बक्स अफिसमा दोस्रो हिट खोजिरहेका विनय, के नम्रतासँगको ‘ग्रहण’ले हटाउला फ्लपको ग्रहण ?
काठमाडौँ - म्युजिक भिडियो मोडल हुँदै फिल्ममा प्रवेश गरेका विनय श्रेष्ठले आधा दर्जन बढी सिनेमामा काम गरेका छन् । तर बक्स अफिसको आँकडामा हेर्ने हो भने विनय अभीनित अधिकांश फिल्मले बक्स अफिसमा भने निर्मातालाई निराश बनाएका छन् । तर यो खबर बीच पनि मन बुझाउन मिल्ने खबर के हो भने उनले गरेका अधिकांश फिल्मलाई समीक्षकले भने राम्रो मान्ने गरेका छन् । उनको अभिनय रहेका फिल्म हेर्न दर्शक उत्पात नगए पनि हेर्न गएका जतिले भने राम्रो मानेका उदाहरण छन् ।
‘सानो संसार’बाट १४ वर्षअघि डेब्यु गरेका विनयको पहिलो फिल्मले नै उनलाई निराश बनाएको थियो । प्रशस्त हाइपबीच रिलिज भएको फिल्म ‘सानो संसार’ बक्स अफिसमा भने फिक्का सावित भएको थियो । यसपछि रिलिज भएको ‘फस्ट लभ’ मात्र हो जुन बक्स अफिसमा हिट मानिएको थियो । तर यो फिल्ममा विनयसँगै आर्यन सिग्देल, कार्म र अन्य कलाकारको जम्बो टोली थियो । त्यसयता विनयले ‘रेसम फिलिली’, ‘भिजा गर्ल’, ‘रोमियो एन्ड मुना’ जस्ता फिल्म खेल्नेसँग निर्माण पनि गरेका छन् । तर ती सबै फिल्मले बक्स अफिसमा समान नियति भोगे ।
तर पुराना दिन बिर्सेर विनय फेरि एक पटक अभिनयमा फर्कन लागेका छन् र यसका लागि उनले छानेका छन् पहिलो फिल्मको कोस्टार अर्थात नम्रता श्रेष्ठ । सिक्किम र नेपालमा आधा आधा सुटिङ हुने फिल्मको नाम जुरेको छ, ‘ग्रहण’ । सिक्किममा केही दिनअघि यो फिल्मको औपचारिक घोषणा भएको थियो । घोषणा कार्यक्रममा नम्रता र विनय दुवैले १४ वर्षपछि ‘ग्रहण’को कथाले आफूहरूलाई सँग काम गर्न जुराएको बताएकी थिइन् ।
‘हामीले किन काम गरेनौ भन्दा पनि सायद त्यो मिलेन । हामीलाई लिएर केहि फिल्म अफर भएका थिए तर त्यो विविध कारणले बनेनन्’ नम्रताले भनिन् ,‘म विनय दाइसँग त तै पनि फिल्म गर्दैछु तर कार्मसँग संयोग जुरेको छ । विनयले पनि निर्देशक राजिव गुरुङले आफूहरूलाई सम्झेर नै कथा लेखेको हुनाले सहकार्य सम्भव भएको बताएका थिए । ‘राजीवजीले कथा लेख्दा नै मलाई र नम्रतालाई हेरेर कथा लेख्नु भएको रैछ । र , हामीलाई पनि मन परेर जोडिएका हौँ’ विनयको भनाइ थियो ।
विनय र नम्रताबाहेक सारुक ताम्राकारको पनि मुख्य भूमिका रहने फिल्मको मे महिनादेखि सुटिङ गर्ने तयारी छ । निर्देशक राजिव गुरुङले प्रिप्रडक्सनसँगै कास्टिङको काम बाँकी रहेकाले मेसम्ममा सुटिङ थाल्न सक्ने जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया