सिनेमा

संगीताको ‘आइसक्रिम’ अफ्रिकन फिल्म फेस्टिभलमा

इकागज |
कात्तिक १४, २०७७ शुक्रबार १२:४१ बजे

काठमाडौं : यौन उत्पीडनलाई विषय बनाएर चलचित्र ‘कथा काठमाडौं’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा छानिएको छ ।  नोभेम्वर ३ मा देखि सुरु हुने फेस्टिभलको पहिलो दिन नै फिल्म प्रदर्शन हुनेछ । 

कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिङ हुने श्रेष्ठले बताइन् । ‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट हुँदा एकदम खुशी छु,’ उनले भनिन्, ‘मैले उठान गरेको विषय संसारभर पुग्दैछ । निकै उत्साहित पनि छु ।’


फिल्ममा सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा समेटिएको छ । समाजको अँध्यारो पक्षलाई समेटेर आफूले चलचित्र बनाएको श्रेष्ठले बताइन् । ‘ आइसक्रिम’ले हाम्रो समाजका छोरीहरू बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । फेस्टिभलको मुख्य उद्देश्य पनि यस्तै कथामा बनेका चलचित्रलाई स्थान दिने रैछ, ’ श्रेष्ठले भनिन् । 

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा पनि छनोट भइसकेको छ । 

नौ मिनेट लामो फिल्ममा योगिशा खत्रीले मुख्य भूमिका निभाएकी छन् । संगीताले ‘कथा काठमाडौं’ बाहेक थुप्रै म्यजिक भिडियो, वृत्तचित्र तथा लघु चलचित्र निर्देशन गरेकी छन् । चलचित्र बाल यौन शोषणमाथि आधारित छ । ३ नोभेम्बरदेखि सुरु भएको फेस्टिभल ८ मा सकिनेछ ।


Author

थप समाचार
x