सिनेमा समीक्षा
‘चिसो एष्ट्रे’ : काठमाडौँको एब्स्ट्रयाक्ट चित्रण
सहरसँगको अफेयरका कथामा संसारभर अनेक सिनेमा बनेका छन् । तर अफेयरका कथाको दुःख यही हो कि यस्ता कतिपय अफेयर सुखान्तभन्दा दुःखान्त नै हुन्छन् । अझ यसमा ‘प्रेमको असली मज्जा पाउनुमा भन्दा गुमाउनुमा छ’ भन्ने हरुवा टाइपका कोटेसन थपेपछि ‘लुजर’ प्रेमी पनि आफूले खतरा प्रेम गरेको भ्रम बोकेर दंग पर्छन् ।
‘चिसो एस्ट्रे’ काठमाडौँसँग अफेयरमा परेका यस्तै ‘लुजर’हरूको कथा हो । अफेयरमा चोट खानेमा छन् मदन (दिव्य देव), रोनी (निकुन श्रेष्ठ), ज्याकी (नवीन लम्साल), शालीनता (सृष्टि श्रेष्ठ) अनि बिक्की भेजा (सुशील पाण्डे) र बबि दाइ (रविन तामाङ) ।
तर काठमाडौँ सहरसँग अफेयर गर्न हिँडेको मदन कथाको केन्द्रमा छ । काठमाडौँ आफैँ सपनाको चाङ बोकेर बसेको भए पनि बाहिरका लागि यो ‘मिराज’ हो । केही न केही आस देखाइरहन्छ । यही आसमा मोफसलबाट कलंकीमा इन्ट्री हानेको हो, मदनले ।
तब न ऊ भन्छ ‘आँखामा आगो, ओठभरि ज्वाला बोकी एक दिन मैले पनि कलंकीमा इन्ट्री हानेँ ।’ तर फिल्मको मध्यतिर आइपुग्दा लाग्छ, उसले कलंकीमा इन्ट्री नहानेकै जाती थियो । हानिहाले पनि कम्तीमा भूपी (भूकम्प पीडित) गल्ली र डाउनलोड गल्लीका रैथाने ज्याकी र रोनीसँग भेट नभएको भए हुन्थ्यो । तर फिल्म फिल्म हो, हामीले भनेको के खान हुन्न्थ्यो ? यसरी मदनले कलंकीमा इन्ट्री हानेर ज्याकी र रोनी भेटेपछि के–के हुन्छ ? यही ‘चिसो एष्ट्रे’को सवा दुई घन्टाको कथा हो ।
सिनेमा भूपीको चार भञ्ज्याङ काठमाडौँ खाल्डो विम्बको लय समातेर अगाडि बढेको छ । तर ५० वर्षअघि भूपीले छाडेको भञ्ज्याङमा सायद हिप्पीहरूले छाडेर गएको पश्चिमी संस्कृति हलक्क बढेर झाँगिएको छ । यसमा भूपी गल्ली र डाउनलोड गल्लीमा बस्ने ज्याकी र रोनी त भइहाले गाउँबाट आएको मदन पनि यसको प्रभावबाट अछुतो छैन । पाइरेटेड सपना देख्न थालेको मदन पनि मार्टिन स्कोरसिजको ट्राभिस बिकेल (रबर्ट डि निरो, ट्याक्सी ड्राइभर) को नक्कल गर्ने भइसकेको छ । रबर्ट डि निरोले झैँ ट्याक्सी चलाउँछ र ऐनामा आइकोनिक डायलग उसकै शैलीमा बोल्ने प्रयास गर्छ, ‘यु टकिङ टु मी !’
तर कहाँ भियतनाम युद्धको आघातमा परेर राति सुत्न नसकेर ट्याक्सी चलाउन आइपुगेको ट्राभिस अनि कहाँको मदन ? तर निर्देशकले मदनमा आधुनिकताको प्रभाव देखाउन ट्राभिसको नक्कल गराएको अर्थपूर्ण छ । किनकि प्रभाव वा नक्कल यस्तै हुन्छ । कता कता के–के नमिलेको । यसमा मिलेको कुरा के हो भने मार्टिन स्कोरसिजले जसरी न्युयोर्क सहरलाई ड्राइभरको आँखाबाट घुमाएका थिए, यसमा निर्देशक दिन्स पाल्पालीले काठमाडौँ खाल्डो घुमाएका छन् ।
सिनेमाले सब टेक्स्टमा भन्न खोजेको कथा पनि यही हो । हामी पाइरेटेड चिजबाट टाढा बसेकै बेस । चाहे त्यो सामान होस् चाहे जीवन । तर यही कुरा भन्न निर्देशकले जुन संसार कल्पना गरेका छन्, त्यो सबैलाई घत नपर्न पनि सक्छ ।
‘आँखामा आगो र ओठभरि ज्वाला बोकेर’ चार भञ्ज्याङ छिर्ने युवाहरू चिसो एस्ट्रेमा परिणत हुने कथा देखाउन निर्देशकले ग्याङस्टरको दुनियाँ कल्पना गरेका छन् । उही पाइरेटेड फिल्म हेर्नेलाई यो दुनियाँ घत पर्ला तर मनाङ–मुस्ताङका हिम ताल र हरिया चौर र डाँडाकाँडा हेर्ने बानी भएका दर्शकलाई निर्देशकको यो छनौट कसो कसो लाग्न सक्छ । यो दर्शकको चिन्ताभन्दा पनि मद्यपान र धूमपानमा राखिने वैधानिक चेतावनी जस्तै हो । जुन तपाईँ मान्न पनि सक्नुहुन्छ र नमान्न पनि ।
यो सिनेमाको बिझाउने भन्ने कि कमजोर पक्ष के हो भने यसले चरित्र स्थापनामा पूरा घन्टा खर्चिएको छ । पात्रहरू पहिलो हाफभरि एकै खाले गतिविधि गरिरहन्छन्, द्वन्द्वको बलियो उपस्थिति छैन । यसले रोलर कोस्टर राइडको अपेक्षा पूरा गर्दैन । कम्तीमा यो विधाको फिल्ममा यो राइडको अपेक्षा राखिन्छ । फिल्म यहीँनेर लड्खडाएको छ ।
संसारभरि नै साहित्य र सिनेमा हिँड्दा हिँड्दा छुटेका दोबाटो जस्तो होइनन् । नेपालमा पनि साहित्य र सिनेमाको सम्बन्ध पुरानो हो तर बीचमा साहित्यमाथि सिनेमा बन्ने क्रम पनि रोकिएन तर यिनले मर्म नसमातेको आलोचना चिर्न सकेनन् ।
नेपाली उपन्यास, कथा, नाटकमा आधारित भएर सिनेमा बने पनि कवितामा आधारित भएर सिनेमा बनेको यो पहिलो पल्ट हो । कवितामा आजभोलि गीतसमेत बनाइँदैन । बरु पहिले पहिले ‘कुन मन्दिरमा जान्छौ यात्री’, ‘मेरो प्यारो ओखलढुंगा’ जस्ता सीमित क्लासका लागि लेखिएका कविता रञ्जीत गजमेर, रविन शर्मा, नारायणगोपालको संगीत–स्वरको बुई चढेर मासमा पनि लोकप्रिय भए । तर, अचेल यस्ता संगीतकार, गायक कहाँ पाउनु ! कविताले संगीतकार नपाए पनि अब सिनेमा निर्देशक, निर्माता, कलाकार पाएको छ ।
नेपाली कविता पढालेखा समूहले मात्र पढिरहेको समयमा गोपालप्रसाद रिमालले खनेको मुक्त छन्द कविताको गोरेटोलाई भूपीले कालो पत्रे गरेका थिए । कालान्तरमा भूपी शेरचन यस्ता कवि बने जसका कविता वा कवितांश उखान टुक्का जसरी लोकप्रिय भए । चाहे ‘हल्लै हल्लाको देश’, चाहे ‘मेरो चोक’, चाहे ‘क्यारेमबोर्डका गोटी’ । ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए’, ‘मरेर सहिद हुनेहरू जिएर त हेर’ भूपीका हरेक लाइन कोटेसन हुन् ।
थकाली समुदायमा जन्मेर, बनारसमा पढेर काठमाडौँको कवितात्मक सत्तामा भूपीले बेग्लै छाँट दिए । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ साझा पुरस्कार पाउने पहिलो कृति थियो । यही संग्रहभित्रको छोटोमध्येको एक कविता ‘चिसो एस्टे«’को कवितामा २ घन्टा १५ मिनेटको सिनेमा नै बन्छ भन्ने सपनाको पनि कल्पनाको कुरा थियो ।
आगो र आक्रोशको धुवाँ लिएर सहर छिर्ने र निराशाको उच्छवास लिएर चार भन्ज्याङबाट बाहिरिने चिसा काँटीहरूको विम्बले काठमाडौँ सिटीको चिसोपन संकेत गर्छ । भूपीले कविता रचना गर्दा कल्पना गरेको काठमाडौँ सिटी र शुक्रबार सार्वजनिक भएको ‘चिसो एस्ट्रे’को कथाव्यथा एकै हो पनि र होइन पनि ।
२०७२ मा भुइँचालो गएपछिको कथावस्तुमा जसरी भूपी गल्ली भनिएको छ यसले एकसाथ भूपी र भूकम्प पीडितको अर्थ बोकेको छ । यो पोस्टमोर्डन एप्रोचबाट खिचिएको सिनेमा हो । यसमा अर्थको केन्द्रीयताभन्दा अर्थको बहुलता हुन्छ । भग्न संरचनाको डिकन्स्ट्रसन नै एउटा कन्स्ट्रक्स हो । भूपीको कविता यो शैलीमा पर्दामा आउनु नै नयाँ संरचना हो, विनिर्माण हो । यो नै सिनेमाको सबैभन्दा सुन्दर पक्ष हो ।
दर्शकको रुचि र अरुचि, योग्यता र पृष्ठभूमिका आधारमा विम्ब–प्रतीकको अर्थ संकुचन र विस्तार हुन्छन् । हर वस्तु, शब्द वा मोन्टाजको अर्थ एकै होइन, लाद्ने पनि कसैले होइन, हर दर्शक आफ्नो आफ्नो शैली र स्तरमा बुझ्न स्वतन्त्र छन् ।
यो फिल्ममा पूर्वीय र पश्चिमा संस्कृति–संगीत–भाषाको फ्युजन छ । एकातिर लाखेको संगीत छ अर्कोतिर ‘पाखे’को दुःख छ । यहाँ पोस्टमोर्डन ल्यांग्वेजको विशृंखलित शृंखला पनि छ । हिरो बन्ने रहरमा गाउँबाट सहर छिरेको पाखे अप्ठेराहरूको संगीतमा लाखे जसरी झ्यामझ्याम रिंगिएको रिंगिएकै छ ।
एउटा डा«इभरको आँखाबाट कथावाचन गर्दा यसले जीवनको गतिशीलता संकेत गर्छ । मदनले भन्छ पनि ‘पहाडमा खोलाबाहेक केही पनि परिवर्तन हुँदैन ।’ तर शालीनताले ‘मलाई पुरानै मदन चाहिन्छ’ भन्दा यसले हाम्रो आफ्नैपनको वकालत गर्छ । जब मदन जीवनको गल्लीमा शालीन प्रस्तुत हुन्छ, तब मात्र उसलाई शालीनताको आलिंगन प्राप्त हुन्छ ।
फिल्मभरिे शालीनताले सेतो रंग बोकेर हिँड्छे । रुख काट्नेहरूलाई सचेत गराउन सेता पुतली टाँसी हिँड्नेबाहेक उसको परिधानमा पनि सेतो छुटेको छैन । सेतोलाई पवित्रता र निर्दोषपनको प्रतीक मानिन्छ । जतिबेला पनि आगो झोस्न तयार पुरुष पात्रहरूको भिडमा उसको उपस्थितिले शीतल गराउँछ । सिनेमा बिट मार्नुअघि निर्देशकले मदनलाई पनि ‘लङ’सटमा खुड्किला चढाउँदै शालीनताको अँगालोसम्म पुर्याएका छन् । तपाईंहरूले ख्याल गर्नुहोला, मदनले यो बेला सेतो सर्ट लगाएको छ ।
संसारभरि नै ग्लोबल वार्मिङको एजेन्डा प्रमुख एजेन्डा बन्ने गरेको छ । शालीनताको ह्वाइट बटर फ्लाई अभियानले अप्रत्यक्ष रुपमा हाम्रा वन जंगल नासिँदै गएको संकेत मात्र छैन, यसले प्रकृतिको महत्वको पनि वकालत गरेको छ ।
सिनेमामा पात्रहरू ‘रिडिम’ हुनुको ठूलो अर्थ हुन्छ । वास्तविक जीवनमा कतिपय मानिसहरू आफ्नो सिद्धान्तबाट टसमस हुँदैनन् । तर सिनेमामा हुन्छन् र दर्शकका रुपमा सिनेमामा हामीले पत्तै नपाई मनपर्ने चिज यस्तै हुन् । शालीनताले ‘पुरानै मदन भएर मात्र मलाई भेट्न आउनू’ भन्दै दिएको धम्की मदनले अन्तिममा पूरा गरेको हामीलाई रमाइलो लाग्छ ।
सिनेमा टुक्राटुक्रामा बाँचेको छ । फूल धागोमा उनिएर माला हुँदा मात्र सुन्दर हुँदैनन् ती एक्ला एक्लै रहँदा बरु जीवनसहित सुन्दर हुन्छन् । यस्ता केही दृश्य सिनेमाटिक ल्यांग्वेजमा सुन्दर छन् तर धेरै दृश्य अति सुन्दर छन् । जस्तो कि बबी दाइ र बिक्की भेजाको ‘कन्फ्रन्टेसन’को दृश्य अनि ज्याकी र मदनको झरीमा खिचिएको ‘डेन्जर फाइट’ । यो दृश्यमा निर्देशकले ज्याकीको नै ज्याकेट पहिराएर ज्याकीसँग भिडाएको दृश्यले निर्देशकलाई आफ्नो काम कति राम्ररी थाहा छ भन्ने कुराको छनक दिन्छ । अनि भन्नैपर्ने हुन्छ, नेपाली सिनेमाले निर्देशकको उपस्थिति देखेको एउटा सिनेमा ‘चिसो एष्ट्रे’ पनि हो ।
सिनेमा कलमले लेखे पनि क्यामेराले देखाइन्छ । क्यामेराको भाषा हुनुपर्नेमा फतरफतर बोली हुनु राम्रो मानिँदैन । यसमा मदनको आँखाको र शालीनताको ओठको अभिनय सुन्दर छ । पात्रता जीवन्त छ । दिव्य देवको अभिनय दिव्य छ । अभिनयभन्दा कम दिव्य छैन उनको भ्वाइस ओभर । यो सिनेमाको एउटा चरित्र दिव्यको आवाजमा गुञ्जने काव्यिक भ्वाइस ओभर पनि हो । भ्वाइस ओभरको प्रयोगका लागि यो सिनेमा कालान्तरमा पनि सम्झनामा रहिरहनेछ ।
जस्तो कि ः कहिलेकाहीँ चुरोट जलाउन कोरेको सलाइको काँटीले सहरका गल्लीहरु जल्दा रहेछन् ।
भन्छन् नि को गाउँले केटोलाई सहरको ठिटो हुने रहर हुन्न र, तर बन्ने त आखिर चुरोटको ठुटो नै हो ।
हत्केला भरी खरानी बोकी एक सर्को होस सम्हाली in the end I was bloody driving in the city.
यस्तै काठमाडौँका फोहोर गल्लीलाई आँखामा नबिझाउने गरी देखाउने उज्ज्वल बस्ताकोटीको छायांकन पनि तारिफ योग्य छ । दिव्यबाहेक कलाकार निकुन श्रेष्ठ, सृष्टि श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे र क्षणभरलाई देखिने रविन तामाङले आफ्नो चरित्र बाँचेका छन् । कम बोल्ने झिल्के बिक्की भेजा बनेका सुशील पाण्डे ‘लुट’पछि प्रभावशाली देखिएका छन् ।
सिनेमाका कुरुप पक्षजति मानवीय हुन् । सुन्दर पक्ष जति सांस्कृतिक र प्राकृतिक कुरा हुन् ।
अहिले युवा लागु पदार्थको दुव्र्यसनमा छन् । गाउँबाट आएका ‘पाखे’ कसरी यसको लतमा परेर बर्बाद हुन्छन्, संकेत गरिएको छ । संगीत (गीत–पाश्र्व संगीत) पनि यसको उल्लेख्य पाटो हो । कुनै पनि दृश्य किन र कसरी खिचिन्छ ? कुन रंग र कुन मुडमा भनिन्छ ? कुन स्वर र कुन संगीतमा भरिन्छ, त्यसले अर्थ राख्छ । यसअर्थमा ‘चिसो एस्ट्रे’ कम्तीमा सिनेमाका विद्यार्थीका लागि केस स्टडी हुन सक्छ ।
कविताका रुपमा हाल चर्चा बाहिर रहेको अर्थात् चिसो ठुटोजस्तो बनेको ‘चिसो एष्ट्रे’ कविता स्वयं यो सिनेमापछि तातो ‘चिसो एष्ट्र’े बनेको छ । उपत्यका काठमाडौंको कविता हो, सिनेमा । भूपीका अनन्य मित्र निबन्ध शिरोमणि शंकर लामिछानेको भाकामा भन्दा यस्तो कविता, काठमाडौँको ‘एब्स्ट्रयाक्ट चित्रण ः प्याज ।’ पत्रैपत्रमा प्याज छ, समग्रमा स्वाद छ तर बन्दागोभी जसरी भित्र केही छैन । र, केही नहुनुमै केही छ । भूपीले भनेकै छन्, ‘हामी केही पनि होइनौँ÷र सायद त्यसैले केही हौं कि!÷हामी कतै पनि, केही पनि छैनौं÷र सायद त्यसैले कतै, केही छौं कि!÷हामी बाँचिरहेका छैनौं÷तर सायद त्यसैले पो बाँचेका छौं कि !÷
यो सिनेमाले सिधै कुनै पाठ दिँदैन, यो पक्ष नै सिनेमाले दिएको सबैभन्दा बलियो पाठ हो । भारीभरकम उपदेश बोल्ने, नैतिक शिक्षा लाद्ने, रेडियो नाटक जसरी तमसुक टाइपका संवाद बोल्ने तर पूरा हेर्न गाह्रो हुने सिनेमाको भीडमा यो ठीक उल्टो छ । यही यो सिनेमाको बलियो पक्ष हो ।
लगभग १० वर्षअघि हाकु काले (सौगात मल्ल, लुट) ले काठमाडौँलाई गिद्धैगिद्धको सहरका रुपमा व्याख्या गरेको थियो । गिद्ध अर्थात जतिबेला पनि भोजनको खोजीमा हिँडिरहने हिंस्रक चरो । १० वर्षपछि मदन (दिव्य देव, चिसो एष्ट्रे)ले भने भूपी शेरचनको विम्ब समाउँदै काठमाडौँलाई जलेर ठुटो मात्र बाँकी रहेको ‘एस्ट्रे’को रुपमा परिभाषित गरेको छ । विश्व सिनेमामा भने सहरलाई माया गर्दै गर्दै ‘पेरिस आई लभ यु’, ‘बर्लिन आइ लभ यु’, ‘न्युयोर्क स्टोरिज’ ‘मुम्बई कटिङ’, आदि सिनेमा बनेका छन् ।
तर मदनले देखे÷भोगेको काठमाडौँ चिसो एस्ट्रे जस्तै छ । त्यसैले त दर्शकसँग बिदा माग्नुअघि मदन भन्छ, ‘यस्तै रह्यो यो सहरसँग अफेयर मेरो । यस्तै छ यो चार भञ्ज्याङ खाल्डो, चिसो एस्ट्रे जस्तो ।
मदनको अफेयर जे जस्तो होस् तपाईंलाई नयाँ कथावाचन भएको र प्राविधिक रुपमा एउटा बलियो नेपाली चलचित्र हेर्न मन छ भने यो चलचित्रसँग भने अफेयर गर्नसक्नु हुन्छ ।
लेखक/निर्देशक : दिन्स पाल्पाली
छायांकार : उज्जवल बस्ताकोटी
सम्पादन : उज्जवल ढकाल
कलाकार : रविन तामाङ, सुशील पाण्डे, दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया