‘लुट’ पछि एउटा हिट फिल्मको खोजीमा सौगात
काठमाडौँ - सौगात मल्ललाई फिल्मको अफर लिएर जाने निर्मातालाई सौगातले फागुनसम्म नभ्याउने जवाफ दिने गरेका छन् । साइन गरेर काम गर्न नभ्याएका फिल्मको पनि सूची लामै छ । तर सौगातको व्यस्तता र बक्स अफिसको आँकडा मिलाउने हो भने चाहिँ निराशा हात लाग्छ ।
खासमा ११ वर्ष भयो, आफ्नै बलमा सौगातले हिट फिल्म नदिएको । आउँदो असारमा ‘लुट’ रिलिज भएको १ वर्ष पुग्दैछ र यो नै सौगातले दिएको पहिलो र अन्तिम हिट हो ।
‘कागबेनी’बाट फिचर फिल्ममा डेब्यू गरेका थिएटर पृष्ठभूमिका सौगात मल्लले ‘लुट’बाट सनसनी मच्चाएका थिए । अभिनय मात्र होइन यो फिल्मको व्यापारले पनि नेपाली सिनेमालाई दिशा दिएको थियो । तर त्यसयता सौगातले जति फिल्म खेले, कुनैले पनि निर्माता लगानी फिर्ता उठाउन मद्दत गरेनन् ।
बक्स अफिसकै आँकडा हेर्ने हो भने ‘कबड्डी कबड्डी २’ सौगातको कमाउने फिल्ममा पर्छ । तर दुनियाँलाई थाहा छ, यो शृंखला दयाहाङ राईको हो, सौगातको होइन । योबाहेक ‘लुट २’ सौगातको बक्स अफिसमा हिट फिल्म हो ।
त्यसयता भने सौगातका वर्षेनी चार पाँच फिल्म सार्वजनिक हुन्छन् । ती फिल्म सौगातलाई कतै स्टारको उपाधि दिइएको हुन्छ त कतै सुपरस्टार । तर निर्माताका लागि सुपरस्टार मानिएको सौगातका फिल्मको व्यापार भने दयनीय छ । यसको ताजा उदाहरण हुन् ‘लप्पन छप्पन २’ र ‘मन्त्र’ ।
महिना दुई महिनाको अन्तरमा निर्माण भएका दुवै फिल्मले सौगातले लिए बराबर पनि पैसा नउठाएको चर्चा छ । जबकि ‘लप्पन छप्पन २’ मा स्टारहरूको भिड नै थियो । ‘मन्त्र’लाई भने सौगात स्वंयले मन परेको फिल्मको सूचीमा राखेका थिए ।
अरु निर्मातालाई प्रचारमा आउँदै नआउने सर्त राखेर फिल्म गर्ने गरेका सौगात यो फिल्मका लागि भने ‘२ नम्बरी’ फिल्मको सुटिङ छाडेर प्रिमियरमा आएका थिए । तर यो फिल्मले पनि सौगातकाृ फ्लपको शृंखलामा संख्या थप्नेबाहेक अरु कुनै उपलब्धि हासिल गर्न सकेन ।
अहिलेसम्मको अवस्था हेर्दा ‘कबड्डी ४’ चल्न सक्छ । तर यसलाई कसैले पनि सौगातको फिल्म मान्ने छैनन् । सौगातलाई दोस्रो हिटको खोजी छ कि छैन, उनै जानुन् तर उनलाई लिने निर्माताहरू भने पक्कै सौगातको दोस्रो हिटको प्रतीक्षामा छन् । र सौगातलाई अनुबन्ध गरेर रिलिज हुने अघिल्लो दिनसम्म त्यो फिल्म आफ्नै हुने विश्वासमा निर्माता सौगातलाई मागे जति रकम दिएर खेलाउन तयार छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया