नेपाली भएकै कारण मात्र नेपाली फिल्म हेरिदिनु पर्ने हो त ?
काठमाडौँ- भारतको कन्नाडा क्षेत्रको हिन्दि डब्ड चलचित्र के.जि.एफ च्याप्टर-२’ र नेपाली चलचित्र ए मेरो हजुर-४ बैशाख १ गतेबाट रिलिज भए। एकदमै न्युन शो पाएका कारण ए मेरो हजुर-४ को टिमले उक्त सिनेमाको नेपाल रिलिजमा असन्तुष्टि जनाइरह्यो। यो असन्तुष्टिमा थुप्रै चलचित्रकर्मीहरु पनि सहमत रहे र ‘नेपाली चलचित्र,हामी नेपाली भएकै कारण राष्ट्रियताका लागी भएपनि हेर्नुपर्ने र नराम्रै भएपनि नेपाली चलचित्र हेरेर आफ्नो राष्ट्रियता जोगाउनुपर्ने’ खालका अभिव्यक्ति दिन थाले।
‘ह्या,हिन्दि फिल्म पनि के हेर्नु? म त नेपाली फिल्म नै हेर्छु’ भन्ने दर्शकहरुको जमात पनि नभएको होइन। तर,फिल्म हेर्नका लागि पनि चलचित्रकर्मी आफैँले राष्ट्रियताका नाममा ‘ब्ल्याकमेल’ गर्न थालेपछि ती दर्शकहरु पनि नेपाली चलचित्र नहेरेर बरु हिन्दी नै हेर्छु भन्ने मनसाय बनाएर हल गए ।
‘पुष्पा, आरआरआर, अनि के.जि.एफ’ले नेपाली बजारबाट करोडौँ रुपैयाँ उठाइसकेका छन्। कोरोना कालमा थलिएको नेपाली चलचित्र क्षेत्रलाई भारतीय चलचित्रहरुले चलायमान बनाइरहेका छन्। यसबीच नेपाली चलचित्रहरु पनि हलमा नलागेका भने हैनन् । तर चलचित्रको गुणस्तरियताका कारणले या अन्य कुनै कारणले नेपाली चलचित्रहरुले नेपाली दर्शक हलसम्म तान्न सकिरहेका छैनन् ।
नेपाली चलचित्रको प्राविधिक पक्षमा एकदमै धेरै त्रुटिहरु पाइने गरेको छ। यतिसम्म कि, एउटा हलिउडको सिनेमा हेर्ने दर्शकले नेपाली फिल्मका गल्तिहरु त्यहि चलचित्रका निर्देशकले भन्दा बढि औँल्याइदिन सक्छन्। ति त्रुटिहरुको सुरुवात नै कमजोर पटकथाबाट हुन्छ। त्यसपछि असुहाउँदो कास्टिङदेखि सुटिङ सेटसम्म पुग्दा त्रुटिहरुको एउटा ठूलो खाडल खनिसकिएको हुन्छ। पोष्ट-प्रोडक्सनसम्म पुग्दा एउटा डेढ करोड लगानी लगाएर बनाएको पुरै चलचित्र नै डुब्ने गरिको खाल्डो चलचित्रका सर्जक आँफैले खनिसकेका हुन्छन्।
फिल्मको ट्रेलर सार्वजनिक भएसँगै, निर्माता-निर्देशक आँफैले खनेको खाल्डोमा हाम्फाल्न थाल्छन् । त्यसपछि,नेपाली दर्शकले नेपाली चलचित्रलाइ माया गरेनन् भनेर हार-गुहार गर्नुभन्दा अर्को विकल्प रहँदैन। यो क्रम प्रत्येक वर्ष र प्रायजसो सबै नेपाली चलचित्रसँग दोहोरिने गर्छ। निर्माताले लगानीको आधा हिस्सा पनि रिटर्न लिन सक्दैनन् ।त्यस्ता चलचित्रले निर्माताको लगानी मात्र डुब्दैन,चलचित्रमा आवद्ध कलाकार र अन्य प्राविधिकहरुको समेत करियर अन्योलमा पर्न जान्छ।
कथाको मागजस्तोसुकै भएपनि, महङ्गा क्यामेराले ठुलो क्यानभासमा सुन्दर दृश्यमात्र खिचेर दर्शक हलसम्म तान्न सकिन्छ भन्ने भान अझै पनि नेपाली चलचित्रकर्मीमा देखिन्छ।यसरी त्रुटि नै त्रुटिले भरिपुर्ण फिल्म ‘खाए खा नखाए घिच’ पारामा नेपाली दर्शकलाइ पस्किन खोज्नु र सँगै रिलिज हुनलागेका अन्य भाषाका गुणस्तरिय चलचित्रहरुको नेपाल रिलिज नीति नै परिवर्तन गर्न कानुनी उपचार खोज्नु पक्कै पनि नेपाली दर्शकमाथि अन्याय हुन्छ। यसरी नेपाली चलचित्र नचलिरहेको अवस्थामा ,भारतिय चलचित्रकै दबदबा बिच, हलवालाहरुले आफ्नो लगातार तिन वर्षको घाटा परिपूर्ति गर्ने मौका पाइरहेका छन् ।
नेपालमा अहिले विदेशी फिल्म प्रतिबन्धको आवाज उठ्न थालेको छ । चलचित्र विकास बोर्डले डब चलचित्रलाई त प्रतिबन्ध नै गर्नुपर्ने रायसहित सूचना तथा सञ्चार मन्त्रालयलाई आग्रह गरेको खबर आएका छन् । तर विकास बोर्डले यसरी आत्तिएर प्रतिबन्धको बाटो समात्नुभन्दा विदेशी फिल्म हेर्न निन्द्रा माया मार्न तयार हुने दर्शक नेपाली फिल्म हेर्न उत्सुक छैनन् ? यसको कारण पत्ता लगाएको भए यसले उद्धोगलाइ फाइदा पुर्याउँथ्यो ।
नेपाली चलचित्र प्रेमगित-३ आशा गरिएको चलचित्रहरुमा परेको छ । हिन्दीमा डब गरेर अनि भारतका चर्चित गायकहरुको स्वरमा हिन्दि गितहरु चलचित्रमा समावेश गरेर भारत रिलिजकालागि चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेन लागी परिरहेका छन्।नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजार खोजिरहँदा, अन्य देशका दर्शकहरुले त्यस्तै राष्ट्रियताका कुरा गर्न थाले र हाम्रा चलचित्र रिलिजका नीतिहरु आफू अनुकुल बनाउन थाले भने, नेपाली चलचित्रको अवस्था के होला ? त्यसै पनि नेपाली बजारबाट मात्र नेपाली फिल्मको लगानी हत्तपत्त उठ्ने गरेको छैन।
त्यस्तो राष्ट्रियताकै कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय चलचित्र नेपालमा रिलिज नै हुनु भएन । वा नेपाली चलचित्र पनि अन्तराष्ट्रिय बजारसम्म पुर्याउनु भएन । यसले समग्रमा नेपाली चलचित्रलाई नै हानी पुग्ने देखिन्छ ।यसमा हामी सबैले देखिआएको सत्य के हो भने नेपाली सिनेमा प्रतिस्पर्धी छैनन् । न हामी कलात्मक फिल्म बनाउन सकिरहेका छौँ न व्यावसायिक ।
यी दुवैखाले मोर्चामा असफल हुँदा हामीले राष्ट्रवादको धुनी जगाउनु परेको हो । त्यसैले हामीले पहिला हाम्रा आफ्नै कथा भन्नुपर्छ । घर,गाउँ टोल छिमेकको हुँदै सिङ्गो समाजको कथा भन्नुपर्छ । र हाम्रा कथालाई नीतिगत टेको दिनुपर्छ । यसरी नेपाली फिल्म राम्रा बन्ने हो भने विदेशी फिल्म रोकिराख्न पर्दैन तिनीहरु आफैँ बोर्डर काटेर आउन डराउँछन् ।
नेपाली चलचित्रले नेपाली बजारबाटै १७ करोड रुपैयाँसमम कमाएको उदाहारण अझै ताजै छ। नेपाली चलचित्र आँफैमा पहिला बलियो हुनुपर्छ । चलचित्रकर्मीले आफू जन्मे-हुर्केको ठाउँको कथा वा आफ्नो भोगाइका कथामा चलचित्र बनाए,दर्शकले साथ दिने निश्चित छ। सिनेमाको कुनै भाषा हुँदैन । त्यसैले विदेशीलाई रोक्नेभन्दा हामी पनि विदेश पुग्ने चिन्तनमा लाग्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया