सिनेमा

'लक्का जवान'लाई भोलि कालजयी चलचित्र पनि भन्न मिल्छ

समीपराज दाहाल |
बैशाख २०, २०७९ मंगलबार १०:३२ बजे

हास्य कलाकार शिवहरी पौड्याल नेपाली दर्शकमाझ परिचित नाम हो । कलाकारको रुपमा झण्डै ६० वटा भन्दा बढी चलचित्रमा काम गरिसकेका लामो समयको अनुभवलाई पौड्यालले लेखक र निर्देशकको रुपमा पोख्दैछन् । उनकै लेखन र निर्देशनमा बनेको चलचित्र 'लक्का जवान' आउँदो शक्रबार रिलिज हुँदैछ । फिल्मको प्रचारका लागि देश दौडाहामा रहेका यिनै पौड्यालसँग इकागजका लागि समीपराज दाहालले कुराकानी गरेका थिए । लेखक- निर्देशकको अनुभव, फिल्मको विषय तथा प्रचारप्रसारमा केन्द्रित सोही कुराकानीको सम्पादित अंश :

चलचित्र 'लक्का जवान'मा के छ जुन दर्शकले छुटाउनुहुन्न भन्ने लाग्छ यहाँलाई ?  


चलचित्र 'लक्का जवान' कमेडी जनरामा बनेको चलचित्र हो। यसमा हामीले समाजमा देखिँदै आएका, हामी आफैँले पनि भोग्दै आएका घटनाहरु समेटेर त्यसलाई हास्य शैलीमा एउटा मनोरन्जनात्मक चलचित्र निर्माण गरेका छौँ। यसमा मीठा गीत पनि छन् । दर्शकहरुलाई पूर्ण मनोरन्जन दिनका लागि एउटा मनोरन्जनात्मक चलचित्रमा हुनुपर्ने सम्पूर्ण गुणहरु समावेश गर्ने प्रयास गरेका छौँ । म हलमा गएर मजा लिन्छु भन्ने सोच्नु भयो भने हाम्रो फिल्मले त्यतिचाहिँ ग्यारेन्टी गर्छ ।

फिल्मको नाम चाहिँ 'लक्काजवान' तर प्रोमोसनका लागि भने तपाईँहरु पुराना कलाकार दौडिरहनु भएको छ ।  नयाँ कलाकारलाई तपाईँहरुले नपत्याएको कि उनीहरुले तपाईँलाई नपत्याएको?

अब म आफू पनि थुप्रै समयदेखि यस क्षेत्रमा लागेको भएर पुराना कलाकारहरु सँग काम गर्न त अप्ठेरो हुने नै भएन ।अ नि अहिले नया पुस्ताका कलाकारहरु पनि कोही थिएटर गरेर आउनुभा’छ। कोही चैँ टेलिसिरियलबाट आउनुभा’छ । हामीले सबैको राम्रो साथ पाएका छौँ। यस चलचित्रमा विगत कयौँ वर्षदेखि नेपाली चलचित्रमा काम गरिरहनु भएका कलाकारहरुदेखि अहिलेका नयाँ पुस्ताका कलाकारहरु सबैजनालाई समेटेर एउटा राम्रो चलचित्र निकाल्ने प्रयास मेरो मात्र नभै हाम्रो सिङ्गो टिमको नै उद्देश्य त्यही भएका कारण मैले नयाँ र पुराना दुवै खाल्का कलाकारहरुबाट राम्रो साथ पाइरहेका छु । अब हिरोइनको कुरा गर्नुहुन्छ भने एक जनाले छोरी हुर्काइरहनु भएको छ अर्कोले यतिबेलै यसको चाँजोपाजो मिलाउनु भयो । सलोन बस्नेत, दीलिप रायमाझीले सकेजति गरिरहनु भएकै छ ।

कोरोनाकाल पछिको समयमा नेपाली चलचित्रहरुले दर्शक हलसम्म तान्न सकिरहेका छैनन् यस्तो बेलामा कत्तिको थ्रेट महसुस गर्नु भएको छ?

थ्रेट त अब छँदै छ। हामीले यो चलचित्र आजभन्दा २ वर्ष अगाडि नै बनाएको चलचित्र हो। तर अबको १०-२० वर्षपछि यो चलचित्र दर्शकहरुले हेर्नु भयो भने पनि, कहिँ कतै यसका घटनाहरु दर्शकहरु आफैँसँग पनि सम्बन्धित रहेका कुराहरु पाउनुहुन्छ। त्यसकारण यसलाई कालजयी चलचित्र पनि भन्न मिल्छ । अब अहिले दर्शकहरु नेपाली चलचित्र हेर्न हलसम्म नआइरहेको बेला हामीले दर्शकहरुसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै चलचित्रका बारे जानकार गराउँदै आएका छौँ। जोखिम त छँदै छ । किनभने, नेपाली फिल्म कहिले हलमा लाग्यो र कहिले उत्रियो भन्ने कुरा दर्शकहरुलाई थाहै हुँदैन । एकैचोटि हलमा लगेर पोस्टर टाँसिन्छ । त्यसकारण हामी अहिले दर्शकलाई हलसम्म तान्नका लागी विभिन्न ठाउँहरुमा गएर कार्यक्रमहरु आयोजना गरी दर्शकहरुलाई चलचित्रबारे प्रत्यक्ष रुपमा जानकारी दिँदै आएका छौँ ।

चलचित्र लक्काजवानमा तपाइँ लेखक र निर्देशकसँगै निर्माता र कलाकार पनि आँफै हुनुहुन्छ । यि सबै विधा एक्लैले सम्हाल्न कत्तिको गाह्रो हुँदो रहेछ?

धेरै गाह्रो। मेरो आफ्नो निर्देशनमा पहिलो चलचित्र नै यही हो। अनि सबैतिरको तनाव बेहोर्नुपर्दा प्रेसर चाहिँ एकदमै फिल हुन्छ । तर म आफू दायाँ-बायाँ फट्याक-फुटुक गर्न फुर्तिलो भएको भएर पनि, अनि मेरो पुरै टिमले नै ‘निर्देशकलाइ कुनै पनि कुराको तनाव दिनुहुन्न, हामीले आफैँले आएका समस्या समाधान गर्नुपर्छ’ भन्ने भावना भएका हाम्रा प्राविधिक साथीहरुले सहज वातावरण बनाइदिनु भएका कारण हामीले काम सजिलैसँग सम्पन्न गर्न सक्यौँ ।

कमेडी सिरियलमा काम गरिरहनु भएका तपाईँहरुले फिल्म पनि सोही खालका मात्र बनाउनु हुन्छ भन्ने आरोप छ, 'लक्का जवान' एजन एजन नै हो कि फरक छ ?

अब हाम्रो चलचित्रमा लगभग ४० जना भन्दा बढी कलाकारहरु चाहिँ टेलिफिल्म, थिएटर, वा ठूलोपर्दाबाट आउनुभएका र दर्शकहरुले रुचाइरहनु भएका कलाकारहरु हुनुहुन्छ । सिनेमामा विभिन्न ब्याकग्राउन्डबाट आउनुभएका कलाकारहरु भएतापनि हामीले सिनेमा बनाउँदा सिरियलको शैलीमा भन्दा पनि अभिनय,  प्राविधिकदेखि अन्य पक्षहरु सिनेमाकै शैलीमा निर्माण गर्ने प्रयास गरेका छौँ ।


Author

थप समाचार
x