क्रिप्टोको प्रचार गरेको भन्दै प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान
काठमाडौँ - क्रिप्टोकरेन्सीको प्रचार गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभिनेत्री प्रियंका कार्कीसँग साेधपुछ गरिरहेकाे छ । सीआईबीका एसपी तथा प्रवक्ता श्यामकुमार महतोले आइतबार सीआईबीले सोधपुछ गरिरहेको पुष्टि गरेका छन् ।
‘उहाँले क्रिप्टोलाई प्रवर्द्धन गरेको पाइयो । यो सम्बन्धमा हामीले उहाँलाई बोलाएर सोधपुछ गर्ने काम गरिरहेका छौँ । अहिले उहाँले बयान दिइरहनु भएको छ,’ प्रवक्ता महतोले भने ।
प्रियंकाले केही दिनअघि आफूले पनि क्रिप्टोमा लगानी गरेको र अरुलाई पनि लगानी गर्न प्रेरित गरेको सामाग्री सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । तर नेपाल सरकारले क्रिप्टो लगायतका सामाग्रीमा नेपालीको लगानीलाई अवैध भन्दै कानुनी कारबाहीको व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले दुई महिनाअघि मात्र भर्चुअल करेन्सीले विदेशी मुद्रा अपचलन हुने भन्दै यो प्रकारको करेन्सीमा लगानी नगर्न विदेशमा रहेका नेपालीलाई समेत आग्रह गरेको थियो । यस्तो कारोबारमा संलग्न भएमा कानुनी कारबाही गरिने पनि राष्ट्र बैंकले चेतावनी दिएको थियो । हाल छोरी हुर्कारहेकी प्रियंकाले भ्लग बनाएर समय कटाउँदै आएकी छिन् । यही क्रममा उनले क्रिप्टोको पनि प्रचार गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया