सिनेमा

‘हल्कारा’ र यसका छायाँकारलाई ह्युस्टन फिल्म फेस्टिभलमा अवार्ड

इकागज |
बैशाख १२, २०७९ सोमबार ११:३० बजे

काठमाडौँ  - सोमबार अमेरिकाको टेक्सासमा सम्पन्न ह्युस्टन फिल्म फेस्टिभलमा विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ले दुइटा अवार्ड जितेको छ । निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरेको जानकारीअनुसार ५ दिनसम्म अमेरिकाको ह्ययुस्टनमा चलेको फेस्टिभलमा फिल्मले प्लाटिनम रेमी अवार्ड प्राप्त गरेको छ भने यही फिल्मबाट यसका छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेका छन् । 

गत २० तारिखदेखि २४ तारिखसम्म चलेको फेस्टिभलमा यही फिल्मबाट महेश त्रिपाठी पनि मनोनयनमा थिए । वनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ ।


‘चपली हाइट ३’मा भर्खरै देखिएका महेशले यो फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारसँग अभिनय गरेका छन् ।
विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । 

वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भएको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन गरिएको थियो ।


Author

थप समाचार
x