बिग मुभिज, एफक्युब र बिएसआर मुभिजमाथि चलचित्र विकास बोर्डको ‘एक्सन’
काठमाडौँ - नियम विपरित रात्री सो सञ्चालन गरेको तथा टिकट दर नै नराखी टिकट बिक्रि गरेको भन्दै चलचित्र विकास बोर्डले काठमाडौँका तीन ठूला हललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
चलचित्र विकास बोर्डले शुक्रबार राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यलयलाई पत्र लेख्दै तीनै हलमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले बिग मुभिजले अनुमतिविना बिहानैदेखि सो सञ्चालन गरेको र एफक्युबले टिकट दर नै नराखी टिकट बिक्रि गरेको उजुरीका आधारमा कारबाहीका लागि राजस्वलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी गराए ।
‘अतिरिक्त सो सञ्चालन गर्नुअघि बोर्डसँग स्वीकृति लिनुपर्ने नियम छ जुन केही हलले पूरा गरेको पाइएन । यसैगरि केही हलले राजस्व छल्ने मनसायले टिकट दर नै प्रिन्ट नगरी पनि टिकट बेचेको पाइयो । यसलाई हामीले गम्भीर रुपमा लिँदै राजस्व र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका हौँ,’ बोर्ड अध्यक्ष दाहालले इकागजसँग भने ।
टिकरदर नै उल्लेख नगरी एफक्युबले बेचेको टिकट ।
कर छली गरेको पाइएमा राजस्वले हल बन्द गर्ने तथा ठाउँको ठाउँ जरिवाना गर्न सक्ने व्यवस्था छ । राजस्वले सामान जफत गर्ने र ५ लाख बराबरको जरिवाना तिराउन सक्ने पनि व्यवस्था छ ।
बिहीबारदेखि नेपालमा प्रदर्शन भएको डब फिल्म ‘केजीएफ २’ राजधानीका धेरै हलले दर्शकको माग भन्दै मध्यरात १ बजेदेखि देखाएका थिए । यो क्रममा बोर्डलाई पूर्व जानकारी दिनुपर्नेमा नदिईकन फिल्म देखाएकाले विकास बोर्ड अनुगमनमा सक्रिय भएको हो ।
हलहरूले बारम्बार नियम मिचेर विदेशी फिल्म प्रदर्शन गर्दै आएको गुनासो व्यापक रहने गरेको छ । तर विकास बार्डले अनुगमन गरेर कारबाही सिफारिस गरेको उति सुनिएको थिएन । पहिलोपल्ट बोर्डले राजधानीका ठूला हलविरुद्ध ‘एक्सन’ लिन लागेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया