सरकारी बक्स अफिसको बिजोग
‘ म यस्तो गीत गाउँछु २’को २ दिन बराबर देखिन्छ महिनाभरको व्यापार
काठमाडौँ - वितरकको भनाइ पत्याउने हो भने फागुन १३ मा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको दोस्रो दिनमै पौने दुई करोड हाराहारी व्यापार गरेको थियो । वितरक तथा निर्माताले रिलिजको पहिलो र दोस्रो दिनमै यो फिल्मले १ करोड ८० लाख ग्रस गरेको तथ्यांक सार्वजनिक गरेका थिए । सञ्चारमाध्यममा पनि फिल्मले यति नै कमाएको निर्माताको दाबीसहितका समाचार आएका छन् ।
त्यसयता यो फिल्म प्रदर्शन भएको महिना दिन पुग्न लागेको छ । वितरकले दुई दिनपछिको कमाइ सार्वजनिक गरेका छैनन् तर पल शाहको कन्ट्रोभर्सीको फाइदा उठाएको फिल्मले दुई दिनको अनुपात पछ्याएको हो भने यो फिल्मको कमाइ ८ करोड हाराहारी हुनसक्ने अनुमान गर्न सकिन्छ ।
चलचित्र विकास बोर्डमा राखिएको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (चलनचल्तीमा बक्सअफिस)मा यो फिल्मको कमाइ कति होला त ? इकागजले प्राप्त गरेको तथ्यांकले भने यो तथ्यांकमा आकाश जमिनको फरक देखाउँछ । इकागजले प्राप्त गरेको सूचनामा भने यो फिल्मले दुई दिनमा हैन एक महिना पुग्नै लाग्दा १ करोड ७८ लाख बराबर कमाइ गरेको छ । अर्थात ‘म यस्तो गीत गाउँछु’ कुल कमाइमा लगभग ६ करोड हाराहारीको विचलन देखिन्छ । यसले दुइटा कुराको संकेत गर्छ कि त निर्माता\वितरकले झुटो बोलिरहेका छन् कि त विकास बोर्डअन्तर्गत रहेको बक्स अफिस प्रणाली असफल भएको छ ।
सरकारले २०७६ साउन १ गतेदेखि बक्स अफिस प्रणालीको औपचारिक रुपमा सुरुवात गरेको थियो । उसबेला यो प्रणालीको सुरुवात हुँदा नेपाली निर्माता औधि खुसी भएका थिए । प्रदर्शक र वितरकले चुरोटको बट्टामा दिने रिपोर्टबाट मुक्ति पाएको भन्दै निर्माताले हर्कबढाइँ गरेका थिए । तर लागु भएको तीन वर्ष बित्न लाग्दा पनि निर्माताले चुरोटको खोलमा पाउने हिसाबबाट मुक्ति पाएका छैनन् । अहिले पनि निर्माताले विकास बोर्डको तथ्यांकको हैन वितरकको भर पर्नु परेको छ ।
तीन वर्षअघि यो प्रणाली जडान गर्दा सरकारले ५ करोड खर्च गरेको थियो । यसको सफ्टवेयरमा मात्र ९९ सय लाख लगानी भएको थियो भने सर्भर, कम्प्युटर लगायत अन्य भौतिक सामान किन्नमा बाँकी ४ करोड खर्च भएको थियो । तर अहिले यो खर्च पानीमा डुबे सरह भएको छ । किनकि निर्माताहरूले यहाँबाट कोड नै लिने गरेका छैनन् । वितरकले लिन्छन् तर यसको भरोसा गर्दैनन् ।
बक्स अफिसका प्राविधिक सुनिल नेपालीका अनुसार बक्स अफिस प्रणालीमा जोडिन प्राविधिकले दुइटा कोड जेनेरेट गर्छन् । एउटा मुभी कोड अनि अर्को डिस्ट्रिब्युटर कोड । यो कोड प्राप्त गर्ने प्रक्रिया सुरु हुन्छ, सेन्सर बोर्डपछि । सुनिलले थप प्रष्ट पार्दै भने, ‘ नेपाली फिल्मको हकमा होस् वा विदेशी फिल्मको हकमा , सेन्सर भएपछि बल्ल हामी दुवै कोड जेनरेट गर्छौँ । यही कोड राखेर टिकट बिक्रि गर्दा सिधै हाम्रो प्रणालीमा कहाँबाट कति टिकट बिक्रि भयो भन्ने जानकारी आउँछ । यसरी बेग्लाबेग्लै ठाउँबाट काटिएको टिकटको जानकारी हामी एकमुष्ट भेला गरेर निर्माता र वितरकलाई दिन्छौँ ।’
तर बक्स अफिसको तथ्यांक र वितरकले हलबाट लिने तथ्यांकमा यति धेरै विचलन के कारणले आइरहेको छ ? सुनिल नेपाली प्रदर्शकले आफूखुसी म्यानुअल कोड जेनरेट गरेर टिकट बिक्रि गर्दा तथ्यांकमा आनका तान फरक पर्ने गरेको बताउँछन् ।
‘सेन्सर नहुँदै हलले बुकिङ खोलेर टिकट बेच्ने गरेका छन् । यसका लागि उनीहरूले आफैँ कोड जेनरेट गर्छन् । यो कमाइ हाम्रो सिस्टममा नआउँदा हाम्रोमा पुरै तथ्यांक आइरहेको छैन । हामी अहिले सबै हललाई यसो नगर्न आग्रह गरिरहेका छौँ,’ सुनिलले इकागजसँग भने । सुनिलले काठमाडौँका धेरै मल्टिप्लेक्सले यसो गर्ने गरेको बताए ।
तर सुनिल पुरै बक्स अफिस प्रणाली नै फेल भएको स्वीकार्न तयार छैनन् । उनले भने, ‘यदि यो सिस्टमले काम नगरेको भए एउटा पनि तथ्यांक नआउनु पर्ने तर कसरी आइरहेको छ त ? म कसैलाई दोष दिन चाहान्नँ तर हलले हाम्रो प्रणाली नमान्ने हो भने सही तथ्यांक आउन गाह्रै पर्छ ।’ उनले कानुनी दायरामा ल्याउने काम बोर्डको भएको भन्दै आफूहरूले हलसँग समन्वय गरिरहेको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तथ्यांकको विचलनको विषयमा आफू जानकार रहेको भन्दै चाँडै नै यो समस्या समाधान हुने बताए । उनले हलले बदमासी गरिरहेको महसुस भएको तर भर्खर भर्खर लयमा आउन लागेकाले कडा रुपमा प्रस्तुत नभएको स्वीकार गरे ।
‘बक्स अफिसको यो प्रणाली उहाँहरूसहित सहमत भएर लागु भएको हो । यसलाई सघाउनु उहाँहरूको पनि कर्तव्य हो । मान्नुहुन्न भने कानुनअनुसार कारबाही हुन्छ । हामी चाँडै अनुगमन थाल्दैछौँ,’ अध्यक्ष दाहालले भने । बक्स अफिसको पूर्ण कार्यान्वयनले निर्मातासँगै राज्यलाई पनि लाभ हुने अवस्था थियो । हिजोको दिनमा निर्माता तथा वितरक करको दायरामा नआइरहेको अवस्थामा यो प्रणालीले राज्यले पाउनुपर्ने रकम पनि सर्लक्क छुट्याउँथ्यो । तर अहिले यो प्रणालीले काम नगर्दा न राज्यले चासो दिएको छ न यसलाई रामवाण मान्ने निर्माता नै यसको कार्यान्वयनका लागि चिन्तित छन् ।
पारदर्शिता कुनै पनि व्यवसायको पहिलो शर्त हो । पारदर्शिता नहुँदा नेपाली चलचित्रमा कर्पोरेट लगानी नआएको गुनासो थियो । तर, पारदर्शिताका लागि अचुक मानिएको यही प्रणाली यता न उता हुँदा सबै हाइसञ्चो मानेर बसिरहेका छन् । विकास बोर्डका अनुसार अहिले देशभर १ सय ९३ हल सञ्चालनमा रहेका छन् । सबै हलमा बक्स अफिस प्रणाली जडान भइसकेको छ । सरकारले २०७६ को साउन १ बाट काठमाडौँमा यसको औपचारिक सुरुवात गरेको थियो भने सोही वर्षको जेठ १८ बाट काठमाडौँबाहिर पनि लागू गरिएको घोषणा गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया