सिनेमा

सलमानको चिन्ता –दक्षिण भारतमा हाम्रा फिल्म किन चल्दैनन् ?

इकागज |
चैत १५, २०७८ मंगलबार १३:४६ बजे

मुम्बई - दक्षिण भारतीय फिल्मको एकपछि अर्को सफलता बलिउडको टाउको दुखाइ बन्न थालेको छ । खासगरि अल्लु अर्जुन अभीनित ‘पुष्पा’ले हिन्दी भाषी दर्शकबाट मात्र सय करोड उठाएर लगेपछि दक्षिण भारतीय फिल्म र बलिउड फिल्मको तुलना हुन थालेको छ । कंगना रनावतले दक्षिणका फिल्ममा परिवार प्रेम र संस्कारको जरालाई रोचक तरिकाले प्रस्तुत गर्ने हुनाले दर्शकले रुचाएको निष्कर्ष निकालेकी थिइन् ।

यता सलमान खानले भने बलिउड फिल्मले ‘हिरोइज्म’ छविसहितका सिनेमा निर्माण गर्न छाडेकाले दक्षिणका फिल्मले बलिउडको बजार कब्जा गर्न लागेको बताएका छन् । ‘दक्षिणका फिल्मले सधैँभरि हिरोइज्मलाई विश्वास गरेको देखिन्छ । तर एकाधबाहेक हामीले आजभोलि त्यस्ता सिनेमा बनाउँदैनौँ । हामीले पनि फेरि हिरोइज्म भएका सिनेमा निर्माण गर्न थाल्नुपर्छ,’उनले एक कार्यक्रममा भने, ‘अहिले बलिउडमा म मात्र छु जसले त्यस्ता फिल्म खेलिरहेको छु । तर मानिसहरू आजभोलि यति जान्ने भएका छन् कि म क्लिसेड भएको टिप्पणी गर्छन् । ’


सँगै उनले दक्षिणका फिल्म यता भरमार चल्न लाग्दा हाम्रा फिल्म किन चल्दैनन् ? भन्ने प्रश्न पनि गरेका छन् ।  उनले हिन्दीमा सलिम जावेदको लेखनमा यस्ता फिल्म बनेको स्मरण गर्दै दक्षिण भारतले यो शैलीलाई नयाँ उचाइमा लिएर गएको टिप्पणी गरेका छन् । ‘पुष्पा’पछि ‘आरआरआर’ले पनि हिन्दी भाषामा रेकर्ड तोड कमाइ गरिरहेको छ । 
 


Author

थप समाचार
x