कस्तो छ आजबाट हलमा लागेको नेपाली चलचित्र 'मन्त्र' ?
काठमाडौँ- चलचित्र 'मन्त्र' आज शुक्रबारबाट देशभरिका हलहरुमा प्रदर्शनमा आएको छ । चलचित्रको बुधबार कमलपोखरीस्थित सिटी सेन्टरमा ग्रान्ड प्रिमियर गरिएको थियो। प्रिमियरमा, निश्चल बस्नेत, दीपाश्री निरौला, दीपकराज गिरी, अनोज पाण्डे लगायत चर्चित कलाकारहरु फिल्मको विशेष सो हेर्न पुगेका थिए। फिल्मको केही अंश पुर्वप्रधानमन्त्री बाबुराम भट्टराइले समेत हेर्न भ्याएका थिए।
हिमाली भेगमा बस्ने एक टुहुरोको प्रेम कथा रहेको यस फिल्मलाई उपस्थित चलचित्रकर्मीहरुले,फिल्मको सबल पक्ष अर्ग्यानिक लभस्टोरी रहेको प्रतिकृया दिएका छन् । प्राय, सबैजसो नेपाली फिल्म चुक्ने गरेको पटकथा लेखनमा यो चलचित्र पनि चुकेको धेरैको टिप्पणी थियो । मध्यान्तरअघि दर्शक बाँध्न सफल फिल्मको पछिल्लो भाग भने पुरानै शैलीको हिरो हिरोइन मर्ने मार्ने प्लटमा केन्द्रित भएको पनि धेरैको प्रतिक्रिया थियो ।
कलाकारको अभिनय उत्कृष्ट भए पनि फिल्मभरि अभिनेत्री दिया पुनको उद्देश्य र चरित्र स्थापित नहुँदा दर्शक उनको चरित्रप्रति सहानुभूति जाँदैन, यसले फिल्मको अन्त्यलाई कमजोर बनाएको थियो । उनी किन विवाह गर्न चाहान्नन् भन्ने प्रश्नको उत्तर नदिई फिल्ममा उनको विवाह भैसक्छ। पात्रको उद्देश्य, कमजोरी वा अन्य पक्षको जानकारी नदिई फिल्म अगाडि बढ्दा फिल्मले जसरी सुरुवात गरेको थियो त्यसरी नै अन्त्य नगर्दा फिल्म खल्लो भएको पनि धेरैको टिप्पणी थियो ।
फिल्मले एउटा हिमाली समाजको कथा त भन्न खोज्छ तर कमेडी हाबी भएका कारण दर्शकले त्यो समाज मजाले बुझ्न पाउँदैनन्। बाउले धेरै वर्षदेखि घर बोलाएका कारण बुद्धि तामाङ सहरबाट घर फर्किन्छन्, तर उनले आफ्नो बाबुसँग भेट्दैनन्। फिल्मभरि उनी आफ्नो बाबुसँग एकपटक मात्र भेट्छन्। बरु सौगातको लागि लामो-लामो आइडिया निकाल्न थाल्छन्।
मध्यान्तर अगाडि चलचित्रले दर्शकलाइ एउटा लयमा लिएर हिँडे पनि मध्यान्तर पछिको भागले दर्शकलाई सिटमा बाँधेर नराख्न सक्छ। साम्तेन भुटिया, पारिच्छेद सेन र सुनिल नेउरेले संयुक्त रुपमा लेखेको यस चलचित्रलाइ खिल बहादुर गुरुङले निर्देशन गरेका छन् भने सन्जय लामा यसका छायाँकार रहेका छन्। चलचित्रमा सौगात मल्ल, दिया पुन, बुद्धि तामाङको लगायत कलाकारहरुको अभिनय रहेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया