सिनेमा

फिल्मको प्रचारमा सधैँ हिरोइनकै ‘नखरा’

इकागज |
चैत १८, २०७८ शुक्रबार १२:४२ बजे

काठमाडौँ - आजबाट ‘हेल्लो जिन्दगी’ हलमा रिलिज भएको छ । प्रदर्शनअघि फिल्मको प्रचारका लागि निर्देशक सूर्य बोहरा र मुख्य कलाकार विक्रश जोशीको दौडधुप हेर्नलायक थियो । तर प्रचारका लागि हिँडेका निर्देशक बोहरा र जोशीले फिल्मको विषयवस्तुमा विरलै बोलेको सुनिन्छ ।

जहाँ गए पनि उनीहरूले फिल्मका हिरोइनले प्रचारमा साथ नदिएको गुनासो गर्दै हिँड्नु परेको छ । वा उनीहरूले हिरोइन किन फिल्मको प्रचारमा हिँडेका छैनन् ? भन्ने पत्रकारको प्रश्नको स्पष्टिकरण दिँदै हिँड्नु परेको छ । लन्डनमा खिचिएको फिल्ममा दीपिका प्रसाइँ र प्रियंका कार्कीको अभिनय रहेको छ ।हिरोइनले प्रचारमा साथ नदिएको गुनासो गर्ने सूर्य बोहरा एक्लो निर्देशक हैनन् न त जोशी नै पहिलो निर्माता हुन् । योभन्दा अगाडि पनि निर्देशक र निर्माता फिल्मको कम हिरोइनका कुरा ज्यादा गर्न अभिसप्त छन् ।  


कुरा भर्खरकै हो । निर्माता अर्जुनकुमारले पनि ‘चपली हाइट ३’को प्रदर्शनको समयमा फिल्मकी हिरोइन स्वस्तिमा खड्काले प्रचारमा साथ नदिएको भरमार गुनासो गरे । एक्लै प्रचारको मोर्चा सम्हालेका अर्जुनकुमारले रिलिजको समयमा हिरोइनको साथ पाएनन् । उनले स्वस्तिमा खड्कासँग दोहोर्याएर कामै नगर्ने घोषणा गरे । अर्जुनकुमारले ‘चपली हाइट २’को बेलामा पनि प्रियंका कार्कीबाट धोका पाएको भन्दै यस्तै घोषणा गरेका थिए ।

जब जब प्रचारको समय हुन्छ हिरोइनले अनेक बहाना बनाउने गरेको गुनासो निर्माताले गर्ने गरेका छन् । प्रचारमा हिँड्ने समयमा हिरोइनले अनेक बहाना बनाउने गरेको हरकोही निर्माताको अनुभव छ । तर यस्तै गुनासो हिरोको भने कमै सुनिने गरेको छ । निर्माता अर्जुनकुमार हिरोइनले आफ्नो धरातल बिर्संदा यो समस्या आउने गरेको बताउँछन् । 

‘पहिलो त हिरोइनलाई के को पूmर्ति हो भन्ने कुरा म बुझ्दिन,’ अर्जुनकुमार भन्छन्, ‘ उनीहरूको बलमा १० जना दर्शक पनि हलमा आउँदैनन् । त्यही पनि उनीहरूलाई म भयंकर हुँ भन्ने भ्रम छ । चलेका फिल्म ब्रान्ड र अरु कारणले चलेका हुन् । यो त हिरोइनको उँधोमतिको पराकाष्ठा हो ।’

उनले नेपाली फिल्मका निर्माता भगवानको अवतार भएको र उनीहरूकै कारणले हिरोइनको चुल्हो जल्ने भए पनि यसको महत्व नबुझेको टिप्पणी गरे । अर्जुनकुमारले भने, ‘ नेपाली निर्माताले डुब्छ भन्ने थाहा हुँदाहुँदै पनि फिल्म बनाइरहेको छ र यसैले उनीहरूलाई पनि फूर्ति गर्न पुगेको छ । तर यस्ता निर्मातालाई रुवाएर उनीहरूले पाप गरिरहेका छन् । 

उनले ‘चपली हाइट ३’ रिलिजको समयमा आफूलाई स्वस्तिमा खड्काले दुःख दिएको चर्चा गर्दै फाइदा हुने बेलामा चाहिँ क्रेडिट लिन अगाडि सरेको आरोप लगाए ।
‘मेरै फिल्ममा पनि स्वस्तिमाले रिलिजको दिनमा फिल्म रिलिज हुँदैछ भनेर पनि लेखेन । जब राम्रो रिभ्यू आउन थाल्यो, खुब सेयर गरेर बस्यो,’ अर्जुनकुमारले भने । 
‘हेल्लो जिन्दगी’ निर्देशक सूर्य बोहराले फिल्मको पत्रकार सम्मेलनमा दीपिका प्रसाई र प्रियंका कार्कीबाट प्रचारमा धोका पाएको दुखेसो गरे । उनले हिरोइनले पैसा लिने बेलामा चाहिँ बाआमा बिरामी भएको बहाना गर्ने र पैसा लिइसकेपछि चाहिँ देखैनपर्ने प्रवृत्ति देखिएको भन्दै हिरोइनको आलोचना गरे । 

नभन्दै आजबाट रिलिज भएको ‘हेल्लो जिन्दगी’लाई फिल्मसँग साइनो नै नभएका कलाकारले शुभकामना दिइरहेका छन् । तर फिल्मको दुई अभिनेत्रीले आफैँले खेलेको फिल्म हलमा लागेको जानकारी दिन पनि जरुरी ठानेका छैनन् । 

अर्जुनकुमार यदि निर्माताले गलत व्यवहार गरेको वा पैसा नदिएको हो भने हिरोइनले खुलेर भन्न सक्नुपर्ने नत्र भने मतलब नगर्नुले गलत नजिर बसिरहेको बताउँछन् ।
‘हिरोइनको यो व्यवहारले सम्झौतापत्रमा धेरै कुरा थप्नुपर्ने अवस्था आएको छ । प्रचारमा नहिँड्ने हिरोइनलाई बाँकी निर्माताले हेरिरहेका छन् । पैसा लिएर गमक्क परेर घरमै बस्ने हिरोइनले अर्को निर्माताले किन लिने ? सोच्नुपर्छ,’ उनले भने । 


Author

थप समाचार
x