सिनेमा

अरुले छाडेका फिल्ममा करियर देख्दै उपासना

इकागज |
चैत १४, २०७८ सोमबार १५:४५ बजे

काठमाडौँ - ‘क्याप्टेन’बाट डेब्यु गरेकी उपासना सिंह ठकुरीले पहिलो फिल्मबाटै दर्शकलाई प्रभावित गरेकी थिइन् । झन् दोस्रो फिल्मको रुपमा ‘कबड्डी ३’मा केन्द्रीय भूमिकामा अभिनय गरेपछि त उनी राम्रै विकल्प मानिएकी थिइन् ।

यो फिल्म सुपरहिट मात्र भएको थिएन, उपासनाको अभिनयको तारिफ पनि भएको थियो । तर उपासनाले यसको फाइदा लिन नपाउँदै लकडाउन सुरु भयो । दुई वर्ष फाट्टफुट्ट फिल्म बने । यही बीचमा उनले आर्यन सिग्देलको अपोजिटमा ‘डिसेम्बर फल्स’ गरिन् तर यो फिल्मको सुटिङ अझै पूरा भएको छैन । 


तर यो पछि उपासनाले दुइटा फिल्म साइन गरेकी छिन् जुन पहिले अरुले नै गर्ने तय थियो । उपासनाले सबैभन्दा पहिला मल्लिका महतलाई रिप्लेस गरेकी थिइन् ‘सत्यम्’ फिल्मबाट । पल शाहको अनुरोधमा ‘सत्यम्’ खेल्न पुगेकी मल्लिका भूमिका चित्त बुझ्दो नभएको भन्दै फिल्मबाट बाहिरिएकी थिइन् । निर्माण टिमले यसपछि हतार हतार उपासनालाई अनुबन्ध गरेको थियो । भलै यो फिल्म बन्ने नबन्ने टुंगो छैन । 

तर यही हप्ता उपासनाले ‘२ नम्बरी’ साइन गरिन् जसमा पनि पहिला अरु नै अभिनेत्री तय थिए । पहिलो लकडाउन अघि नै थोरै सुटिङ भएको यो फिल्ममा वर्षा राउतले अभिनय गरेकी थिइन् । अहिले निर्माण टिमले हिरोसँगै अभिनेत्री पनि परिवर्तन गरेपछि वर्षाको भागको भूमिका उपासनाले सकारेकी छिन् । यो क्षेत्रमा अरुले छाडेका फिल्मले भाग्य चम्किएका अनेक उदाहरण छन् । उपासनाको चम्किन्छ कि चम्किन्न, ती फिल्म रिलिज भएपछि नै थाहा हुनेछ । 


Author

थप समाचार
x