सिनेमा

नेपाली चलचित्रमा मौलिकता छ कि छैन ?

इकागज |
माघ २८, २०७७ बुधबार १७:८ बजे

काठमाडौँ :  पछिल्लोसमय नेपाली चलचित्र क्षेत्रलाई एउटा आरोप लाग्‍ने गरेको छ । त्यो हो- ‘नेपाली चलचित्र क्षेत्रले मौलिकता गुमायो’ तर फिल्म निर्देशक प्रदीप श्रेष्ठ नेपाली चलचित्र क्षेत्रले मौलिकता नगुमाएको दावी गर्छन् । पशुपतिको गोरखनाथ मन्दिरमा विश्‍व हिन्दु युवा संघले मंगलबार ‘नेपाली चलचित्रमा मौलिकता’ विषयमा गरेको कार्यक्रममा निर्देशक श्रेष्ठले नेपाली चलचित्रमा मौलिकतासँगै लिएर हिँडेको दाबी गरे । 

‘जीवनरेखाबाट व्ल्याकसम्म आइपुग्दा मैले मौलिकता अंगालिरहेकै छु । नेपाली कला संस्कृति, भेषभुषालाई अगाडि बढाएको छु । तर हेर्दा त्यसमा मौलिकता छैन जस्तो लाग्छ,’ उनले भने, ‘हामीले चलचित्रमा भाषा नेपाली नै प्रयोग गर्छाैँ । जुन समाजमा छौँ, त्यही समाजभित्र भइरहेको बोलीचालीका भाषा, घटनाक्रम प्रयोग गरिरहेका छौँ । त्यो पनि एक किसिमको मौलिकता हो । सायद हेर्ने दृष्टिकोणहरू अलि फरक छ । चमक मात्रै याद भएकोले मौलिकता नदेखिएको हुन सक्छ ।’ 


उनका अनुसार विश्वको सबै चलचित्रहरु मौलिकताको आधारमा नै बनेको छ । चलचित्रको अन्त्यमा जहिले पनि जीत ‘हिरो’को हुने उल्लेख गर्दै उनले भने, ‘सत्य भनेकै ‘हिरो’ हो । पाश्‍चात्य चलचित्रमा नकारात्मक चिजले जितेको देखिएला, तर अपबादलाई छोडेर कुरा गर्ने हो भने सत्यको विजय भएको देखिएको छ र त्यो सत्य भनेको नै मौलिकता हो ।’ 

निर्देशक श्रेष्ठका अनुसार चलचित्र क्षेत्र कला, साहित्य, संगीत र व्यवसाय जोडिएको हुन्छ र व्यवसायिकता आम दर्शकको रुचीमा रहन्छ । जसरी मानव सभ्यता परिवर्तन जसरी भइरहेको छ, त्यो सभ्यतालाई पनि त्यसरी नै विश्‍वास गरी अगाडि बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए । सामाजिक परिवर्तन, प्राविधिक परिवर्तनले मौलिकता नदेखिएको हुन सक्ने उल्लेख गर्दै उनले अहिले पनि नेपाली चलचित्र मौलिकतामा अडिएको दाबी गरे । 

कार्यक्रममा फिल्म निर्देशक दशरथ गिरीले भने फरक मत प्रस्तुत गरे । उनले भने, ‘हाम्रो मौलिकता कहीँ गएको छैन, हामीले मौलिकता विर्सेको छौँ ।’ नेपालीले गर्भमा हुँदा देखि नै आयातित चिजको प्रयोग गर्न थालेको उल्लेख गर्दै उनले अहिले पनि नेपाली चलचित्र क्षेत्र पनि आयातित चिजमा रमेको बताए । 

‘हामी, हाम्रा बाआमा, छोराछोरीले हिन्दी सिनेमा, सिरियल, कार्टुनहरूबाट हिन्दी भाषा सिक्यौँ । भाषा र बौद्धिकताको प्रसार गर्न यि राम्रा माध्यम हुन्,’ उनले भने, ‘हामीले नेपाली बोलीमा चलचित्र बनाएका छौँ, तर हाम्रो संस्कृतिमा के छ, भनेर कहिल्यै देखाएका छैनौँ ।’ गोरखनाथ, प्रकट भएको दिनको अवसर पारेर मंगलबार बिहान गोरक्ष होम र दिउँसो पूर्वीय दर्शनको प्रवचन-भजन कार्यक्रमसमेत भएको थियो । 

 


Author

थप समाचार
x