सिनेमा

फिल्म समीक्षकलाई कस्तो लाग्यो ‘आरआरआर’ ?

इकागज |
चैत ११, २०७८ शुक्रबार ११:४८ बजे

मुम्बई - ‘बाहुबली’का दुई सिरिजबाट विश्वमा नै सनसनी मच्चाएका एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ शुक्रबारबाट विश्वभर रिलिज भएको छ । भारतको हिन्दीभाषी क्षेत्रलाई छाडेर फिल्मले एडभान्स बुकिङमा राम्रो लक्षण देखाएका रिपोर्ट आएका थिए । नेपालमा पनि यो फिल्मको क्रेज हेर्न लायक देखिएको छ । हलले हिान ७ बजेदेखिको सो राखेका छन् र यी सोमा एउटा पनि सिट खाली छैनन् । फिल्म सकिएपछि दर्शकहरू हलमा नाचिरहेका दृश्य पनि देखिएको छ । लामो समयदेखि प्रतीक्षित फिल्म आफैँमा चाहिँ कस्तो छ त ? 

पहिलो सो सकिएसँगै बिहानैदेखि यो फिल्मको रिभ्यु आउन थालेका छन् । लगभग सबै समीक्षकले फिल्मको तारिफ गरेका छन् । ३ घन्टा लामो फिल्ममा पहिलो हाफ गज्जब रहेको तर दोस्रो हाफ केही ठाउँमा सुस्त रहेको समीक्षकको टिप्पणी छ । 


फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिश विरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिश राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिशविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो । तर यो कथामा निर्देशक राजामौलीले सिठ्ठी ताली ठोक्न मिल्ने प्रशस्त ठाउँहरू सिर्जना गरिएको बताइएको छ ।

फिल्मको कथा युद्धका कथामा बनेका फिल्मको जस्तै भए पनि निर्देशकले यसलाई राम्ररी प्याकेजिङ गरेको प्रतिक्रिया छ । एक्सन प्रधान फिल्ममा राजामौलीले गज्जबका एक्सन दृश्य र सेट पिस तयार गरेको पनि समीक्षकले लेखेका छन् । तर योबाहेक समीक्षकले फिल्मका मुख्य अभिनेता जुनिएर एनटीआर र रामचरणको अभिनयको खुलेर तारिफ गरेका छन् । फिल्मका लागि दुवैले करिअरकै उत्कृष्ट अभिनय गरेको उल्लेख छ । यसमा पनि एनटीआरको भन्दा पनि रामचरणको भूमिका थप रोचक भएको उल्लेख छ । 

कलाकारकै कुरा गर्दा आलिया भट्टले सीताको रुपमा छोटो भूमिका निर्वाह गरेको र अजय देवगनले पनि केमियो गरेको तर दुवैको उपस्थितिले फिल्मलाई रोचक बनाएको टिप्पणी छ । कलाकारको अभिनयपछि फिल्मको प्राविधिक पाटोको पनि अत्यन्त प्रशंसा भएको छ । हरेक दृश्यमा विस्तृतमा काम भएको र छायांकन उत्कृष्ट भएको समीक्षकको राय छ । यसैगरि फिल्मको पाश्र्व संगीत र कोरियोग्राफी पनि उत्कृष्ट रहेको समीक्षकको टिप्पणी छ । यो फिल्मलाई केही समीक्षकले ५ मा साढे चार स्टारसम्म दिएका छन् । 


Author

थप समाचार
x