सिनेमा

सुरक्षा पन्त र दीपकराज गिरीलाई राष्ट्रिय पुरस्कार, ‘आमा’ उत्कृष्ट फिल्म

इकागज |
बैशाख ४, २०७९ आइतबार १७:५१ बजे

काठमाडौँ – अभिनेत्री सुरक्षा पन्तले ‘आमा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छिन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा सुरक्षाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार ग्रहण गरिन् । यसैगरि अभिनेता तर्फको अवार्ड भने दीपकराज गिरीले ‘छ माया छपक्कै’बाट प्राप्त गरे । 

२०७६ साल र २०७७ सालका फिल्मलाई एकैचोटि मूल्यांकन गरी बाँडिएको राष्ट्रिय पुरस्कारमा २०७६मा प्रदर्शन भएको ‘आमा’ हाबी रह्यो । यो फिल्मले उत्कृष्ट फिल्मको पुरस्कार जित्यो भने यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए । 


प्राविधिक विधातर्फ हरि हुमागाइँले छायांकन विधामा अवार्ड जिते भने सम्पादनको अवार्ड निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले प्राप्त गरे । हरि ‘छ माया छपक्कै’मा गरेको छायांकनका लागि उत्कृष्ट ठहरिएका थिए भने निमेष र सुरेन्द्र ‘कबड्डी ३’का लागि । पटकथातर्फको अवार्ड भने ‘जात्रै जात्रा’का लागि प्रदीप भट्टराईले प्राप्त गरे । 

समारोहमा ‘जीवन काँडा कि फूल’का लागि अवस्था थापाले जुरी अवार्ड प्राप्त गरेकी थिइन् भने ‘रातो टीका निधारमा’ फिल्मबाट यही अवार्ड अंकित शर्माले प्राप्त गरे । 
कार्यक्रममा भुवन चन्द  र शम्भुजित बाँस्कोटालाई दीर्घ साधनासम्मान प्रदान गरियो । दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ । 
 


Author

थप समाचार
x