेशको दोस्रो छोरा जन्मियो । सुत्केरी श्रीमती छाडेर हिँड्न राजेशलाई सकस थिएन, सकस थियो- सँगै लिएर जानलाई । किनकि, नाटकमा राजेशको श्रीमतीको पनि महत्वूर्ण भूमिका थियो । सुरुसुरुमा नाटक गर्न महिला कलाकार नपाएपछि उनले श्रीमती, बहिनी सबलाई कलाकार बनाएका थिए । तर, काठमाडौं पुग्नुअघि नै छोरा जन्मिएपछि के गर्ने ? दम्पत्तीलाई नै निर्णय गर्न गाह्रो भो । त्यसमाथि बाको रिस ।
राजेशलाई छोरा कि नाटक रोज्नुपर्ने धर्मसंकट आइलाग्यो । दम्पतीले नै ‘छोरा त फेरि पनि पाउन सकिन्छ तर नाटक गर्ने मौका नआउन पनि सक्छ’ भन्दै नाटक रोजे । यसपछि घरमा बा नउठ्दै उनीहरू नेपालगञ्ज लागे । नेपालगञ्ज राजेशको ससुराली थियो । ‘४३ दिनसम्ममा बूढीलाई काठमाडौं बोलाउँछु । दुई दिन रिहर्सल गराउँछु । भइहाल्छ भन्ने थियो,’ राजेशले सुनाए । यसरी राजेश श्रीमती र छोरालाई नेपालगञ्ज छाडेर काठमाडौं आए । तर, हप्ता दिनमा बा पनि टुप्लुक्क गुरुकुल आइपुगे ।
‘नातिलाई मार्ने भए । नाति हेरेर बस्छु भनेर बुबा आत्तिँदै काठमाडौं आउनु भएछ । तर, गुरुकुलमा बसिरहँदा बुबाको बोल्ने शैली देखेर सुनील सरले यस्तो ठेट मान्छे पाइन्न भनेर नाटक खेलाउनु भयो,’ राजेशले विगत कोट्याउँदै भने । तर, पहिलो सो लगत्तै बा सेलिब्रेटी भए । नाटक हेरेर निस्केका दर्शकले बाको मुक्तकण्ठले प्रशंसा गरे । त्यो रात बाले राजेशलाई भने, ‘मर्नुभन्दा पहिला स्वर्ग पुर्याइस् । मेरो किरिया नर्गनू ।’ त्यो रात राजेश खुसीले रातभर निदाउन सकेनन् ।
दुई वर्ष नाटक गरेपछि यो समूह पनि छिन्नभिन्न भयो । राजेश अध्यक्षको जिम्मेवारीबाट हटाइए । तर, यो पालि उनी पहिलो जस्तो विचलित भएनन् । मुगुमा पहिलो पल्ट ब्याचलर पढाउन थालिएको थियो । उनी भर्ना भएर बीएड सके । यही बीच शिक्षक सेवा आयोगमा नाम निकाले । विद्यार्थीलाई शुक्रबार शुक्रबार नाटक गराएर नाटकको भोक मार्न थाले । यसैबीच सन् २०१५ आयो ।
‘जालगेडी’
एक दिन उनले सुने, मीन भाम ‘कालो पोथी’ फिल्मको सुटिङ गर्न मुगु आएका छन् । मीन नातामा राजेशका काका थिए । उनले मनमनै काकाले काम गर्न बोलाए पनि हुने नि भनेर प्रार्थना गरे । नभन्दै मीनले राजेशलाई बोलाएर लोकल कोअर्डिनेटरको जिम्मेवारीमा काम लगाए । राजेशले दिलोज्यान दिएर काम गरे । सुटिङ सकिएपछि मीनले उनलाई कागजपत्र सब जलाइदिनू भनेर आदेश दिएका थिए । उनले त्यसै गरेको जवाफ पनि दिए तर असलमा गरेनन् । उनले भएभरका कागजपत्र बोकेर घर लगे र स्कुलमा फुर्सदमा पढ्न थाले । जब ‘कालो पोथी’को स्क्रिप्ट पढ्न थाले, उनलाई लाग्यो, ‘अरे, यत्तिको त म पनि लेख्न सकिहाल्छु नि ।’
उनले ६ महिना लगाएर ‘कालोपोथी’को स्क्रिप्ट पढे र ‘जालगेडी’को स्क्रिप्ट लेखे । लेखेर सबैभन्दा पहिला मीनलाई पठाए । तर, लामो समयसम्म पनि मीनले पढे-नपढेको प्रतिक्रिया दिएनन् । दुई वर्ष यत्तिकै बित्यो ।
दुई वर्षपछि एक दिन राजेश काठमाडौं आए । काठमाडौं आउँदा उनको बस्ने ठाउँ मीनकै कोठा थियो । मीन यतिबेला अनिल न्यौपानेसँग मिलेर नयाँ स्क्रिप्टमा काम गरिरहेका थिए । मीनलाई त उनले स्क्रिप्टको कुरा सोध्ने हिम्मत गरेका थिएनन् । तर, अनिललाई भने आग्रह गरे ‘अनिल भाइ मैले एउटा स्क्रिप्ट लेखेको छु । हेर्दिन्छौ ?’ अनिल ‘भैहाल्छ नि दाइ’ भनेर पढ्न राजी भए ।
राजेशले आफ्नो झोलामा रहेको स्क्रिप्ट निकालेर पढ्न दिए । राजेश सम्झन्छन्, ‘स्क्रिप्ट पढिसकेपछि अनिलले ‘दाइ, फिल्म चैं म खिच्छु है’ भन्ने प्रतिक्रिया दिए । पछि उनले यही स्क्रिप्ट एडिटर किरण श्रेष्ठलाई पनि पढ्न दिए । उनले ‘म एसिस्ट गर्छु’ भन्ने प्रतिक्रिया दिए । यति भएपछि त राजेशलाई लाग्यो, ‘फिल्म त जसरी पनि बनाउने हो ।’ तर, बनाउन त बनाउने कसरी बनाउने ? राजेशसँग फिल्म बनाउन सुको पनि गोजीमा थिएन । उनले दिदीलाई घुक्र्याए । ‘फिल्म बनाउन पैसा दिने भए देऊ, नत्र म मट्टितेल खन्याएर मर्छु’ दिदीले ५ लाख रुपैयाँ दिने वाचा गरिन् ।
मीनलाई यो खबर सुनाए । मीनले पहिला त फिल्म नबनाऊ भनेर सम्झाए तर राजेश नमानेपछि भने ‘ल, मुगुमा गएर कलाकार तयार गर्दै गर्नू । म यहाँबाट टिम पठाइदिन्छु ।’
राजेश उत्साहका साथ फर्किए । आफू जुन स्कुलमा पढाउँथे, त्यही स्कुलमा पढ्ने बच्चाबच्चीलाई अभिनय सिकाउने थाले । ३ महिनापछि मीनले काठमाडौंबाट सात जनाको टिम पठाइदिए । ७ लाख ५० हजारमा ७ दिनमा ‘जालगेडी’को सुटिङ सकियो । फुटेज लिएर टिम काठमाडौं फर्कियो । राजेश १० दिनपछि काठमाडौं आए । यहाँ आउँदा फिल्मको एडिटिङ सकिसकेको थियो । ‘वर्क इन प्रोग्रेस’ फाइल बुसानमा गइसकेको थियो ।
फिल्मको काम नसकिँदै बुसानमा फिल्म प्रिमियर हुने समाचार आयो । त्यो रात मीनले उनलाई बोकेर घुमाएको राजेश कहिल्यै बिर्सन्नन् । ‘खबर आएपछि काकाले मलाई बोक्नुभयो । मलाई त बुसान के हो र यहाँ प्रिमियर हुँदा के हुन्छ भन्ने पनि थाहा थिएन । काका खुसी भएको देखेर मात्र राम्रै कुरा भएछ भन्ने लागेको थियो ।’
राजेशको बुसानको पहिलो यात्रा पनि स्मरणीय छ । ‘जालगेडी’ एसियन सर्ट फिल्म कम्पिटिसन विधामा छनोट भएको थियो । मीन फेस्टिभल सुरु हुनुअघि नै बुसान पुगिसकेका थिए । राजेशको यो पहिलो विदेश यात्रा थियो । राजेश जसोतसो बुसान पुगे । होटलमा चेकइन गरेर चाबी लिए । कार्ड जस्तो चाबी थियो । राजेशले जिन्दगीमा यस्तो चाबी देखेका थिएनन् । ढोका कसरी खोल्ने मेसै पाएनन् । केही उपाय नलागेपछि सुटकेस काउन्टरमै छाडेर घुम्न निस्किए । कोठा नखुलेपछि रात गुजार्ने उपाय थिएन । उनले रातभर भौँतारिएरै छर्लंग बनाए ।
भोलिपल्ट मीन उनलाई खोज्दै होटल आए । राजेशले चाबीको किस्सा सुनाए । मीनले ढोका खोल्ने जुक्ति बताए । ‘कार्ड ढोकाछेउमा लगेपछि नीलो बल्छ र हेन्डिल घुमाएपछि खुल्छ ।’ यति भनेर मीन फेरि अलप भए । मीनले भनेझैं राजेशले ढोका खोले । तर, फेरि बत्ती कसरी बल्छ मेसो पाएनन् । उनले भने, ‘नेपालमा देखे जस्तो स्वीच नै थिएन । मरिगए बत्ती बल्ने ठाउँ भेटिन ।
दिनभर फेस्टिभल घुम्ने र राती अँध्यारोमा सुतेर दुई दिन बिताए । बत्ती नभएपछि नेट पनि चल्दो रहेछ । घरमा आइपुगेँ भनेर खबर गर्न पनि पाइनँ ।’ दुई दिन अन्धकारमा बिताएपछि अब त भएन भन्दै बत्ती बाल्ने ठाउँ खोज्न थाले । कोठाको कुनाकुना चहार्दा फेरि उही कार्ड राख्ने ठाउँ देखे । झिनो आशका साथ कार्ड खाली ठाउँमा घुसारे । बत्ती झिलिमिली बल्यो । नेट पनि चल्न थाल्यो ।
फेरि त के थियो, बुसान राजेशका लागि पानीपँधरो बन्यो । यो पटक महामारीका कारण फेस्टिभल भर्चुअल नहुँदो हो त उनी दसैंको टीकाको भोलिपल्ट बुसानमा विश्वका प्रतिष्ठित फिल्म निर्मातासँगै हुन्थे र योसहित बुसानमा उनको सहभागिताले चार खेप पूरा गरिसक्थ्यो ।
स्कुलमा साना नानी पढाउने राजेशले फिल्ममा पनि यिनै साना नानीहरूको संसारलाई प्रस्तुत गर्ने गरेका छन् । ‘जालगेडी’मा फ्रुटीको खोल देखेर आकर्सित भएकी बच्ची गोरु हेर्न छाडेर विदेशीको पछि लागेपछि उत्पन्न हुने परिस्थितिलाई उनले उनेका छन् भने एसियन प्रोजेक्ट मार्केटमा छानिएको ‘श्यामश्वेत तस्बिर’मा पनि उनले बच्चाकै विषयलाई प्राथमिकता दिएका छन् ।
‘जुलुङ्गो’को केन्द्रीय कथा पनि बालिकामै आधारित छ । पश्चिममा ‘भ्याउना’ भनिने जुलुङ्गोको अर्थ बाली-नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ । मुगुमा बालिकाले पढ्ने रहरलाई आफैँभित्र राखेर घरायसी काममा खुम्चिनुपर्ने बाध्यतालाई राजेशले ‘जुलुङ्गो’को बिम्बका रूपमा प्रयोग गरेका छन् ।
राजेश नेपाल सरकारका स्थायी शिक्षक हुन् । मुगुबाट दुई दिनको दूरीमा पर्ने प्रकाश प्राथमिक विध्यालयमा पढाउँछन् । नाम प्रकाश भए पनि यहाँ बिजुलीको प्रकाश भने छैन । जुम्लाको सिमानामा पर्ने स्कुलमा जम्मा ४ जना विद्यार्थी छन् भने शिक्षक ३ जना । स्कुल चलिरहेकै समयमा पनि राजेश कहिले बुसान त कहिले बर्लिन पुगेका हुन्छन् । तर, यसरी अनुपस्थित हुँदा उनको मन कटक्क खान्छ । भित्रभित्रै उनलाई पाप गरेजस्तो लाग्छ । त्यसैले उनले पाप कटाउन ‘जालगेडी’मै काम गरेका तीन जना नानीलाई आफ्नै खर्चमा बोर्डिङ स्कुल पढाउने गरेका छन् ।
यही कात्तिक १२ गते बुसानमा उनको फिल्म ‘जुलुङ्गो’को स्क्रिनिङ छ । स्क्रिनिङपछि हुने ‘क्यु एन्ड ए’ प्रश्नोत्तर कार्यक्रम फिल्म निर्माताका लागि असाध्यै महत्वपूर्ण मानिन्छ । तर यो सालको ‘क्यु एन्ड ए’का लागि राजेश उपलब्ध हुने छैनन् । किनकि उनी जहाँ पढाउँछन्, त्यहाँ न बिजुली छ, न इन्टरनेट । राजेश भन्छन्, ‘फिल्म फेस्टिभल आयोजकलाई पनि थाहा छ कि म शिक्षक हुँ तर इन्टरनेट त के बिजुलीसमेतको सुविधा नभएको ठाउँमा बस्छु । हप्तौँ हप्तासम्म मैले इमेलको जवाफ दिइनँ भने पनि उनीहरूले माइन्ड गर्दैनन् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया