सिनेमा

‘ह्रस्व–दीर्घ’ निर्देशन गर्ने निर्णयबाट पछि हटिन् नीता, चन्द्र पन्तले निर्देशन गर्ने

इकागज |
चैत ४, २०७८ शुक्रबार ११:३१ बजे

काठमाडौँ - अभिनय र निर्देशकको दोहोरो जिम्मेवारी निर्वाह गर्न लागेकी नीता ढुंगानाले निर्देशनबाट भने हात झिकेकी छिन् । उनले निर्देशकको अभिभारा चन्द्र पन्तलाई सुम्पिएर अभिनयमा मात्र फोकस हुने भएकी छिन् । अब ‘ह्रस्व–दीर्घ’ चन्द्र पन्तले निर्देशन गर्नेछन् । 

तीन चारमहिनापछि सुटिङमा जाने फिल्मका लागि नीता स्वयं पछिल्लो विकल्प थिइन् । हरिहर अधिकारी र नीता मिलेर बनाउन लागेको यो फिल्मको निर्देशनका लागि रामजी लामिछाने, झरना थापा, सुदर्शन थापासम्मको नाम चर्चा थियो । हरिहर र नीताले यी सबैलाई निर्देशनका लागि कुरा गरेका थिए । तर कसैसँग पनि कुरा नमिलेपछि नीता स्वयं निर्देशक बन्न कस्सिएकी थिइन् । तर अन्ततः उनले यो जिम्मेवारी पन्ततर्फ सारेकी छिन् । 


यो फिल्मको छायाँकारको रुपमा सञ्जय लामा रहनेछन् भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी रहेको छ । नीताले चन्द्र पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । यही फिल्ममा काम गर्दाको विश्वासमा नीताले आफूले बनाउन लागेको फिल्म चन्द्रलाई निर्देशन गर्न दिएकी हुन् । अमेरिकामा बस्दै आएका चन्द्र फिल्म साइन गरे लगत्तै अमेरिका फर्की सकेका छन् । 

ज्योतिषसमेत रहेका हरिहरले यसअघि ‘शुभ लभ’बाट अभिनयमा डेब्यु गरेका थिए । दुई वर्षअघि भएको वीरगञ्जको एक महोत्सवबाट नजिकिएका हरिहर र नीताले यसअघि टेलिभिजन सो र एउटा म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।

हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् । नीता र हरिहरले गीतामाथि पनि फिल्म बनाउने घोषणा गरेका थिए । तर त्यो प्रोजेक्ट थाँती राख्दै दुवैले रोमान्टिक फिल्ममा काम गर्न लागेका हुन् ।


Author

थप समाचार
x