‘२ नम्बरी’मा वर्षा आउट, उपासना इन
काठमाडौँ - ‘२ नम्बरी’ मा कलाकार फेरबदलको शृंखला जारी रहेको छ । सुटिङको मुखमा पल शाह प्रहरी हिरासतमा गएपछि हिरो परिवर्तन गर्न बाध्य भएको निर्माण टिमले हिरोइन पनि परिवर्तन गर्न लागेको छ ।
निर्देशक दीपेन्द्र लामाले वर्षाको समय र ‘२ नम्बरी’को सुटिङ समय जुधेकाले वर्षा पनि परिवर्तन गर्नुपर्ने समस्य आइपरेको बताए । वर्षाले ‘२ नम्बरी’ले मागेको डेटमै वेब सिरिजको सुटिङका लागि समय दिएपछि निर्माण पक्ष र वर्षाबीच सहमतिमै नयाँ हिरोइन खोज्ने सहमति भएको हो । निर्देशक लामाले वर्षाको अनुमतिमा नै यो प्रक्रिया अघि बढेको जानकारी गराए ।
निर्माण पक्षले वर्षाको ठाउँमा उपासना सिंह ठकुरी लिने तयारी गरिरहेको छ । उपासनको परीक्षा चलिरहेकाले औपचारिक सम्झौता भने भइसकेको छैन । तर उपासना फिल्ममा काम गर्न राजी भइसकेको निर्माण सम्बद्ध स्रोतले जानकारी गराएको छ । निर्माता किरण नेपालीले नयाँ हिरोइनसँग सम्झौता भइसके पनि आफूले नाम नभन्ने बताए । ‘हामीले नयाँ अभिनेत्रीसँग सम्झौता गरिसक्यौँ तर को भन्ने कुरा चाहिँ म भन्दिन,’ नेपालीले इकागजसँग भने ।
दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा निर्माण टिमले यसअघि पलको ठाउँमा सौगात मल्ललाई अनुबन्ध गरिसकेको छ । फिल्ममा अब सौगातसँगै दयाहाङ राई, उगेन छोदेनको मुख्य अभिनय रहनेछ । दीपक मनाङेको समेत लगानी रहने चलचित्रलाई दीपेन्द्र लामाले नै लेखेका हुन् । फिल्मको सुटिङ चैत १५ बाट सुरु गर्ने निर्माण टिमको तयारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया