सिनेमा

पाइरेसीको मारमा ‘छ माया छपक्कै’, पीडित निर्माता भन्छन्, ‘प्रहरीले चासै दिँदैन’

इकागज |
कात्तिक १६, २०७७ आइतबार १४:६ बजे

काठमाडौं : दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ पाइरेसीको मारमा परेको छ । हाल चलचित्र टिभी एपमा उपलब्ध रहेको फिल्म त्यहीँबाट पाइरेसी भएको हो । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म पाइरेसी भएको पुष्टि गरे ।

‘पाइरेसी भएको हो । प्रहरीमा उजुरी दिएका छौं । पाइरेसी गर्ने मान्छे खोज्ने क्रम जारी छ,’ उनले भने । दीपकका अनुसार फिल्म सबैभन्दा पहिला कपिराइट अल सङ च्यानलमा देखिएका थियो । 


‘छ माया छपक्कै’को पाइरेसीले नेपालमा ओटिटी (ओभर दि टप) को भविष्यलाई गम्भीर छलफल गर्नुपर्ने आवश्यकता महसुस भएको सरोकारवालाहरूले बताएका छन् । लकडाउनको समयमा नेपाली फिल्म पनि ओटिटीतर्फ लाग्न ढिला भइसकेको निष्कर्ष निकाल्ने गरिएको थियो । तर, दीपकराज गिरी यसैगरी ओटिटीका फिल्म पाइरेसी हुने हो भने निर्माता युट्यबतर्फ नै फर्कने चिन्ता व्यक्त गर्छन् । 

‘हलमा फुटफल कम हुने कारण युट्युब भएको निष्कर्षसहित युट्युबमा फिल्म नहाल्ने निर्णय गरेका थियौं । तर, यस हिसाबले ओटिटीमा फिल्म हाल्नु सुरक्षित देखिएन,’ उनले भने । 

ओएसआर इन्टरटेनमेन्टका ओम अग्रवालले पनि ओटिटीमा फिल्म राख्दा यस्तै अनुभव संगालेका छन् । भिडियो पसलमा राखेको फिल्म ‘जात्रै जात्रा’ हप्ता दिनमै पाइरेसी भएपछि उनले ओटिटीबाट फिल्म नै हटाएको बताए ।

‘हेर्नलाई राम्रै संख्या हेरिरहेका थिए । तर, हप्ता दिन नबित्दै फिल्म पाइरेसी भयो,’ अग्रवालले भने, ‘ पाइरेसी गर्ने २२ जनाको नामसहित प्रहरीमा उजुरी दिएँ । तर, प्रहरीले ध्यानै दिँदैन ।’ अग्रवालका अनुसार उनले डिजिटल अधिकार लिएका ‘क्याप्टेन’, ‘कबड्डी ३’को पनि पाइरेसी भएको छ । 

ऋहिले ओटिटीबाहेक मल्टिसिस्टम अपरेटर्समा पनि नेपाली फिल्म चलाउने चलन छ । यसअन्तर्गत रहेका डिसहोम, नेटटिभी, भायो टिभी आदिले पनि नेपाली फिल्म चलाउँछन् । तर, यताबाट पाइरेसी हुने सम्भावना कम हुने दीपक बताउँछन् ।

‘जस्तो डिसहोममा छक्का पञ्जा ३ एक महिना चल्यो । तर, पाइरेसी भएन । किनकि यहाँ कसैले रेकर्ड गर्यो भने कुन बक्सबाट रेकर्ड भएको हो सजिलै ट्रयाक हुन्छ,’ दीपकले भने । विगतमा फिल्म पाइरेसीका थुप्रै घटना प्रहरीसम्म पुगे पनि थोरै घटनामा मात्र प्रहरीले सफलता पाएको छ । 


Author

थप समाचार
x