सिनेमा

‘हनी बनी’बाट अलग भए अनमोल र सारा, जसिता लिएर सुटिङ गर्ने तयारीमा निर्माण टिम

इकागज |
बैशाख १८, २०७९ आइतबार १२:२० बजे

काठमाडौँ - फिल्म साइन गर्दै छाड्दै गर्ने क्रमलाई निरन्तरता दिँदै अनमोल केसीले दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘हनी बनी’ पनि छाडेका छन् । निर्देशक दिवाकर भट्टराईले अनमोल फिल्म नरहने खबर पुष्टि गरे । योसँगै फिल्मबाट मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएकी सारा सिरपाइली पनि फिल्ममा नरहने दिवाकर भट्टराई जानकारी गराए ।

‘ए मेरो हजुर ४’को प्रचार प्रचार चलिरहँदा अनमोल केसीले यो फिल्म साइन गरेका थिए । तर सुटिङको मुखमा आएर अनमोल यो फिल्मबाट अलग भएका हुन् । निर्देशक दिवाकर भट्टराईले सहमतिमै आफूहरू फरक बाटो लागेको जानकारी गराए ।


‘ फिल्मको चरित्र पोट्रे गर्ने कुरामा अनमोलले अलि असहज महसुस गरे । सोही कारणले हामीले उनलाई रिलिज गर्ने निर्णय गरेका हौँ’ दिवाकरले भने । दिवाकरका अनुसार अनमोल फिल्मको कार्यशालामा पनि केही दिन बसेका थिए । तर सुटिङ नजिकिँदै जाँदा उनले त्यो चरित्र निर्वाह गर्न सक्ने कुरामा शंका व्यक्त गर्न थालेपछि निर्माण टिम र अनमोलबीच फिल्म नगर्ने व्यवहारिक सहमति भएको हो । 

यता सारा सिरपाइलीको भने लन्डनको भिसा नआएपछि निर्माण टिम उनको साटो विकल्प खोज्न तयार भएको हो । दिवाकर भट्टराईले लन्डनमै रहेकी जसिता गुरुङसँग कुरा अगाडि बढिरहेको र सकारात्मक रहेको बताए । 

‘जसितासँगको कुरा सकारात्मक छ । सायद उनी नै फिल्मको फिमेल लिड हुनेछिन्,’ दिवाकरले इकागजसँग भने । दिवाकरले फिल्ममा अनमोललाई प्रतिस्थापन गर्ने कलाकार पनि लगभग फाइनल भएको र कागजी सम्झौतापछि सार्वजनिक गरिने बताए । दिवाकर आउँदो बिहीबार सुटिङको तयारीका लागि लन्डन प्रस्थान गर्दैछन् । 
अनमोलले यसअघि ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ आदि फिल्म पनि सम्झौता पछि पनि छाडेका थिए ।  


Author

थप समाचार
x