सिनेमा

कंगनाको ज्ञानको पराकाष्ठा : वेदबाट लिइएको हो ‘एभेन्जर्स’, हनुमान र कर्णका नक्कल हुन् ‘थोर’ र  ‘आइरनमेन’

इकागज |
बैशाख २९, २०७९ बिहीबार १६:३० बजे

मुम्बई - बलिउड अभिनेत्री कंगना रनावतले हलिउड फिल्महरू प्राचिन धर्मशास्त्रबाट लिइएको दाबी गरेकी छिन् । आफ्नो फिल्म ‘धाकड’को प्रचारमा व्यस्त रहेकी कंगनाले इटाइम्सलाई दिएको अन्तर्वार्तामा हलिउडका सुपरहिरो फिल्म हिन्दू धर्मशास्त्रबाट प्रेरित रहेको बताएकी हुन् ।

अन्तर्वार्तामा उनलाई  ‘तपाईँ कुन सुपरहिरोको भूमिका गर्न चाहानुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले हलिउड सुपरहिरो र पौराणिक हिरोमा थुप्रै समानता भेट्न सकिने बताएकी थिइन् । 


‘म जब उनीहरूका सुपरहिरो फिल्म हेर्छु, हाम्रोबाट प्रेरित पाउँछु । जस्तो कि आइरनमेनको कवच जुन छ त्यो कर्णबाट प्रेरित देखिन्छ । कर्णले पनि सुरक्षाका लागि त्यस्तै कवच धारण गर्ने गरेको हामीले पढेका छौँ,’ उनले भनेकी छिन्, ‘थोर र उसको हथौडालाई हनुमानको गदासँग तुलना गर्न सकिन्छ ।’

उनले ‘एभेन्जर्स’लाई महाभारतबाट प्रेरित रहेको बताएकी थिइन् । ‘देखाउन तरिका फरक छ तर हलिउडले यी सबै कुरा हाम्रो वेदबाट लिएको हो ।’ कंगनाले आफूले सुपरहिरोको भूमिका गर्न चाहे यिनै चरित्रमध्येबाट कुनै गर्नसक्ने बताएकी थिइन् । पहिलोपल्ट एक्सन भूमिकामा देखिन लागेकी ‘धाकड’ आउँदो शुक्रबार रिलिज हुँदैछ ।  


Author

थप समाचार
x