पल शाह थुनामा गएसँगै निर्माताको ३ करोड बढी जोखिममा
काठमाडौँ - नाबालिग बलात्कार मुद्दामा पल शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै पल शाह तनुहँ जेल चलान भएका छन् । अब जेलमै रहेर उनले कानुनी लडाइँ लडनेछन् । उनका लागि उच्च अदालतमा धरौटी माग्ने अवसर बाँकी रहेको छ ।
यहाँबाट धरौटी पाए भने बल्ल उनले बाहिर निस्किएर काम गर्न सक्नेछन् । तर जुन तहमा यो कुराले चर्चा पाएको छ त्यो कुरा चटक्क बिर्सेर न उनलाई काम गर्न सजिलो हुनेछ न काम गराउनेले नै धक फुकाएर काम लगाउनेछन् । पीडित पक्षका वकिलले दाबी गरेझैँ १२ वा १४ वर्ष सजाय भयो भने त लगभग उनको अभिनय करिअरले बिट नै मार्नेछ । तर पुर्पक्षका लागि थुनामा गएसँगै उनलाई लिएर काम गर्न लागेका निर्माताको रकम भने जोखिममा परेको छ ।
पल शाह जेल चलान भएसँगै पल शाहले सुटिङको मुखमा रहेको ‘२ नम्बरी’ गुमाएका छन् । उनको ठाउँमा सौगात मल्लले काम गर्ने निधो भइसकेको छ । तर यो निर्णयले पलले मात्र गुमाएका छैनन् निर्माताले पनि गुमाएका छन् । पहिलो लकडाउन अघि यो फिल्मको १० दिनको सुटिङ भइसकेको थियो भने पलले फिल्मबाट एडभान्स रकम पनि बुझिसकेका थिए । निर्माताको १० दिनको सुटिङ खेर गएको छ र निर्माताले यसबाट १५ लाख बढी रकम गुमाएका छन् ।
पल शाह थुनामा गएसँगै सबैभन्दा धेरै घाटा सुरज सुब्बा निर्देशित ‘हृदयभरि’लाई भएको छ । यो फिल्मको केही प्रतिशत मात्र सुटिङ बाँकी थियो । लकडाउन अघि नै सुटिङ भएको यो फिल्मको बजेट २ करोड बताइएको थियो । अब पल तत्कालका लागि उपलब्ध नहुने भएसँगै यो फिल्मका निर्माताको रकम जोखिममा परेको छ । निर्माता निर्देशकले उनी बाहिर आउने समय कुर्नुपर्नेछ वा उनले सुटिङ गरेको भागलाई लेखनमा मिलाएर प्रस्तुत गर्नुपर्नेछ । नत्र भने यो फिल्मले २ करोड लगानी माया मार्ने अवस्था आइसकेको छ ।
पल शाह पछिल्ला दुई वर्षमा म्युजिक भिडियोमा व्यस्त थिए । महिनामा २५ दिन उनले म्युजिक भिडियोको सुटिङ गर्ने गरेको थुप्रै अन्तर्वार्तामा दाबी गरेका छन् । अहिले पल नहुँदा म्युजिक भिडियो निर्माता सन्नाटामा छन् । पलविरुद्ध बलात्कारको मुद्दा दायर भएर हिरासतमा जानुअघि उनले २०÷२५ वटा म्युजिक भिडियोका लागि एडभान्स लिएको चर्चा छ । यो रकम कम्तिमा २० लाख हाराहारी हुन आउँछ । म्युजिक भिडियोमा अभिनय गरेवापत उनले डेढ लाख पारिश्रमिक लिने गरेका थिए ।
उनले म्युजिक भिडियोबाहेक केही फिल्म पनि साइन गरेका थिए । जसमा दीपेन्द्र लामाले निर्देशन गर्ने भनिएको अनाम फिल्म थियो भने यशकुमारले निर्देशन गर्ने यस्तै नाम नजुरेको फिल्म पनि उनले खेल्ने सम्झौता गरिसकेका थिए ।
भिडियो सम्पादकको रुपमा जागिर सुरु गरेका पलले ‘हनी बनी’ बोलको गीतबाट म्युजिक भिडियोमा छलाङ मारेका थिए । ६ वर्षअघि ‘नाइँ नभन्नू ल ४’बाट फिल्ममा आएका उनले ‘जोनी जेन्टलमेन’, ‘शत्रु गते’ आदि फिल्ममा अभिनय गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया