चुपचाप आफ्नै लयमा शिखर चढ्दै सृष्टि
काठमाडौँ - सृष्टि श्रेष्ठलाई पहिलो फिल्म ‘गाजलु’मा देख्दा धेरैको टिप्पणी थियो, ‘सृष्टिले काम त राम्रै गर्नेरैछिन् तर लामो समय जान गाह्रो छ ।’ यस्तो टिप्पणी गर्नेहरूले यसको कारण माग्दा भन्थे, ‘मिस नेपाल हिरोइनको रुपमा को लामो समय टिकेको छ र ?’
टिप्पणीकारको अनुमान गलत थिएन । मिस नेपालहरू समाजसेवा गर्छु भन्दै फिल्ममा आए पनि कसैले पनि लामो पारी खेल्न सकेका थिएनन् । पहिलो मिस नेपाल रुबि राणादेखि पछिल्लो समयकी निकिता चण्डकसम्मको पनि फिल्म यात्रा आरामदायी थिएन । झरना बज्राचार्यले यो मान्यतालाई चुनौती दिन खोजेकी थिइन् तर व्यक्तिगत झमेलामा फसेपछि उनले पनि मलेसियनसँग विवाह गरेर यो सम्भावनाको अन्त्य गरिदिइन् ।
पूर्व मिस नेपाललाई लिएर यस्तै उदाहरण बनिरहेको समयमा सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठले सन् २०१६मा ‘गाजलु’बाट डेब्यू गरिन् । अनमोल केसी चलेको समय थियो । फिल्म पनि चल्यो । तर सृष्टिमा हिरोइन मटेरियल देख्ने निर्माता कमै थिए । तर ६ वर्षमा सृष्टिले आफूलाई हिरोइन मटेरियल मात्र होइन भर्सटाइल अभिनेत्रीको रुपमा पनि प्रमाणित गरेकी छिन् । सृष्टि ‘पोई पर्यो काले’ र ‘बाँध मायाले’ जस्ता फिल्ममा हिरोसँग ताल तलैयामा नाच्न पनि सक्छिन् र ‘रोमियो एन्ड मुना’ र ‘चिसो एस्ट्रे’ जस्ता गम्भीर फिल्ममा पनि उत्तिकै डुबेर काम गर्न सक्छिन् ।
समकालीन अभिनेत्री युट्युबरको भिड जम्मा गरेर दिनदिनै एउटै कुरा फलाकिरहँदा सृष्टि भने सकभर मिडियासँग समदूरीमा रहन चाहान्छिन् । त्यसैले उनलाई न त युट्युबरका च्यानलमा दिनदिनै देखिन्छ न धमलाको हमलामा न वा यस्तै उट्पट्याङ प्रस्तोताको कार्यक्रममा । योभन्दा पनि कामको छनोटले सृष्टिले आफूलाई बाँकी अभिनेत्रीभन्दा फरक देखाउँदै आएकी छिन् ।
यसको ताजा उदाहरण हो ‘पल्पसा क्याफे’ । आज मात्र मञ्चन सकिन लागेको नाटकमा सृष्टिले उपन्यासकी शीर्ष पात्र पल्पसाको अभिनय गरेकी छिन् र नाटक हेर्ने सबैबाट पल्पसाको पात्रलाई जीवन्त बनाएकोमा प्रत्यक्ष अप्रत्यक्ष तारिफ खाइरहेकी छिन् । तारिफ खाने शृंखलामा सृष्टिका केही फिल्म पनि रहने विश्वास गर्न सकिन्छ । किनकि भदौमा सृष्टिलाई ‘दि सेक्रेट्स अफ राधा’मा देखिँदैछ भने उनले ‘रेट सुटकेस’मा पनि छोटो तर महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छिन् । यसैगरि उनलाई ‘माइकल अधिकारी’ जस्तो चटपटे फिल्ममा पनि देख्न सकिन्छ ।
त्यसो त सृष्टिलाई सौगात मल्लसँगको अफेयरले करिअरमा अगाडि बढ्न मद्दत गरेको भन्ने टिप्पणी व्यापक छ । यसमा सत्यता पनि होला तर जे जसरी भए पनि सृष्टिले उद्योगमा मज्जाले आफ्नो स्पेस बनाइरहेकी छिन्, त्यसमा उनको समर्पणको हात रहेको कुरा इन्कार गर्न भने सकिन्न ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया