सिनेमा

दीपिका र प्रियंकाले प्रचारमा साथ नदिएको ‘हेल्लो जिन्दगी’ को गुनासो

इकागज |
चैत १०, २०७८ बिहीबार १०:२० बजे

काठमाडौं - चैत्र १८ गते प्रदर्शन हुने फिल्म ‘हेल्लो जिन्दगी’ मा समावेश ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीत मंगलबार राजधानी आयोजीत प्रेसमिटमा सार्वजनिक गरिएको हो । गीतमा अभिनेता विक्रम डि जोशी र दीपिका प्रसाईंले अभिनय गरेका छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् । 

प्रेसमिटमा निर्देशक बोहराले फिल्मका दुई अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाए । ‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उनले भने,‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन । निर्देशक बोहराले नायिकाहरूले न्युनतम व्यवसायिक धर्म पनि निर्वाह नगरे तापनि आफूहरु विचलित नभएको, बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै विचार गर्ने बताए । 


कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावित भई निर्माण गरिएकाले दर्शकको मन जित्ने विश्वास लिएको बताइन् । अभिनेता विक्रमले आफूहरूले गुणस्तरीय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । उनले भने,‘हाम्रो फिल्ममा नेपाल, भारत र युके, तीन देशका प्राविधिकको मेहनत परेको छ । त्यसैले दर्शकले मन पराउनेमा विश्वस्त छु ।’

अभिनेता विक्रम, निर्देशक बोहरा र नवअभिनेत्री बिभिया यही फिल्मको प्रमोसनका लागि केही दिनअघि मात्रै बेलायतबाट काठमाडौ झरेका हुन् । कार्यक्रममा फिल्मकी सहनिर्मात्री तथा अभिनेत्री सविता गुरुङले आफूहरूले यो फिल्म पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताइन् । नवअभिनेत्री बिभियाले फिल्म निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गरिन् । आइएनएस हल,गोंगबुमा आयोजित कार्यक्रममा फिल्ममा समावेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो । 

बेलायत र काठमाडौमा खिचिएको फिल्ममा विक्रम र दीपिकाका साथमा प्रियंका कार्की, विल्सन विक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, बिभिया श्रेष्ठ, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् । फिल्मको कथा निर्देशक बोहरा र विक्रम डि जोशीको हो भने पटकथा, सम्वाद निर्देशक बोहरासहित अभिमन्यु निरवीले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । 

 


Author

थप समाचार
x