राजेश हमालको ‘सत्यम्’ नबन्ने, ५० लाख भइसक्यो खर्च
काठमाडौँ - सेटदेखि कलाकारसम्ममा ५० लाख हाराहारी खर्च गरेपछि निर्माता ‘सत्यम्’ निर्माणबाट पछि हटेका छन् । सुटिङमा जाने भनेर वर्कसप समेत भएको फिल्म लगभग नबन्ने मोडमा पुगेको फिल्म निकट स्रोतले बताएको छ ।
राजेश हमाललाई कमब्याक गराउने दाबीसहित घोषणा गरिएको फिल्मको पोखरामा सेटसमेत निर्माण भएको थियो । पोखरामा फिल्मका मुख्य कलाकार हमाल, अनुपविक्रम शाही, पल शाह र मल्लिका महतसमेत सहभागी भई कार्यशालासमेत भएको थियो । तर यही कार्यशालापछि टिम तितरबितर भएको थियो । फिल्ममा पल शाहको अपोजिटमा रहेकी मल्लिकाले यही कार्यशालापछि फिल्म छाड्ने निर्णय गरेकी थिइन् । निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएर फिल्म सुटिङ अगाडि बढाउने निर्णय गरेको थियो ।
केही दिनअघि एउटा म्युजिक भिडियो सार्वजनिक समारोहमा पनि अभिनेता हमालले फिल्म तत्काल नबन्ने बताएका थिए । ‘फिल्मको सुटिङ कहिले हुन्छ ?’ भन्ने पत्रकारको जिज्ञाषामा हमालले ‘बन्न त बन्छ तर अलि पछि बन्छ’ भन्ने जवाफ दिएका थिए ।
कलाकारको पारिश्रमिकमा मात्र यो फिल्मको ठूलो रकम खर्च भइसकेको छ । राजेश हमालले यो फिल्ममा २० लाख हाराहारी पारिश्रमिक लिएको र एडभान्स रकम पनि राम्रै लिएको चर्चा थियो । यसैगरि अनुपविक्रम शाही र पल शाहले पनि एडभान्सवापत राम्रै रकम लिएका छन् ।
यो फिल्मले देशका तीन ठाउँमा अडिसन लिएको थियो । सहायक कलाकार छान्नका लागि निर्माण टिमले काठमाडौँ, पोखरा र बुटबलमा अडिसन गरेको थियो । योबाहेक पोखरामा भव्य सेट बनाउन पनि निर्माताले २५÷३० लाख खर्च गरेको दाबी गरेका थिए । यो फिल्मको बजेट ८ करोड दाबी गरिएको थियो । निर्देशकले ५ करोड निर्माणका लागि र ३ करोड प्रचारप्रसारका लागि छुट्याउने दाबी गरेका थिए । तर अहिले फिल्म नबन्दा कम्तिमा निर्माताको ५० लाख खेर गएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया