सिनेमा

नेपाली मात्र होइन हिन्दी फिल्मको व्यापार पनि माया लाग्दो !

इकागज |
बैशाख २२, २०७९ बिहीबार १०:४८ बजे

काठमाडौँ - दक्षिण भारतीय फिल्मका कारण नेपाली फिल्म उद्योग नै संकटमा पर्न लागेको चिन्ता व्यापक छ । यसैले नेपाली निर्माताहरू कहिले डब फिल्म नेपालमा ल्याउन रोक लगाउनु पर्ने त कहिले विदेशी फिल्ममा कोटा लगाउनु पर्ने माग राख्दै विकास बोर्ड र सञ्चार मन्त्रालय धाउन थालेका छन् । 

नभन्दै दक्षिण भारतीय फिल्मे मध्यरातमा पनि हाउसफुल दर्शक पाउँदा नेपाली फिल्म भने शनिबार र बिदामा पनि हाउसफुल दर्शक नपाइ उत्रन थालेका छन् । महामारीपछि रिलिज भएका कुनै पनि फिल्मले लगानी उठाउन सकेका छैनन् , भलै निर्माताहरूले दोस्रो तेस्रो दिनमै करोड करोड कमाएका समाचार लेखाइरहेका छन् । 


महामारीपछि रिलिज भएको ‘म यस्तो गीत गाउँछु’ले पल शाह काण्डले फाइदा पुर्यायो । यो फिल्म तुलनात्मक रुपमा चलेकै मान्नुपर्छ र यही अवस्था ‘ए मेरो हजुर ४’ पनि रह्यो । ‘केजीएफ २’को आँधीका बीचमा पनि यो फिल्मले धेरथोर दर्शक हलमा ल्यायो ।

यी दुई बाहेकका अरु फिल्म भने आउनु न जानुमा कुनै अन्तर रहेन । ‘चिसो एस्ट्रे’देखि ‘मन्त्र’सम्मका फिल्मले पाउनुपर्ने जति पनि दर्शक पाएनन् । भोलिबाट प्रदर्शनमा आउन लागेका ‘षट्कोण’ र ‘लक्का जवान’ले पनि कुनै चमत्कार गर्लान्, कसैले पनि आस राखेका छैनन् । नेपाली फिल्मको भन्दा कम बिजोग देखिएको छैन बलिउडमा पनि । बलिउडमा पनि ‘सूर्यवंशी’ र ‘कश्मिर फाइल्स’ बाहेक कुनै पनि फिल्मले लगानी उठाउन सकेका छैनन् । 

त्यसो त बलिउडमा पनि ९५ प्रतिशत फिल्मले हल रिलिजबाट घाटा खाने आँकडा छ । तर दक्षिण भारतीय फिल्मले हिन्दी भाषी दर्शकबाट अर्बौँ रुपैयाँ लैजाँदा स्टार–सुपरस्टार भएका फिल्मले माया लाग्दो व्यापार गरेका छन् । ताजा उदाहरण ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ हुन् । टाइगर श्राफको डेब्यू फिल्मको सिक्वेलले प्रदर्शनको पहिलो हप्ता सकिन लाग्दा जम्मा २१ करोड कमाएको छ भने अजय देवगन र अमिताभ बच्चनको मुख्य भूमिका रहेको ‘रनवे ३४’ले बुधबारसम्म १९ करोड कमाइ गरेको छ । दुवैको लाइफटाइम कलेक्सन २५ देखि ३० करोडको हाराहारी रहने व्यापार विश्लेषकको अनुमान छ । 

जबकि ‘हिरोपन्ती २’ ८५ करोडमा बनेको हो भने ‘रनवे ३४’ले निर्माणमा ६५ करोड खर्च गरेको आँकडा छ । यति मात्र होइन निर्माणमा ठूलो बजेट खर्चिएका बलिउड फिल्मले पत्याउनै नसक्ने गरी कम व्यापार गरेका छन् । यसमा साहिद कपुर अभीनित ‘जर्सी’ पहिलो नम्बरमा आउँछ । निर्माणमा सय करोड खर्चिएको यो फिल्मले जम्मा १८ करोड व्यापार गरेको छ । यस्तै अवस्था अक्षयकुमार अभीनित ‘बच्चन पाण्डे’को पनि रह्यो ।

१ अर्ब ६५ करोड खर्चेर बनाइएको यो फिल्मले जम्मा ५० करोड कमाएको थियो । दक्षिण भारतीय फिल्मको रिमेक अधिकार किन्दै पैसा कमाउन पल्केका साजिद नाडियावालाले महामारीयता रिलिज भएका सबै फिल्ममा पैसा गुमाएका छन् । महामारीपछि साजिदको कम्पनी नाडियावाला ग्रान्डसनले निर्माण गरेका ‘तडप’, ‘बच्चन पाण्डे’, ‘हिरोपन्ती २’ तीनै फिल्मले बक्स अफिसमा घाटाको व्यापार गरेका छन् । 

आलियाको अभिनयको खुबै प्रशंसा भएको ‘गंगुबाई कठैयावाडी’ पनि गुमाउने कोटीमा परेको छ । १ सय ८० करोड खर्चेर निर्माण गरेको यो फिल्मले बक्स अफिसबाट भने जम्मा १ सय २६ करोड कमाइ गरेको थियो । भारतीय जनता पार्टीले प्रोपोगन्डाका लागि प्रयोग गरेको ‘काश्मिर फाइल्स’बाहेक पछिल्लो समय रिलिज भएका कुनै पनि हिन्दी फिल्मले बक्स अफिसमा पैसा कमाउन सकेका छैनन् तर उहीँ दक्षिण भारतीय फिल्मले हजार करोड कमाइ रहेका छन् ।

 हिन्दी फिल्म नचल्नुमा दक्षिण भारतीय फिल्म कारक हुन् कि हिन्दी फिल्म नै कमजोर हुन्, विज्ञले बताउलान् । तर बक्स अफिसमा लगातार घाटा खाइरहँदा हिन्दी र नेपाली दुवै उद्योगका निर्माताको सातो भने गएको छ । 


Author

थप समाचार
x