‘छक्का पञ्जा ४’ को ट्रेलर त हेरियो, फिल्म चाहिँ कहिले हेर्न पाइन्छ ?
काठमाडौँ - अहिले तपाईँ हलमा छिर्नुभयो भने रिलिज हुने तरखरमा रहेका देशी विदेशी फिल्मका ट्रेलर देख्न सक्नुहुन्छ । अझ ‘आरआरआर’ जस्तो प्रतीक्षित फिल्म आउने भएपछि त कहिले कहिले रिलिज हुने फिल्मले पनि ट्रेलर बजाउन रहर गर्ने नै भए । हल ट्रेलरलाई प्रचारको सबैभन्दा असरदार माध्यम मानिन्छ । किनकि अहिले फिल्म हेरिरहेका दर्शक नै भोलि अर्को फिल्म हेर्न जाने हुन् । यसरी रिलिजको संघारमा रहेका फिल्मले हल ट्रेलर बजाउनु त ठीकै हो तर सुटिङमा नै नगएको ‘छक्का पञ्जा ४’ को पनि हलमा ट्रेलर बजिरहेको छ । यसले मान्छेलाई थोरै चकित पारेको छ । कतिले यसलाई नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले भन्ने उखानसँग जोडेर हेरेका छन् । भएन यो फिल्म यस्तो ब्रान्ड हो जसलाई अहिलेदेखि प्रचारको पनि जरुरी छैन ।
‘छक्का पञ्जा ४’ महामारीअघि देखि सुटिङमा जान ठिक्क परेको फिल्म हो । पहिलो महामारी अघि नै यो फिल्म फ्लोरमा जाने चर्चामा थियो । तर महामारीले दुई वर्ष डिस्टर्ब गरेपछि बल्ल दीपाश्री निरौला र दीपकराज गिरीको समूह सुटिङमा निस्कन सकेन ।
अहिले महामारीको तेस्रो लहर आएर पनि ठन्डा भइसकेपछि थुप्रै फिल्म सुटिङमा निस्कने तरखरमा छन् । यसमा ‘छक्का पञ्जा ४’ पनि छ । तर निर्देशक दीपाश्री निरौलाले सुटिङमा निस्कने तयारी तीव्र रहे पनि यकिन मिति तय भइनसकेको बताउँछिन् । उनले लेखनको काम अझै नसकिएकाले ठ्याक्कै यही मितिबाट सुटिङमा जाने निधो नभएको बताइन् ।
‘नयाँ वर्ष भित्रै जाने हो तर यही गते भन्ने छैन । लेखनको काम भइरहेको छ,’उनले इकागजसँग छोटो प्रतिक्रिया दिँदै भनिन् । उनले ‘ट्रेलर किन अहिलेदेखि बजाइरहेको’ भन्ने प्रश्नमा फिल्म र दर्शकको ग्याप धेरै भएकाले हामी आउँदैछौँ है भन्न ट्रेलर बजाएको जानकारी गराइन् ।
‘छक्का पञ्जा ’ ले हरेक काम ज्योतिषलाई हेराएर मात्र सुरु गर्छ । यस हिसाबले फिल्मको सुटिङ वैशाख २१ बाट गर्ने निर्माणको टिमको तयारी रहेको स्रोत बताउँछ । तर दीपाश्रीले भने यस्तो कुनै मिति तय नभएको जानकारी गराइन् । यो पटकको सिरिजमा जितु नहुने पक्का छ किनकि ट्रेलरमा जितु नेपाल अटाएका छैनन् । यो सिरिजमा पहिला छुटेका निर्मल शर्मा जोडिएका छन् । योबाहेक पहिला सिरियलको समयका बाल कलाकार यो सिरिजबाट डेब्यु गर्दैछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया