सिनेमा

जसिताले साइन गरिन् ‘हनी बनी’

इकागज |
बैशाख २४, २०७९ शनिबार १४:१४ बजे

काठमाडौँ  - अभिनेत्री जसिता गुरुङले ‘हनी बनी’साइन गरेकी छिन् । बिहीबार लन्डन उडेका फिल्म निर्देशक दिवाकर भट्टराईले लन्डन पुगे लगत्तै जसितालाई साइन गरेका हुन् । 

‘लिली बिली’बाट नेपाली फिल्ममा डेब्यू गरेकी जसिता धिरज मगरसँग अभिनय गरेको ‘आइ एम ट्वान्टी वान’ फिल्मको रिलिजको पर्खाइमा छिन् । त्यसअद्धि उनले प्रदीप खड्कासँग ‘लभ स्टेसन’मा अभिनय गरेकी थिइन् । 


‘आइ एम ट्वान्टी वान’को सुटिङ सकाएर लन्डन फर्किएकी जसिता चरित्र सुहाउँदो भएकोले लिएको निर्देशक दिवाकर भट्टराईले बताए । ‘रोमान्टिक विधाको सिनेमामा जसिता सुहाउने देखेर नै नेपाल छँदै कुरा भएको थियो । कथा र चरित्र मन परेपछि शनिबार उनी फिल्ममा आबद्ध भएकी छिन्,’ दिवाकरले लन्डनबाट इकागजसँग कुरा गर्दै भने । 

यो फिल्मका लागि सारा सिरपाइली फाइनल थिइन् । तर लन्डन ओभर स्टेको कारण देखाउँदै बेलायती दूतावासले उनको भिसा निवेदन स्वीकृत नगरेपछि निर्माण टिम विकल्प खोज्न बाध्य भएको थियो । यही क्रममा निर्माण टिमले लन्डनमा बसिरहेकी जसितालाई फिल्मको हिस्सा बन्न अनुरोध गरेको थियो ।

निर्माण टिमले अभिनेताको भने अझै पनि टुंगो लगाउन सकेको छैन । लन्डन उड्ने समयमा अभिनेता अनमोल केसीले फिल्म छाडेपछि निर्माण टिम अभिनेताको विकल्प खोजिरहेको छ । दिवाकर भट्टराईले अभिनेतासँग पनि चाँडै सम्झौता हुने जानकारी गराएका छन् । 


Author

थप समाचार
x