सिनेमा

अनमोलसँगको ‘एन्टि हिरो’ पछि मात्र जसिताले नयाँ फिल्म गर्ने

इकागज |
फागुन १४, २०७७ शुक्रबार १२:५९ बजे

काठमाडौं : ‘आइ एम ट्वान्टी वान’को सुटिङ सके पछि फुर्सदिली बनेकी जसिता गुरुङले अब कुन फिल्म गर्लिन् ? धेरैलाई चासो छ । कति निर्माता त जसितालाई आफ्नो फिल्ममा लिन पनि दौडधुप गरिरहेका छन् । तर, जसिताले अनमोल केसीसँग ‘एन्टि हिरो’ गरे पछि मात्र नयाँ फिल्म साइन गर्ने जनाएकी छिन् ।

निर्माता भुवन केसीले जसितासँग ‘एन्टि हिरो’ पछि मात्र नयाँ फिल्म गर्ने कुराकानी भएको इकागजसँग बताएका छन् । निर्माता भुवन केसीले ‘पारस’ बनाउने निर्णय गर्नु अघि अनमोल र जसितालाई लिएर ‘एन्टि हिरो’ बनाउने घोषणा गरेका थिए । यसका लागि निर्देशक र छायांकारसमेत भारतबाट आइसकेका थिए ।


तर, स्क्रिप्ट चित्त बुझ्दो नभएपछि तत्कालका लागि यो फिल्मको सुटिङ अगाडि बढ्न सकेको थिएन । निर्माता केसीले यही बीचमा माधव वाग्लेले बनाउन लागेको ‘पारस’को स्क्रिप्ट किनेर यो फिल्मको तयारी गरेका थिए जुन फिल्म वैशाख तेस्रो साताबाट फ्लोरमा लैजाने तयारी भइरहेको छ ।

यही बीचमा जसिताले ‘एन्टि हिरो’को विषयमा जिज्ञासा राखेपछि निर्माता केसीले ‘पारस’को  सुटिङपछि ‘एन्टि हिरो’को काम थाल्ने जवाफ दिएका थिए । यदि ‘पारस’ लगत्तै ‘एन्टि हिरो’को सुटिङ हुने हो भने बीचमा आफूले कुनै फिल्म साइन नगर्ने जसिताको योजना छ । 

‘लिलीबिली’बाट नेपाली फिल्ममा डेब्यु गरेकी जसिताले यसपछि ‘लभ स्टेसन’मा काम गरेकी थिइन् । लन्डन बस्ने जसिताको ‘आइ एम ट्वान्टी वान’को डबिङ सकाएर लन्डन जाने र प्रचारप्रसारका लागि फर्कने कार्यतालिका रहेको छ । 


Author

थप समाचार
x