‘कबड्डी ४’ ट्रेलर, मास्टर्नी मैयाँ पाउन काजी र बमकाजीको हत्ते
काठमाडौँ - पहिलो शृंखलादेखि नै काजीले जो केटी मन पराउँछ त्यो केटीले काजी (दयाहाङ राई)लाई मन पराउँदिन । कथामा सहरदेखि कोही न कोही आउँछ र काजीको आँखै अगाडिबाट आफूले मन पराएको मैयाँलाई लिएर जान्छ । तीन शृंखलादेखि एउटी केटीको पछि भाग्ने काजी र सहरदेखि आउने केटाबीच यस्तै कबड्डी चलिरहेको छ, फिल्म ‘कबड्डी’ शृंखलामा । यसको चौथो भाग जेठ १३ मा सार्वजनिक हुँदैछ , ‘कबड्डी, फाइनल म्याच’नाममा ।
बुधबार मात्र यसको ट्रेलर सार्वजनिक गरिएको छ र पहिलाका शृंखलाको निरन्तरताको रुपमा काजीले फेरि एक पटक नयाँ मैयाँलाई जीवनसाथी बनाउन सपना देखेको छ । तर यो पटक पनि उसको चाहनामा बाधक बनेर आइपुग्छ बमकाजी (सौगात मल्ल) । ४ मिनेट लामो ट्रेलर काजी र बमकाजीको मास्टरनी बनेकी मिरुना मगर पाउने द्धन्द्धमा अगाडि बढेको छ ।
पहिलो शृंखलाले सफलता पाउनमा यसका चोटिला संवादको ठूलो भूमिका थियो । ‘खुटा भए जुत्ता कत्ति कत्ति’ देखि ‘मन परेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टै ठीक छ’ जस्ता संवादले यो फिल्मको व्यवसायिक सफलतामा लालमोहर लगाएका थिए । चौथो शृंखलामा पपुलर कल्चरमा आउने संवाद छैनन् तर देखिरहेको परिवेश र चरित्रको उपस्थितिले ट्रेलर रोचक बनेको छ । तर रामबाबु गुरुङ र उपेन्द्र सुब्बा लिखित फिल्मको ट्रेलरले नयाँ कुराका लागि भने कतै ठाउँ छाडेको छैन ।
यति लामो ट्रेलरमा पनि सार्वजनिक भए लगत्तै भाइरल भएको ‘केशरी’ गीत अटाएको छैन । यो गीत पनि ट्रेलरमा अटाएको भए, निर्माण टिमलाई व्यवसायिक हिसाबले थप फाइदा पुग्न सक्थ्यो । विदेशी फिल्मको अतिक्रमण बढेको भन्दै फिल्मकर्मीबीच बहस तातिइरहेको बेला यसको व्यापारलाई महत्वका साथ हेरिएको छ ।
विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया