भारतीय सोको फ्रेन्चाइज लिने होडबाजी : दर्शकको माग कि टेलिभिजनको रहर ?
फ्रेन्चाइज लिन कति पैसा लाग्छ ?
काठमाडौँ : अघिल्लो मंगलबार रवि लामिछाने प्रबन्ध निर्देशक भएको नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोर के’ टेलिभिजनको भव्य घोषणा कार्यक्रम भयो । तर, पहिलो गाँसमा ढुंगा भनेझैं कार्यक्रमको जानकारी दिने पोस्टर नक्कली निस्कियो । टेलिभिजनले कार्यक्रमबारे जानकारी दिन बनाएको पोस्टरमा राखिएको सनसेटको दृश्य अरू कसैले तयार गरेको थियो । महावीर पुनले चलाउने कार्यक्रमको ‘आविष्कार’मा राखिएको फोटो पनि अरबतिरबाट लिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो ।
लोगोको विवाद चलिरहँदा रवि लामिछानेकै कार्यक्रम पनि चोखो रहेन । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम न्युज २४ टीभीलाई छाडेका रविले ‘सिधा कुरा...’ नाममा कार्यक्रम बनाउने घोषणा गरेका थिए । तर, यो कार्यक्रममा पनि क्यापिटल एफएम र क्यापिटल टीभीमा कार्यक्रम चलाउने कृष्ण तिमल्सिनाले आफ्नो कपीराइट दाबी गरेका छन् । उनले आफूले ‘सिधा कुरा’ एफएम र टेलिभिजनमा १० वर्षयता चलाइरहेको फेसबुकमा लेखेका छन् । तर, आफैंमा पनि यो कार्यक्रम मौलिक भने होइन । भारतमा आजतक टीभीले १२ वर्षयता ‘सिधी बात’ नाममा कार्यक्रम चलाइरहेको छ ।
नक्कल त नभनौं तर परनिर्भरताको समस्या यहीँ सकिँदैन । टेलिभिजनमा आउने भनेर घोषणा भएका अधिकांश कार्यक्रम भारतीय छन् । नेपालका मनोरञ्जनका हस्तीले चलाउने भनेका कार्यक्रम भारतमा चलेर स्थापित भएका कार्यक्रमका फ्रेन्चाइज हुन् । टेलिभिजनले घोषणा गरेका ‘रामायण’, ‘क्राइम पेट्रोल’, ‘को बन्छ करोडपति’, ‘सारेगामापा लिटिल च्याम्स’ सबै भारतीय सोका नेपाली रूपान्तरण हुन् ।
नयाँ टेलिभिजनलाई मात्र होइन, पुराना टेलिभिजनलाई पनि यतिबेला दर्शक बोलाउन भारतीय टेलिभिजनकै कार्यक्रमको शरण पर्नुपरेको छ । भारतमा स्थापित सोको प्रसारण अधिकार लिएर नेपाली टेलिभिजनले टीआरपीमा सुधार गर्ने अभिलाषा राख्ने गरेका छन् । कति टेलिभिजनले भने फ्रेन्चाइज लिएका छैनन् तर कार्यक्रमको ढाँचा तथा प्रस्तुति भारतीय सोसँग हुबहु मिल्छ ।
‘ग्यालेक्सी फोर के’ले हिन्दीमा प्रसारण भएको ‘रामायण’लाई नेपालीमा अनुवाद गरेर प्रसारण गर्न लागेको हो भने ‘क्राइम पेट्रोल’लाई भने ‘रिक्रिएट’ गर्न लागेको हो । यो सो सोनी टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । राजेश हमालले चलाउन लागेको ‘को बन्छ करोडपति’ भने एपीवान टेलिभिजनबाट पहिलो सिजन प्रसारण भइसकेर दोस्रो सिजनका लागि यता आएको हो । यो पनि सोनी टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘कौन बनेगा करोडपति’को नेपाली रूपान्तरण हो ।
ग्यालेक्सीले जीटीभीबाट प्रसारण भएको सारेगामाको बच्चा भर्सनको पनि अधिकार लिएर प्रसारण गर्ने घोषणा गरेको छ । अहिले नेपाली टेलिभिजनमा बाहिरिया कार्यक्रमलाई महत्व दिने लहर चलेको छ । तर, चल्तीका टेलिभिजनमा भने मनोरञ्जक कार्यक्रममा भने भारतीय सोकैे फ्रेन्चाइजको दबदबा छ ।
एपीवान टीभीमा आउने ‘नेपाल आइडल’, हिमालय टीभीमा आउने ‘रोडिज’, ‘दि भ्वाइस अफ नेपाल’, ‘डान्सिङ विद दि स्टार्स नेपाल’ भारतीय सोकै अनुकरण हुन् ।
अहिले नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘मुन्द्रेको कमेडी क्लब’ र कान्तिपुर टीभीबाट प्रसारण भइरहेको ‘कमेडी च्याम्पियन’ कुनै भारतीय सोका आधिकारिक फ्रेन्चाइज हैनन् तर दुवै कार्यक्रम नक्कलको आरोपबाट बच्न सकेका छैनन् ।
प्रस्तोता जितु नेपाललाई ‘मुन्द्रेको कमेडी क्लब’लाई ‘कपिल शर्मा सो’को नक्कल गरेको आरोप छ भने ‘कमेडी च्याम्पियन’ पनि भारतकै सहारा टेलिभिजनमा सोही नाममा प्रसारण भएको कार्यक्रम हो । पछि यही प्रकृतिको कार्यक्रम ‘कमेडी सर्कस’को नाममा सोनीमा पनि १० वर्षसम्म प्रसारण भएको थियो । कपिल शर्मा यही प्रतियोगिताबाट चर्चामा आएका हुन् ।
नेपालमा अहिले घोषणा भइनसके पनि ‘बिग बोस’ र ‘खतरों के खिलाडी’ ल्याउने तयारी पनि चलिरहेको छ । कुन टेलिभिजनले ती कार्यक्रम भित्र्याउने भन्ने चाहिँ निधो भइसकेको छैन ।
भारतीय सोको फ्रेन्चाइज लिन टेलिभिजन सञ्चालकको दौडधूपले आकर्षणको कथा त बताउँछ तर ३५ वर्ष लामो नेपालको टेलिभिजन इतिहासमा यस्ता कार्यक्रममा नेपाल आफैँ आत्मनिर्भर हुनुपर्ने समयमा झन् परनिर्भरता किन बढिरहेछ भन्ने कुरा बताउँदैन ।
वि.सं २०४५/२०४६ मा ‘प्रतिभाको डबली’ शीर्षकको लोकप्रिय नाममा कार्यक्रम चलाएका संगीतकार शम्भुजित बाँस्कोटा नेपालमा रचनात्मक कार्यक्रम निर्माता नहुँदा आयातमा भर पर्नुपरेको बताउँछन् । बाँस्कोटा भन्छन्, ‘प्रतिभा चिनाउने काम म नराम्रो त भन्दिनँ तर सरासर नक्कल मात्रले त राम्रो गर्छ जस्तो लाग्दैन । यो त ए फर एप्पल मात्र हुन्छ भनेर सिकाए जस्तो हुन्छ । कसैले पनि निखारिने मौका पाउँदैनन् ।’ उनले भारतबाट आएका सो प्रस्तुतिमा मात्र हैन रूप रङमा पनि दुरुस्त हुँदा ‘के घर के डेरा’ भन्ने जस्तो लाग्ने बताए ।
‘कार्यक्रमको फम्र्याट मात्र हैन हरेक कुरा जस्ताको तस्तै हुन्छ । यही क्रम चलिरहने हो भने मलाई लाग्छ कुनै दिन नेपाल–भारतमैत्री शीर्षकमा यस्ता कार्यक्रम हुन थाल्छन्,’ उनले भने, ‘भाषा–संस्कृतिको मौलिकताको बहस चलिरहँदा हामीले यस्ता कुरामा पनि मौलिकताको ख्याल गर्नुपर्ने हो ।’
नेपाल टेलिभिजनका वरिष्ठ कार्यक्रम निर्माता रवीन्द्र घिमिरे पनि बजारमा पर्याप्त कार्यक्रम निर्माता नहुँदा दर्शकले नयाँ अवधारणाका कार्यक्रम हेर्न नपाएको सकार्छन् । तर, उनले नेपाल टेलिभिजनले मौलिक कार्यक्रम नै गरिरहेको दाबी गरे ।
‘हामीले समय बेचेका कार्यक्रमका कुरा नगरौं किनकि त्यसमा हाम्रो पूर्ण नियन्त्रण हुन्न । तर नेपाल टेलिभिजन आफैंले निर्माण गरिरहेका कार्यक्रम मौलिक नै छन्,’ उनले दाबी गरे, ‘छमछमी, नेपाल स्टार जस्ता कार्यक्रम हामीले कतैबाट ल्याएका हैनौं । आफ्नै हुन् ।’ उनले नेपाल टेलिभिजनले चाँडै ‘लोक दोहोरी च्याम्स’ शीर्षकको कार्यक्रम गर्न लागेको जानकारी गराए ।
‘भ्वाइस अफ नेपाल’को फ्रेन्चाइज चलाइरहेका सुशील नेपाल भने फ्रेन्चाइज लिँदा नेपाली कलाकार तथा प्राविधिकको दक्षता बढ्ने तर्क गर्छन् । उनले विश्वले रुचाएको फम्र्याटमा काम गर्दा स्वतः त्यसमा संलग्न मान्छेको क्रिएटिभिटी बढ्ने जिकिर गरे ।
‘फ्रेन्चाइज भनेको दुनियाँले सकारेको र रुचाएको कार्यक्रम हो । अब त्यही स्ट्यान्र्डड पूरा हुने गरी काम गर्नुपर्दा हामी सबैको स्तर स्वतः बढ्छ । म त यसमा केही खराबी देख्दिनँ,’ सुशीलले भने ।
फ्रेन्चाइज लिन कति पैसा लाग्छ ?
सुशील नेपाल फ्रेन्चाइज लिन भने आआफ्नो डिलमा भर पर्ने बताउँछन् । उनका अनुसार कुनै सोको पैसा कम हुन्छ त कसैको धेरै । कार्यक्रमको लोकप्रियताका आधारमा मात्र यसको रकम तय गरिने बताउँछन् ।
तर, फ्रेन्चाइज लिन तिरिने पैसाले धेरै कुराको खर्च घट्ने बताउँछन् । उनका अनुसार कुनै पनि सोका लागि चाहिने प्रोग्राम आइडी, लोगो, डिजाइन आदिमा लाग्ने खर्च फ्रेन्चाइजको रकममा आउँछ । त्योबाहेक युटुयुबमा कार्यक्रम राखेबापत आउने कमाइ पनि बाँडफाँड गर्नुपर्ने हुन्छ । उनले नेपालमा आएका फ्रेन्जाइजले ४० हजार डलर देखि ५० हजार डलरसम्म खर्चने बताउँछन् । नेपालको यति ठूलो रकम बाहिर पठाउनुभन्दा नेपालमै खर्च गर्ने हो भने यहाँ ४०–५० सिपालु व्यक्ति/परिवारमा केही धन त भित्रिन्छ नि ।
फ्रेन्चाइज लिनुको मतलब हो सफलतालाई दोहोर्याउनु वा नक्कल गर्नु । तर यो अनुभवले आशा गरौं भोलि मौलिक कार्यक्रम उत्पादनका लागि प्रेरित गर्ला । तर, नेपाली फिल्मको इतिहास हेर्ने हो भने चाहिँ यो ‘आशावाद’मा पुनर्विचार गर्नुपर्ने हुन्छ ।
हिजोको दिनमा नेपाली फिल्मले पनि बलिउडका चलेकै फिल्मको नक्कल गरेको हो तर यसले नेपाली फिल्ममेकरलाई कालान्तरमा फाइदा पुर्याएन । यसो होइन कि नेपाली टेलिभिजनहरू सधैँ नै नाम मात्रका नेपाली हुन् । कुनै समय ‘आँगन’, ‘मेरो गीत, मेरो सन्देश’, ‘तिम्रो सुर, मेरो गीत’, ‘सिर्जनाको आँगन’, ‘खोजी प्रतिभाको’ जस्ता कार्यक्रम थिए, जहाँ मौलिकता र नेपालीपन भेट्न सकिन्थ्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया