उच्च अदालतमा पलले दिए निवेदन, साधारण तारेखमा छाड्नुपर्ने जिकिर
पोखरा- अभिनेता पल शाह ( पूर्णबिक्रम शाह ) ले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आफूलाई साधारण तारेखमा राखी पाउँ भनी उनले मंगलबार पोखरास्थित उच्च अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम निवेदन दिएका हुन् ।
उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले प्रतिवादी पल शाह भनिने पूर्णविक्रम शाहका तर्पबाट कानुन व्यवसायीहरुले निवेदन लिएर आएको र अदालतमा दर्ता भएको पुष्टि गरे ।
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने ओदश गरेका थिए । सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा पुनरावेदन गरेको हो । निवेदन दर्तापछि बुधबार एकल इजलासमा पेस हुने र पक्ष–विपक्षी दुवैतर्फको बहसपछि अदालतले आदेश गर्ने व्यवस्था रहेको सूचना अधिकारी आचार्यले बताए ।
थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र पललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर छ ।
पल शाहले उच्च अदालत पोखरामा न्यायका लागि निवदेन पेश भई प्रक्रिया सुरु भइसकेको पल शाहको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले जानकारी दिए । ‘तनहुँ जिल्ला अदालतले थुनामा राख्ने गरेर आदेश भयो त्यो आदेश बदर गरी तारेखको पुर्पक्ष गरी पाउँ भनेर पल शाहले उच्च अदालत पोखरामा निवेदन पेश गर्नु भएको छ,’ उनले भने, ‘यसको प्रारम्भिक सुनुवाई भोलि हुन्छ थुनामा राख्नुपर्ने आधार र कारणसहित कैफियत भएपछि जिल्ला अदालत तनहुँले फेरि जवाफ दिन्छ ।’
बहसको क्रममा तल्लो अदालतको आदेश कस्तो हो भनेर उच्च अदालतले हेरिसकेपछि कानुनअनुसार भएमा सदर हुन्छ नभए बदर गरेर पल शाहलाई तारेखमा वा धरौटी छोड्न आदेश दिन सक्ने उनले बताए । उनी विरुद्ध जिल्ला अदालत नवलपुरमा पनि उजुरी रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया