धमाधम फिल्मको डिजिटल अधिकार किन्दै केन्द्र मोसन
काठमाडौँ - म्युजिक भिडियो निर्माणमा आक्रामक रुपमा लगानी गरिरहेको केन्द्र मोसन पिक्चर्सले फिल्मको डिजिटल राइट्समा पनि लगानी गर्न सुरु गरेको छ । केन्द्रले पहिलो चरणमा तीनवटा फिल्मको अधिकार किन्ने सम्झौता गरिसकेको छ ।
केन्द्रले सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’, मिलन चाम्स निर्देशित ‘अन्जिला’ र प्रदीप भट्टराईको निर्देशन रहने अनाम फिल्मको डिजिटल अधिकार किनिसकेको छ । केन्द्र प्रमुख कार्यकारी अधिकृत अरिवन पोमो लिम्बूले भविष्यमा आफैँ पनि फिल्म बनाउने र थप फिल्मको अधिकार पनि किन्ने योजना रहेको बताएका छन् ।
‘हामीले सम्झौता नै गरेको भनेको तीनवटा फिल्म हो । बाँकी चाहिँ हामी स्क्रिप्ट मनपर्यो भने आफैँ पनि बनाउने र फिल्म पनि किन्ने योजनामा छौँ,’ उनले भने । प्रदीप भट्टराईले निर्देशन गर्ने फिल्मको ना मभने तय भइसकेको छैन ।
केन्द्रले पल शाह र मल्लिकाको जोडीलाई लिएर पनि फिल्म बनाउन लागेको समाचार आएका थिए । लिम्बूले आफूहरूले आधिकारिक रुपमा कहिले पनि फिल्म बनाउने घोषणा नगरेको तर मिडियामा यत्तिकै आएको पनि उनले जानकारी गराए ।
पल र मल्लिकालाई लिएर केन्द्रले दर्जन हाराहारी म्युजिक भिडियो निर्माण गरेको थियो । यही भिडियोका प्रचार गर्ने क्रममा समाचारहरूमा पल र मल्लिकालाई लिएर केन्द्रले फिल्म पनि बनाउन लागेको समाचार आएका थिए । लिम्बूले चित्त बुझ्दो स्क्रिप्ट पाए फिल्म बनाउने भनेको तर त्यो अमूर्त कुरा रहेको स्पष्ट पारे ।
‘हामीले दुवैलाई लिएर गर्न मिल्ने खालको स्क्रिप्ट पाए फिल्म बनाउने सोच पनि बनाएका हौँ । तर गर्छौँ नै भनेर कतै घोषणा गरेका थिएनौँ । नत्र फिल्म बनाउने कुरामा हामी अहिले पनि अडिग नै छौँ,’ उनले भने । उनले अहिले पनि चित्त बुझ्दो स्क्रिप्ट खोजिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया