सिनेमा

कान्समा नेपालले खोल्यो अफिसियल खाता, अविनाशको ‘लोरी’ पहिलोपल्ट लघु फिल्मको प्रतिस्पर्धामा

इकागज |
बैशाख १०, २०७९ शनिबार ११:४४ बजे

काठमाडौँ - अविनाशविक्रम शाहको छोटो फिल्म कान्स फिल्म फेस्टिभलमा छानिएको छ । शुक्रबार साँझ सार्वजनिक लाइनअपमा शाहको निर्देशन रहेको ‘लोरी’छनौट भएको हो । योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा अफिसिएली छनौट हुने ‘लोरी’ पहिलो फिल्म बनेको छ । 

१ सय ४० देशका ३५ सय बढी फिल्मबाट ‘लोरी’ले उत्कृष्ट ९ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । 


हङकङको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ मे २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । मे १७ देखि सुरु हुने फेस्टिभल २८ मा समापन हुँदैछ । फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ पनि उत्कृष्ट हुने फिल्मलाई पाम डी अर प्रदान गर्ने गरिन्छ । 

यसअघि कान्समा थुप्रै फिल्मकर्मीका फिल्म अनेक विधामा छानिएको भए पनि अफिसिएली छानिएको पहिलो पटक हो । कान्समा गत वर्ष मात्र किरण पोखरेलको ‘विङस्’ नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्रयान्ड प्राइज जितेको थियो । यसअघि फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ को पटकथा पनि कान्समा छानिएको थियो । 

कान्सकै अघिल्ला वर्षहरूमा मीनले बन्न लागेको फिल्म ‘चिसो वर्ष’का लागि ६६ लाख बराबरको फन्ड जितेका थिए । ‘कालो पोथी’का लेखक अविनाश विक्रम शाहले थुप्रै अवार्डे लघु फिल्मको निर्देशन गरेका छन् । उनले बनाउन लागेको पहिलो फिचर फिल्म ‘झ्यालिन्चा’ निर्माणको क्रममा रहेको छ । 


Author

थप समाचार
x