सिनेमा

जब अमिताभले शिवलाई भने– ‘तो आप भी हिरो हो’

इकागज |
बैशाख १७, २०७९ शनिबार १५:४९ बजे

काठमाडौँ - शिव श्रेष्ठले शनिबार बिहानै मेमोरीमा रहेको एउटा फोटो फेसबुकमा सेयर गरे । ५ वर्ष अगाडि पनि सेयर गरेको यो फोटोमा शिव श्रेष्ठ र अमिताभ बच्चनले सँगै खिचेको फोटो छ । साथमा सानो बच्चाको फोटो पनि छ जुन अभिषेक बच्चनको रहेको शिव श्रेष्ठले उल्लेख गरेका छन् । 

उनले ४१ वर्ष अघिको फोटोभन्दै यो फोटो सेयर गरेका छन् र फोटोको लोकेसन मलेखु रहेको पनि उल्लेख गरेका छन् । शिव श्रेष्ठका अनुसार ४१ वर्षअघिको यो फोटो उनको पहिलो फिल्म ‘जीवनरेखा’सुटिङताकाको हो भने अमिताभ बच्चन पनि सुटिङकै लागि नेपाल आएका थिए । अमिताभ पनि ‘महान’ फिल्मको सुटिङका लागि नेपाल आएको र यो फिल्मको पनि सुटिङ मलेखुमा रहेको थियो । तर शिव श्रेष्ठले अमिताभ बच्चनसँग फोटो खिच्ने अवसर कसरी जुराए त ? 


शिव श्रेष्ठका अनुसार विराटनगरमा हिन्दी फिल्म हेर्दै हुर्किएका उनलाई अमिताभ बच्चन पनि मनपथ्र्यो । तर कुनै दिन यसरी फोटो खिच्ने अवसर पाइएला भन्ने चाहिँ उनले सोचेका थिएनन् । 

‘जीवनरेखा’मा शिव श्रेष्ठ भुवन केसी र अर्जुनजंग शाहीलाई पन्छाउँदै हिरोको रुपमा छनोट हुन सफल भएका थिए । यसरी छनोट भएर सुटिङ थालेको केही समय मात्र भएको थियो कि एक दिन अमिताभ बच्चन पनि सुटिङका लागि मलेखुमा आएको युनिटमा चर्चा चल्यो । युनिटमा गाइँगुइँ चल्यो । सुरुमा यो खबरबाट बेखबर रहेका निर्देशक प्रकाश थापालाई शिव श्रेष्ठले नै यो खबर सुनाए । सुरुमा त प्रकाश थापाले खासै मतलब गरेनन् तर केहीबेर पछि भने ‘भेट्न जान्छौ त ?’ शिव श्रेष्ठले नाइँनास्ती गर्ने कुरै थिएन ।

नजिकै रहेको ठाउँमा ‘महान’को सुटिङ भइरहेको रहेछ । सायद टेकको तयारी हुँदै थियो । प्रकाश थापाले शिवलाई सिधै अमिताभ बच्चनकोमा लिएर गए । शिवलाई सम्झना छ, यहाँपछिको दृश्य भने हेर्न लायक थियो । ‘भेट होला कि नहोला वा भेट भए पनि के गर्लान् भन्ने डर थियो तर प्रकाश दाइलाई देखेपछि अमिताभ बच्चनले त झुकेर खुट्टा छुन खोजे । प्रकाश दाइले रोक्नु भयो ।

प्रकाश दाइलाई अमिताभ बच्चनको त्योस्तरको सम्मान देखेर हामी सबै चकित पर्यौँ,’ शिवले सम्झना गरे । यति गरेपछि प्रकाश थापाले नै शिव श्रेष्ठलाई नयाँ फिल्मको हिरोको रुपमा चिनाए र फोटो खिच्न चाहेको बताए । फोटो खिच्ने भएपछि छेवैमा रहेका अभिषेक बच्चन पनि आए । यसरी एउटा ऐतिहासिक फोटो कैद भयो । फोटो खिच्नुअघि अमिताले शिव श्रेष्ठलाई भने ‘तो आप भि हिरो..अच्छा करना ।’ नर्भस शिव श्रेष्ठले टाउको मात्र हल्लाए ।

पछि मात्र शिव श्रेष्ठले चाल पाए अमिताभ बच्चनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’मा प्रकाश थापाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका रहेछन् । आफूभन्दा सिनियर भएकै नाताले अमिताभले त्यो स्तरको सम्मान गरेका रहेछन् जबकि त्यो बेला अमिताभ बच्चन भारतमै ‘जन्जिर’ र ‘दिवार’पछि सुपरस्टार भइसकेका थिए । 
 


Author

थप समाचार
x